+
+

नेकपाका नेताहरु एउटै ‘ड्रेसकोड’मा, सिलाइ आफ्नै गार्मेन्टको

कपिलवस्तुको शिवगढीमा जारी केन्द्रीय समिति बैठकमा सहभागी नेकपाका नेताहरु कालो रंगको कोट, पाइन्ट र सेतो सर्टमा देखिए । ती पोशाक पार्टीबाट सञ्चालित गार्मेन्टका उत्पादन हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २ गते ६:३०
कपिलवस्तुको शिवगढीस्थित केन्द्रीय कार्यालय अगाडि नेकपाका महिला नेताहरु ।

२ पुस, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेताहरु आफैंले उत्पादन गरेको एकै खालको पोशाक लगाएर केन्द्रीय समिति बैठकमा सहभागी भएका छन् ।

मंसिर २७ गतेदेखि कपिलवस्तुको शिवगढीमा जारी केन्द्रीय समिति बैठकमा सहभागी सबै नेताहरु कालो रंगको कोट, पाइन्ट र सेतो सर्टमा सहभागी भएका हुन् ।

केन्द्रीय समिति सदस्य शरद ओलीका अनुसार ती पोशाक शिवगढीमा पार्टीले नै सञ्चालन गर्दै आएको गार्मेन्टका उत्पादन हुन् । ‘शिवराज नगरपालिकाको शिवगढीमा हाम्रो केन्द्रीय कार्यालय छ । केन्द्रीय कार्यालय मातहत जनकम्युन छ, त्यो जनकम्युनले गार्मेन्ट पनि सञ्चालन गर्दै आएको छ,’ ओलीले अनलाइनखबरसँग भने, ‘केन्द्रीय समिति बैठकमा सहभागी सबैले लगाएको ड्रेस त्यही गार्मेन्टमा सिलाइएको हो ।’

हेर्दा राम्रो पनि देखिने र सामूहिक रुपमा सिलाउँदा सस्तो पनि हुने भएकाले एउटै ड्रेसकोड बनाइएको उनले बताए ।

उनका अनुसार नेकपाका नेताहरु यसरी एउटै ड्रेसकोडमा बैठकमा सहभागी भएको यो पहिलोपटक हो । अबदेखि बैठक र अरु कुनै औपचारिक कार्यक्रममा पार्टीका नेताहरु यही ड्रेसकोडमा देखिने उनले बताए ।

नेकपाका अर्का एक नेताका अनुसार गार्मेन्ट सन्चालनको जिम्मा संगम सीलाई दिइएको छ । उनी मातहत करिब एक दर्जन जनशक्ति कार्यरत छन् । गार्मेन्टमा कपडाहरु बाहिरबाट ल्याउने र विभिन्न पोशाक सिलाएर बजारमा बेच्ने गरिन्छ ।

उक्त गार्मेन्टमा सर्ट, पाइन्ट, कोट, ज्याकेट, ट्राउजर, ट्र्याक सुट, स्कुल युनिफर्म लगायतका पोशाक सिलाइन्छ । उनीहरुले त्यस्ता पोशाक बेचेर भएको नाफा पार्टीमा बुझाउने नियम बनाइएको छ ।

नेकपाले पार्टीका केन्द्रीय प्रतिनिधि समिति र केन्द्रीय समितिका हरेक सदस्यहरु अनिवार्य उत्पादनमा जोडिनुपर्ने र आयआर्जन गरेर आत्मनिर्भर हुनुपर्ने नियम बनाएको छ ।

यही नियमअनुसार विभिन्न जिल्लामा सिजनअनुसारका कृषि उत्पादन पनि नेकपाले गर्दै आएको छ ।

मोरङ, चितवन, रुपन्देही, कपिलवस्तु, दाङ, बर्दिया लगायतका तराईका जिल्लाहरुमा पशुपालन, सिजनअनुसारका अन्न र नगदेबाली खेती गरिएको छ । जुम्ला र मुगुमा भने स्याउ खेती गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?