२० मंसीर, काठमाडौं । विशेष अदालतले नेपाल वायुसेवा निगमको दुई वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै तत्कालिन अध्यक्ष सहित चार जनालाई दोषी ठहर गरेको छ ।
विहीबार अवेर फैसलाको संक्षिप्त आदेश सार्वजनिक गर्दै विशेष अदालतले तत्कालीन अध्यक्ष शंकरप्रसाद अधिकारी, निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार, सञ्चालक समितिका सदस्यहरू बुद्धिसागर लामिछाने र शिशिरकुमार ढुंगानालाई दोषी ठहर गरेको हो ।
विशेष अदालतले तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही सहित अरु सबै आरोपित नेपाली नागरिकलाई सफाइ दिएको छ । विमान खरिद प्रक्रियामा संलग्न एस्क्रो कम्पनी र तिनका प्रतिनिधि बाहेक विदेशी आरोपितहरू भने दोषी ठहर भएका छन् ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर सहित सदस्यहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले एक अर्ब ४७ करोड रुपैंया नै भ्रष्टाचार भएको ठहर गरेको छ । अख्तियारले आरोपपत्रमा दावी गरेकै अंक भ्रष्टाचार भएको ठहर भएको यो दुर्लभ घटना हो । विशेष अदालतले कसुरदारहरूबाट दामासाहीले बिगो असुल्ने फैसला गरेको छ ।
विशेष अदालतले निगमका महाप्रवन्धक कंसाकारलाई २ वर्ष ६ महिना कैद सजाय सुनाएको छ ।
विशिष्ट पदमा रहेकाले उनलाई थप ३ महिना कैद हुनेछ । तर जेष्ठ नागरिक भएकाले शुरुमा तोकिएको कैदमध्ये आधा मिनाहा हुनेछ । विशेष अदालतले आरोपितहरूलाई १२ करोड २४ लाख रुपैंयाका दरले जरिवाना सुनाएको छ ।
विशेषले तत्कालिन पर्यटन सचिव शंकर अधिकारीलाई एक वर्ष छ महिना अनि थप तीन महिना गरी एक वर्ष ९ महिना कैद सजाय तोकेको छ । सहसचिवहरू शिशिर ढुंगाना र बुद्धिसागर लामिछानेलाई डेढ÷डेढ वर्षका दरले कैद सजाय हुने भएको छ । तत्कालिन सहसचिव ढुंगाना पछि सचिव भएर अवकाश पाएका थिए । लामिछाने भने भ्रष्टाचारको आरोप लाग्नुअघिसम्म पर्यटन मन्त्रालयमै कार्यरत थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको भनी तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीसहित ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले २४ जना नेपाली नागरिक र ८ जना विदेशीलाई प्रतिवादी बनाएको थियो ।
विशेष अदालतले बेलायती नागरिक दीपक शर्मालाई दोषी ठहर गरेको छ । उनी अमेरिकाको एएआर कर्पोरेसनका अध्यक्ष हुन् । नेपाल वायुसेवा निगमका लागि वाइडबडी विमान आपूर्ति गर्न छनोट भएको उक्त कम्पनीले पछि अरू दुईवटा कम्पनी जोडेर खरिद सम्झौता गरेको थियो ।
दोषी ठहर भएका जर्मन नागरिक क्रिश्चियन न्ह्युलेन वाइडबडी विमान बिक्री प्रक्रियामा जोडिएका तीनवटा कम्पनीसँग आबद्ध छन् । रोमानियाका नागरिक ओलेग कालिस्त्रुलाई विशेष अदालतले कसुरदार ठहर्याएको छ ।
यो समूहले आयरल्याण्डमा हाइफ्लाई एक्स नामक डलर पूँजीको कम्पनी स्थापना गरेको थियो । उक्त कम्पनी जहाज बिक्रीकै लागि खडा गरिएको भेटिएको छ ।
१० फागुन २०७३ मा स्थापित उक्त कम्पनीले एयरबस कम्पनीबाट दुईवटा वाइडवडी विमान खरिद गरी २४ अर्ब रुपैयाँमा नेपाल वायुसेवा निगमलाई बेचेको थियो ।
अख्तियारले उनीहरूमाथि नेपाल वायुसेवा निगमलाई नोक्सान हुने गरी वाइडबडी विमान खरिद सम्झौता गरेको र त्यसबापत भुक्तानी लिएर भ्रष्टाचारको मतियार बनेको आरोप लगाएको थियो ।
विशेष अदालतले एस्क्रो अकाउन्ट सञ्चालन गर्ने कम्पनी र तिनका प्रतिनिधि बाहेक विमान खरिदमा जोडिएका सबै कम्पनी र तिनका सञ्चालक एवं प्रतिनिधिलाई दोषी ठहर गरेको छ ।
निगमसँग सुरूमा ठेक्का सम्झौता गरेको अमेरिकाको एएआर इन्टरनेसन र त्यसका अध्यक्ष एवं सीईओ जोन होल्मेस थियो । त्यसैगरी जर्मनीको जर्मन एभिएसन क्यापिटल र उक्त कम्पनीका प्रबन्ध निर्देशक आना टोपा, पोर्चुगलको हाइफ्लाई ट्रान्सपोर्ट एरोज र उक्त कम्पनीका अध्यक्ष पाउलो मिरपुरीविरुद्ध पनि दोषी ठहर भए ।
आयरल्याण्डको हाइफ्लाई एक्स, उक्त कम्पनीका निर्देशकहरू गेराल्ड थ्रोन्टन र क्रिश्चियन न्ह्युलेन पनि कसुरदार ठहर भएका छन् ।
वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ चैत, २०८० मा विशेष अदालतमा ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
विस्तृतमा पढ्नुहोस्–
नाम | पद | फैसला | सजाय |
जीवनबहादुर शाही | पर्यटनमन्त्री | सफाइ | |
सुगतरत्न कंसाकार | महाप्रबन्धक, नेवानि | कसुरदार | २ वर्ष ६ महिना कैद (आधा मिनाहा) |
शंकरप्रसाद अधिकारी | अध्यक्ष, नेवानि सञ्चालक समिति | कसुरदार | १ वर्ष ९ महिना कैद |
शिशिरकुमार ढुंगाना | सदस्य, नेवानि सञ्चालक समिति | कसुरदार | १ वर्ष ६ महिना कैद |
बुद्धिसागर लामिछाने | सदस्य, नेवानि सञ्चालक समिति | कसुरदार | १ वर्ष ६ महिना कैद |
टेकनाथ आचार्य | सदस्य, नेवानि सञ्चालक समिति | सफाइ | |
निमानुरु शेर्पा | सदस्य, नेवानि सञ्चालक समिति | सफाइ | |
मुक्तिराम पाण्डे | सदस्य, नेवानि सञ्चालक समिति | सफाइ | |
अच्युतराज पहाडी | सदस्य, नेवानि सञ्चालक समिति | सफाइ | |
जीवनप्रकाश सिटौला | सदस्य, नेवानि सञ्चालक समिति | सफाइ | |
रमेशबहादुर शाह | नायब महाप्रबन्धक, नेवानि | सफाइ | |
गणेशबहादुर चन्द | नायब महाप्रबन्धक, नेवानि | सफाइ | |
कर्णबहादुर थापा | निर्देशक, नेवानि | सफाइ | |
सुवास रिजाल | वरिष्ठ क्याप्टेन | सफाइ | |
प्रभाशकुमार कर्माचार्य | निर्देशक, नेवानि | सफाइ | |
जनकराज कालाखेती | नायव महाप्रबन्धक, नेवानि | सफाइ | |
रामहरी शर्मा सेढाँई | निर्देशक, नेवानि | सफाइ | |
रविन्द्र कुमार शेरचन | बरिष्ठ क्याप्टेन | सफाइ | |
रविन्द्र श्रेष्ठ | कामू निर्देशक, नेवानि | सफाइ | |
उपेन्द्र पौडेल | कामू निर्देशक नेवानि | सफाइ | |
श्रवण रिजाल | बरिष्ठ क्याप्टेन | सफाइ | |
पारस पौडेल | उपनिर्देशक, नेवानि | सफाइ | |
उमेश पौडेल | निर्देशक, नेवानि | सफाइ | |
बृहतमान तुलाधर | उपनिर्देशक, नेवानि | सफाइ | |
दिपक शर्मा | एएआर कम्पनीको अध्यक्ष | कसुरदार | १ वर्ष ६ महिना कैद |
ओलिग क्यालिस्त्रु | जर्मन एभिएसन क्यापिटल, वित्त निर्देशक | कसुरदार | १ वर्ष ६ महिना कैद |
जोन होल्मेस | एएआर कम्पनीको सीइओ | कसुरदार | १ वर्ष ६ महिना कैद |
अना टोपा | जर्मन एभिएसन क्यापिटलको प्रवन्ध निर्देशक | कसुरदार | १ वर्ष ६ महिना कैद |
पाउलो मोरपुरी | हाई फ्लाई एक्सको मुख्य व्यक्ति | कसुरदार | १ वर्ष ६ महिना कैद |
गेराल्ड थ्रोन्टन र क्रिश्चियन न्ह्युलेन | हाई फ्लाई एक्सका प्रतिनिधिहरू | कसुरदार | १ वर्ष ६ महिना कैद |
मार्कुस रेडब्रुच र राफ स्प्रिङगर | नर्टन रोज फुलब्राइटका प्रतिनिधिहरू | सफाइ |
हेर्नुहोस् फैसलाको पूर्णपाठः
प्रतिक्रिया 4