+
+

जोन राई : लाहुरेको शहरबाट पिरतीको गीत गाउँदै

शिव मुखिया शिव मुखिया
२०८१ पुष १० गते ७:४५

‘हावा जस्तै मलाई उड्न मन छ…’ स्पटलाइटमा उभिएका उनी दर्शकतर्फ माइक फर्काउँछन् ।

‘अल्झाइ नराख ।’ किशोरवयका हजारौं दर्शक एकसाथ भाकामा भाका हाल्छन् ।

‘तिमीलाई पनि म बिर्सिदिन्छु…’ ऊ पूर्ववत् लय समात्छ ।

‘मुटु नदुखाइ राख ।’ दर्शकहरू उसैगरी एकबद्ध स्वर मिलाउँछन् ।

मञ्चको मध्यरेखामा उभिएका यी गायक गीत मात्र घन्काइरहेका छैनन्, बरु समान छिमलका दर्शकसँग माधुर्य अन्तरक्रिया गरिरहेका छन् । आफ्ना जीवन भोगाइ, अनुभूति र आकांक्षाहरू साटफेर गरिरहेका छन् । त्यसैले त त्यो सौम्य धुनभित्र किशोर पुस्ताका दर्शकले आफ्ना अव्यक्त भावना महसुस गरिरहेका छन् । उनीहरुलाई लागिरहेछ, ‘यो मेरो हृदयको झंकार हो, यो मेरो गीत हो ।’

रहर, लक्ष्य र जैविक परिवर्तनको सँघारमा रहने यो पुस्तालाई सहर्ष सम्बोधन गरिरहेका छन्– जोन चाम्लिङ राई ।

कुनै चर्को हल्लीखल्ली नगरी कसरी यी युवा देश-दुनियाँ चहार्दैछन् ? कसरी मञ्चहरुमा अविच्छिन्न तरंग ल्याउँदैछन् ? कसरी जेन जी पुस्ताको मनमा साम्राज्य फैलाउँदैछ ?

किनभने उनीसँग चहकिला गीतहरुको चाङ छैन । प्रचार व्यवस्थापनको जुक्ति र शक्ति लगाउने व्याकअप छैन । बरु आफ्नै आवाजको आलोकमा उभिएर, आफ्नै दौंतरीहरुको मनपेट पाएर, आफ्नै ढंगको कथा-कहानी बनाएर क्रमैसँग उनी सांगीतिक वृत्तमा धमाका मच्चाउँदैछन् ।

जोन, जसको पार्श्व ध्वनिमा ‘द लोकल्स’ छ । यसैलाई कुल मिलाएर ‘जोन एन्ड द लोकल्स’ भएको छ । उमेरले आलोकाँचो यही समूह, जसले जोनलाई प्रकाश-पुञ्जमा उभ्याएर पृष्टभूमिमा युवामनको धुन गुञ्जाउँदैछ ।

जोन एन्ड द लोकल्स अहिले कहाँ छैन ? शहरका डबलीहरुमा, कलेजका प्राङ्गणहरुमा, प्रवासीका मञ्चहरुमा । म्युजिकल टुरको यस्तो अविच्छिन्न तालिका हेर्दा लाग्छ, यिनीहरुलाई फुर्सदले सुस्ताउने पालो छैन । एकोहोरो आउने ‘वान्स मोर’को आग्रहले पसिना सुक्न दिएको छैन ।

जोन भनिरहेका छन्, ‘म शक्ड छु । मलाई विश्वास गर्न पनि गाह्रो भइरहेको छ कि मैले लेखेको गीत यति धेरैले गाइरहनुभएको छ, सुनिरहनुभएको छ । रमाइलो लागिरहेको छ, सबै कुरा ।’

यो एक नियमित आकस्मिकता थियो, जोनका लागि । डेनमार्कबाट कर्पोरेट फाइनान्समा स्नातक गरिरहँदा पनि उनी ‘संगीतमा केही गर्न सकिएला कि’ भनी घोत्लिरहेका हुन्थे । गीत लेख्थे, धुन भर्थे । यो उपक्रम चलिरहन्थ्यो । र उसैगरी उनको मनमा विस्मयको आँधी चलिरहन्थ्यो, ‘कतै मेरा रहरहरु यतिकै छुटेर जाने त होइन ?’

तर, एक रात उनले आफ्नो मेलो समाते ।

गृहनगर धरानमा साथीभाइसँगको जमघट थियो । लहलहैमा उनले गीत गाए, आफैंले लेखेको र धुन भरेको । साथीले मोबाइलमा उनको भिडियो खिचिदिए । कुनै काँटछाँट नगरेको र चिल्लोचाप्लो नबनाएको ‘रफ’ भिडियो जोनले जस्ताको तस्तै युट्युबमा अपलोड गरे ।

सामाजिक सञ्जालमा यो भिडियो अनपेक्षित फैलन थाल्यो । सायद यसमा अभिव्यक्त भावनाहरु जेन जी पुस्तालाई ‘आफ्नै’ लाग्यो । किनभने सोही पुस्ताको प्रतिनिधित्व गर्ने जोनले मनको भाषामा मनको धुन भरेर मनकै गीत गाएका थिए, ‘बटुल्न खोज्दैछु झरेका सपनालाई.. ।’

रहरको उडान भरिरहेको र भविष्यको डरले थिचिरहेको दोधारे उमेर हो, किशोरवय । भविष्य बनाउन खोज्दा रहर छुट्ने भय । रहर सँगाल्दा भविष्य बिग्रने भय । यही भयभीत मनोदशालाई जोनले गाइदिए ।

‘के सोचेको थिएँ, सपना पूरा हुन्छ कि हुँदैन । माया गर्नेले माया गर्छु त भन्छ, तर साँचो माया हो वा होइन । धेरै कुरा भएको छ व्यक्तिगत, पारिवारिक जीवनमा । मनका कति कुरा गाँठो परेको छ’ जमघटमा साथीभाइसँग गीतको भूमिका बाँध्दै जोन भन्छन्, ‘तर, जस्तोसुकै अवस्थामा माया गर्नेले आँट दिनुपर्छ । चाहेको कुरा पूरा गर्न सकिन्छ ।’

जोनको एउटा युट्युब च्यानल छ, जोन चाम्लिङ टिभी । यसमा उनले थुप्रै खेस्रा भिडियो राखेका छन् । कति कभर गीत पनि । सुरुवाती भिडियोहरु त्यति चलेका छैनन् । ‘प्रश्न’ शीर्षकको अर्को गीतले भने राम्रो भ्युज पाएको छ । त्यसपछि ‘साधना ’शीर्षकको गीतले । लाखौं पटक सुनिएको सो खेस्रा गीत यस्तो छ, ‘त्यतिकै छाड न केसलाई, उडाउन देउ हावालाई ।’

जोनका अनुसार यही गीत हो, जसबाट उनको ‘नोटिस’ हुन थाल्यो । आफ्नै मनको गीत कसले गाइरहेका छन् ? जेन जी पुस्ताले खोज्न थाले । तर, जोन राईको नाममा त्यति धेरै गीत थिएन जसले उनीहरुको धीत मार्न सकोस् ।

एकदिन जोनलाई सहपाठीले धरानकै एक स्कुलमा गीत गाउन निम्तो गरे । जोनले आनाकानी गरे, ‘होइन म आउँदिन । मलाई कसैले चिन्दैन पनि ।’ तर साथीको ढिपी टार्न सकेनन् र उनी स्कुल गए । जोनले गीत सुरु गरे, ‘तिमीलाई पनि म बिर्सिदिन्छु..।’

दोस्रो हरफ उपस्थित बालबालिकाले गाइदिए, ‘मुटु नदुखाइराख ।’

जोन चकित भए, यति साना बालबालिकालाई कसरी आफ्नो गीत कण्ठ भयो ? कसरी सारमा सार मिलाउन सके ? कसरी भाकामा भाका हाल्न सके ?

यतिबेलासम्म सामाजिक सञ्जालमा जोनका गीतहरु ‘बुस्ट’ भइसकेका थिए । हितैषीहरुले जोनको गीतलाई टिकटक लगायतमा धमाधम पोस्ट गर्न थालेका थिए । उनीहरुकै जोडबलमा थाहै नपाई जोन ‘हिरो’ भइसकेका थिए । जबकि उनले सुरुमा अपलोड गरेको गीतले युट्युबमा दुई हजार मात्र भ्युज पाएको थियो, दुई महिनासम्म । जोन हतास थिए, ‘कतै मेरा गीतहरु नचल्ने त होइनन् ?’

यदि गीत रुचाइएनन् भने उनको जीवनको धुन नै बिग्रन सक्थ्यो । यो गीत राख्ने कि नराख्ने ? उनलाई दोमन थियो । गीत तयार भएर पनि अपलोड गर्ने जाँगर थिएन । दोधार–दोधारमै उनले गीत राखे । महिना दिन बित्यो, चलेन । अर्को महिना बित्यो, चलेन ।

चार पाँच महिनापछि यो गीत यसरी चल्यो, मानौं लामो सन्नटापछि तूफान आएको होस् । साधना शीर्षकमा राखेको ‘त्यतिकै छाड न केसलाई’ गीत उनले टेबलमा मोबाइल राखेर एउटा कोठाभित्र रेकर्ड गराएका थिए ।

कुनै प्रचार नगरी, स्टुडियोमा रेकर्ड नगरी, अफिसियल गीत सार्वजनिक नगरी मोबाइलले भिडियो खिचेकै भरमा जोनका गीतहरुले पारखीलाई सम्मोहित बनाउन थालेको थियो । त्यही कारण उनले कन्सर्टका लागि निम्तो पाउन थालेका थिए ।

तर, कन्सर्टमा कसरी जाने ? पारिश्रमिक कसरी तय गर्ने ? उनलाई कुनै ज्ञान थिएन । संगीत गुरु विकास चाम्लिङले स्थानीय बारहरुमा गाउनका लागि मेलोमेसो मिलाइदिएका थिए र उनी त्यसमै मग्न थिए । एकदिन चिनेजानेकै दाइहरुले उनलाई कन्सर्टका लागि बोलाए ।

त्यसै सन्दर्भमा आफ्नो गल्ती स्वीकार्दै जोनले भनेका छन्, ‘मलाई कन्सर्टमा कति पैसा लिने भनेर थाहा थिएन । त्यसैले ह्वात्तै धेरै पारिश्रमिक भनिदिएँ । मेरो गल्ती भयो ।’

त्यसपछि उनलाई कसैले सुझाए, ‘संगीतमा व्यवस्थित र व्यावसायिक ढंगले बढ्नका लागि टिम चाहिन्छ । म्यानेजर चाहिन्छ ।’ आफ्नो माग र व्यस्तता बढ्दै गएपछि जोनले म्यानेजर राखे, जसले उनको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी सम्हाल्छ ।

उनलाई ट्रयाकमा गाउन रुचि थिएन । आफ्नै दौंतरीहरुको एउटा समूह तयार गरे, जसले पृष्टभूमिमा संगीत दिनेछन् । यसरी बन्यो, ‘जोन एन्ड द लोकल्स ।’

अहिले यो ब्यान्ड देश-परदेश सवार गर्छ, सांगीतिक प्रस्तुतिका लागि । जहाँ जान्छन्, न्यानो आतिथ्य मिल्छ । हजारौं दर्शक उनीहरुलाई सुन्न र हेर्न आतुर रहन्छन् । अहिले त्यस्तै अवस्था छैन, जस्तो केही वर्षअघिसम्म थियो ।

त्यसबेला जोन हातमा विद्यार्थी भिसा बोकेर विदेशिएका थिए । विदेशमा गएपछि काम गर्नै पर्थ्यो । रेष्टुरेन्टमा काम गरे । कहिले भाँडा माझे, कहिले पोछा लगाए । यसै सन्दर्भमा जोनले भनेका छन्, ‘त्यहाँ काम गरिरहँदा मैले धेरै कुरा सिकें । खासगरी म जस्तै काम गर्नेहरुप्रति मेरो सम्मानभाव बढ्यो ।’

विदेश बसाइमा उनले थुप्रै गीत लेखे, त्यसमा धुन भरे । साढे तीन बर्षको विदेश बसाइपछि उनी नेपाल फर्किए । यस्तो सोच्दै-अब आफ्नो रहरहरु पहिल्याउनेछु । गीत रेकर्ड गर्नेछु । बहिनी र आमालाई पालो दिनेछु ।

घरको अभाव टार्नकै लागि उनकी आमा इजरायलमा थिइन्, बितेको १४ वर्षदेखि । आमाले विदेशमा दुःख गरेर जोनलाई धरानको राम्रै विद्यालयमा पढाए ।  सुख सुविधामा हुर्काए । ‘ममीले हामीलाई सानै छँदा छाडेर जानुभयो । उहाँको पनि आफ्नै रहर थिए होलान्’ जोनले भनेका छन्, ‘मेरो खुसीको लागि उहाँले आफ्नो खुसी त्याग्नुभयो ।’

जोनले सुरुवाती गीत आमालाई समर्पित गरेर लेखेका थिए, संघर्ष शीर्षकमा । ‘तिमीले संघर्ष गर्नुपर्छ’ भन्ने सोही गीत तयार गरेर जोन काठमाडौं गए । त्यसबेला उनले भर्खर एसएलसी सकाएका थिए । उमेर कच्चै थियो ।

गीत लिएर उनी स्टुडियो पुगे, रेकर्डिङ गर्न । स्टुडियोमा उनलाई केही ‘ताल’ सुनाइयो । उनलाई त्यो ताल गजब लाग्यो । आफूले तयार गरेको गीत एकातिर थान्को लगाएर उनले भने, ‘दाइ यसमा पो गीत गाउन मन लाग्यो ? यसमा पो शब्द लेख्न मन लाग्यो ।’

रातको ११ बजिसकेको थियो । गीत लेख्न बसे । बिहानको तीन बजे बल्लतल्ल गीत लेखियो । चार बजे गीत रेकर्ड भयो । ‘फायरवर्क’ शीर्षकको त्यो गीत युट्युबमा अपलोड गरे । ‘संघर्ष भन्ने गीत रेकर्ड गर्न आएको अर्कै गीत अपलोड गर्दा साथीहरु नै छक्क परे’ जोनले एक सन्दर्भमा सुनाएका छन् ।

जोन आफ्ना साथीहरुप्रति आभारी छन्, जसले उनलाई हरदम हौसला दिइरहे । जोनका गीत गाइरहे । सामाजिक सञ्जालमा राखिदिए । र, सर्वत्र उत्सुकता जगाइदिए । जोन भनिरहेका छन्, ‘म जस्ता वा म भन्दा प्रतिभाशाली गायकहरु टोल–टोलमा छन् । तर, म आफूलाई भाग्यमानी ठान्छु । किनभने मैले राम्रा साथीहरु पाएँ ।’

फ्ल्यासब्याक

जोन सानैदेखि संगीतको माहोलमा पुगे । खासगरी उनी चर्च जान्थे, बुवासँगै । त्यहाँ स्टेज हुन्थ्यो, वाद्ययन्त्र हुन्थे । आफूखुसी गाउन, बजाउन पाइन्थ्यो । बुवा गाउँथे । उनी पनि गाउँथे ।

विद्यालयमा पनि उस्तै थियो, अनुकूलता । कुनै पनि कार्यक्रममा गीत गाउनका लागि उनलाई पालो दिइन्थ्यो । पढाइमा अब्बल जोन गीतमा पनि तगडा थिए । यसरी संगीतमय बाल्यकालले उनको जीवनको धुन थप मधुर बनाइदियो ।

ब्यान्ड : जोन एन्ड द लोकल्स

ब्यान्ड सदस्य : ज्यस्पर राई (ड्रम), मनुहाङ राई (बास गिटार)  श्रीहाङ राई (लीड गिटार), सुदर्शन थापा (बाँसुरी)।

लेखकको बारेमा
शिव मुखिया

शिव मुखिया अनलाइनखबर डटकमका कला तथा जीवनशैली ब्युरो संयोजक हुन् । उनी समाज, जीवनशैली र कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?