News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले १२ वैशाखबाट काठमाडौंका सुकुमवासी बस्तीमा बनेका संरचनाहरू हटाउन थालिएको छ।
- थापाथलीस्थित बागमती नदी किनारमा संरचना भत्काउने क्रममा खानेपानीको पाइप फुटेपछि बालाजु, माइतीघर र एकान्तकुरामा पानी आपूर्ति अवरूद्ध भएको छ।
- नेपाल प्रहरी, नगर प्रहरी र सशस्त्र प्रहरीको टोलीले सुकुमवासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिरहेको छ।
१२ वैशाख, काठमाडौं । सरकारले आज (शनिबार) बाट काठमाडौंका सुकुमवासी बस्तीमा बनेका संरचनाहरू हटाउन थालेको छ ।
बिहानैबाट थापाथलीस्थित बागमती नदी किनारमा बनेका संरचनाहरू भत्काउन थालिएको हो । बस्तीका स्थानीयलाई सरकारले सुरक्षित स्थानमा स्थानान्तरण गर्न लागिएको बताएको छ । विशेषगरी शान्तिनगर, गैह्रीगाउँ, मनोहरा लगायतका क्षेत्रमा बसेका सुकुमवासीलाई आज र भोलि हटाउनेगरी सरकार लागिरहेको छ ।
यसैबीच थापाथलीस्थित बागमती नदी किनारमा रहेका सुकुमवासी बस्तीमा संरचना भत्काउने क्रममा खानेपानीको पाइप फुट्यो ।
सुकुमवासी बस्तीमा फुटेको खानेपानी पाइप मर्मतका लागि खानेपानी आपूर्ति बन्द गर्नुपर्ने भएका कारण बालाजु, माइतीघर र एकान्तकुरा क्षेत्रमा खोनेपानी आपूर्ति अवरूद्ध हुने भएको हो ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईले फुटेको खानेपानी पाइप मर्मतका लागि तीन ठाउँमा बालाजु, माइतीघर र एकान्तकुरामा ‘भल्भ’ बन्द गर्न लागिएको जानकारी दिए ।
नेपाल प्रहरी, नगर प्रहरी र सशस्त्र प्रहरीको टोली स्थानन्तरणमा खटिएको छ ।
एकाएक सरकारले बस्ती हटाउने भएपछि सुरुवातमा आक्रोशित देखिएका सुकुमवासीहरू शुक्रबारबाट आफैं बस्ती खाली गर्न थालेका थिए ।
शनिबार बिहानसम्म थापाथलीका अधिकांश सुकुमवासी सरिसकेका थिए । प्रहरी र नगर प्रहरी दुवै उनीहरूलाई स्थानान्तरण गराउन लागेको थियो ।
बिहानबाट थापाथलीमा डोजर चलेको छ । गैह्रीगाउँ र मनोहरामा पनि धमाधम बस्ती खाली गराइँदैछ ।










प्रतिक्रिया 4