
‘बिरालोले सिंह हुने सपना देख्ने हो भने मुसा सिकार गर्न छाड्नुपर्छ’ यो अफ्रिकी उखान नेपाल पर्यटन बोर्डले २६औं वार्षिकोत्सव मनाइरहेका सन्दर्भमा समीक्षा गर्दा निकै सान्दर्भिक देखिन्छ । नेपाली पर्यटनलाई विश्वभरि प्रवर्द्धन गर्न र यसको आर्थिक योगदान दीर्घकालीन रूपमा सुदृढ बनाउन अब नयाँ सोच, स्पष्ट रणनीति र समयमै कार्यान्वयन अपरिहार्य छ ।
पर्यटन बोर्ड मुलुकको पर्यटन प्रवर्द्धन गर्न स्थापित विशेषज्ञ संस्था हो, तर सरकार र बोर्डबीचको असमन्वयले यसको प्रभावकारितामा बाधा पुगेको स्थिति छ । भ्रमण वर्ष जस्ता विशेष अभियानमा बोर्डको कामलाई समन्वय नगरी समानान्तर संरचना बनाएर दोहोरोपनको स्थिति सिर्जना भएको विगतका अनुभव ताजै छन् । ऐनमा नै बोर्ड नेपाल सरकारको पर्यटन सल्लाहकारको भूमिका निर्वाह गर्न सशक्त बनाइएको छ ।
पर्यटन बोर्डको २६औं वार्षिकोत्सव केवल उत्सव मनाउने अवसर मात्र नभई आत्मसमीक्षा गर्ने समय हो । सिंह हुने चाहना गलत भन्न खोजिएको होइन, विगत र वर्तमानका बोर्ड अध्यक्ष एवं सदस्यहरूले मुसाका पछि दौडिने प्रवृत्तिमाथि प्रश्न उठाउने समय आएको पक्कै हो ।
नमुना संस्थाका रूपमा स्थापित पर्यटन प्रवर्द्धनको सम्पूर्ण जिम्मा पाएको संस्थाले प्रवर्द्धनका कामलाई भाखा नघाएर स्थानीय रूपमा निर्माण हुने संरचनामा केन्द्रित भई वार्षिक बजेट नै पाँच महिनापछि पारित हुने परिपाटी खेदजन्य छ । विगतदेखि नै चलिआएको यो सिलसिलामा बिराम लाग्न जरुरी छ । संघीयताको मर्म आत्मसात गर्दै क्षेत्रीय रूपमा पिछडिएका गन्तव्यलाई प्राथमिकतामा पारी पालिकाहरूका निर्माणमा कनिका छर्ने काम सदाका लागि बन्द गरिनुपर्छ ।
स्मरणीय छ १० वर्ष अघिसम्म बोर्डले निर्माण आफ्नो कार्यक्षेत्र नभएकाले जनशक्तिको सिप विकास अनि स्थानीय पर्यटन मेला प्रवर्द्धन गरिरहेको अवस्थाबाट हाल बाटो, पाटी, मन्दिर लगायत निर्माणमा नै बजेटको ठूलो हिस्सा खर्चिनेसम्मको मोड देखिएको छ ।
पर्यटन बोर्डले आफ्नो प्राथमिक ध्यान अन्तर्राष्ट्रिय प्रचारमा केन्द्रित गर्नुपर्छ । पर्यटनले देशमा विदेशी मुद्रा भित्र्याउने मुख्य स्रोतका रूपमा काम गर्ने भएकाले डिजिटल मार्केटिङ, अन्तर्राष्ट्रिय मिडिया कभरेजका लागि रणनीतिक अभियानको आवश्यकता छ । प्रमुख गन्तव्य मुलुकमा रोडशो आयोजना, पर्यटन मेलामा निजी क्षेत्रसँगको साझेदारी मार्फत नेपालको पहिचान थप प्रगाढ बनाउन सकिन्छ ।
२९ मे १९५३ मा तेन्जिङनोर्गे शेर्पा र सर एडमन्ड हिलारीले पहिलो पटक संसारकै उच्च शिखर सगरमाथाको सफल आरोहण गरेपछि नेपालमा पर्यटन फस्टाएको थियो । यस ऐतिहासिक घटनाले नेपाललाई अन्तर्राष्ट्रिय पर्यटकमाझ पर्यटन गन्तव्यमध्ये एकका रूपमा विश्व नक्सामा स्थापित गर्यो ।
त्यसअघि नेपाल निरंकुश राणा शासनकालमा बन्द राज्य थियो, जहाँ केही चुनिएका व्यक्तिलाई मात्र भ्रमण गर्न अनुमति दिइन्थ्यो । २००७ सालको राजनीतिक परिवर्तनपछि विदेशीका लागि नेपालका ढोका खुला भए र पर्यटक भिसाले यसलाई सम्भव बनायो । यसरी नेपालमा नयाँ युग प्रारम्भ भयो, जसले साहसिक र सांस्कृतिक पर्यटनलाई प्राथमिकता दियो ।
सन् १९६० को दशकको अन्त्य र १९७० को दशकको हिप्पी युगमा नेपालको कम लागतको जीवनशैली र स्वतन्त्र वातावरणले यात्रीको नयाँ वर्ग आकर्षित गर्यो । नेपाल सहज र वैकल्पिक जीवनशैलीको प्रतीक बन्यो, जहाँ गाँजा र चरेस उपलब्ध थियो । १९७३ मा सरकारले यी पदार्थ बिक्रीमा प्रतिबन्ध लगाउँदा नेपालमा पर्यटनले अर्को कोल्टे फेर्यो ।

यसले नेपाललाई साहसिक पर्यटनको केन्द्र बनायो र पर्यटकले नेपालको अद्वितीय संस्कृति, पदयात्रा मार्ग र सदाबहार पहाडी परिदृश्य रुचाउन थाले । हालसम्म पनि हाम्रो पर्यटन यही वरिपरि नै घुमिरहेको छ । सिंगापुरजस्तो कृत्रिमता बेच्ने देशले १ करोड ४० लाख हाराहारी पर्यटक भित्र्याइरहँदा, संसारकै अग्ला, गहिरा जस्ता सम्पदाले सुसज्जित नेपालमा १५ लाख पर्यटक हेर्नुपर्ने अवस्था छ ।
१९९८ मा नेपाल पर्यटन बोर्डको स्थापना नेपालको पर्यटन क्षेत्रमा भएको एक महत्त्वपूर्ण कदम थियो । सार्वजनिक र निजी क्षेत्रको साझेदारी अवधारणामा बनेको यो संस्थाले नेपाललाई एक प्रमुख पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने काम गर्न थाल्यो । ‘नेपाल भ्रमण वर्ष १९९८’ जस्ता अभियानले सुरुमा धेरै सफलता साथ अन्तर्राष्ट्रिय चासो ल्याए । यद्यपि, त्यसपछि राजनीतिक अस्थिरता, माओवादी विद्रोह र शाही नरसंहार जस्ता घटनाले पर्यटनलाई गहिरो प्रभाव पारे, तर बोर्डको संयोजनकारी र प्रवर्द्धकको भूमिका भने महत्त्वपूर्ण रह्यो ।
एकै दिन पर्यटन विभाग र हवाई विभार्ग विस्थापित गरी उदाएका दुई संस्था नेपाल पर्यटन बोर्ड र नेपाल नागरिक उड्डयन प्राधिकरणको संरचना र कार्यगत सर्त नितान्त फरक थिए । प्राधिकरणलाई नियमनकारी संस्था बनाउँदा बोर्ड प्रवर्द्धनात्मक निकायका रूपमा रहेको छ । दिइएको म्यान्डेट र प्रभावकारिताका विषयमा पुनरावलोकन गर्ने समय आएको छ ।
आज मंगलबार बोर्डको २६ वर्ष पूरा भएपछि पर्यटन विकासका सन्दर्भमा गहिरो ध्यान आकर्षित भएको छ । हालका केही वर्ष पूर्वाधार विकासमा ध्यान केन्द्रित गरिएको छ । जस्तै, विमानस्थल स्तरोन्नति, सडक सुधार र पर्यटकका लागि उत्तम आधारभूत सुविधा व्यवस्था । यी सबै महत्त्वपूर्ण भए पनि, यति पर्यटनको विकासका लागि पर्याप्त छैन । बोर्डको मुख्य उद्देश्य भनेको नेपालको पर्यटन प्रवर्द्धन गर्नु हो र यसका लागि यसले आफ्नो ध्यान पुनः केन्द्रित गर्नुपर्ने आवश्यकता छ ।

मार्केटिङ, आर्टिफिसियल इन्टिलिजेन्स (एआई) र इन्फ्लुएन्सियल मार्केटिङ जस्ताले प्रवर्द्धनको तरिका परिवर्तन गरेका छन् । तथापि, इन्फ्लुएन्सियल मार्केटिङ अहिले आलोचनामा छ । धेरै ब्रान्डले विशेषगरी पर्यटन क्षेत्रमा, उच्च संख्यामा फलोअर्स भएका इन्फ्लुएन्सरहरूको मद्दत लिएर प्रचार गर्ने प्रयास गरे, जसबाट ठूलो परिणामको आशा गरिएको थियो । तर, अब यो रणनीति प्रभावकारी देखिएन ।
उपभोक्ताहरू हालका दिनमा इन्फ्लुएन्सरका सामग्रीलाई शंका गर्दै हेर्छन् र यसलाई धेरै नै सिंगारिएको र भ्रामक मान्न थालेका छन् । पर्यटक केवल प्रचारात्मक पोस्ट हेर्न चाहँदैनन्, बरु वास्तविक र सम्बन्धित कथा पढ्न चाहन्छन् । यो परिवर्तनले मार्केटिङमा प्रामाणिकताको आवश्यकता र अर्गानिक दृष्टिकोणको महत्त्वमा बल पुर्याउँछ ।
इन्फ्लुएन्सियल मार्केटिङको सट्टा वास्तविक यात्रुको अनुभवलाई प्राथमिकता दिनुपर्छ । यसले यात्रा गर्ने साधारण मानिसको वास्तविक कथा प्रसार गर्न र अन्य सम्भावित पर्यटकसँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्न मद्दत पुर्याउँछ । यस्ता कथाहरू, चाहे तिनीहरू सामाजिक सञ्जालमा, ब्लगमा, वा अन्य प्लेटफर्ममा गरिएका होस्, धेरै सान्दर्भिक र विश्वसनीय हुन्छन् ।
यी वास्तविक अनुभवले नेपालमा प्राप्त गर्न सकिने अद्वितीय अनुभवको वास्तविकता देखाउँछ– हिमालय पदयात्रादेखि काठमाडौंको जीवन्तता र ग्रामीण भेगको प्राकृतिक सौन्दर्यसम्म । नेपालको पर्यटन क्षेत्रको भविष्य अब मार्केटिङ र उपभोक्ताको अपेक्षाहरूको गतिशीलतासँग कसरी मेल खान्छ भन्ने कुरामा निर्भर छ ।
पर्यटन क्षेत्रलाई सबल बनाउने क्रममा नेपालले सस्तो लोकप्रियतामा रमाउने प्रवृत्ति त्याग्नुपर्छ । भिसा शुल्क निःशुल्क गर्नेभन्दा पर्यटकको भिसा प्रक्रिया सहज बनाउने पहलले बढी प्रभावकारी परिणाम दिन सक्छ ।
अन्तर्राष्ट्रिय विमानस्थलहरूमा पर्यटक सहजीकरण डेस्क पुनस्र्थापना गरेर पर्यटकलाई स्वागतको न्यानो अनुभव प्रदान गर्न सकिन्छ । यसले नेपालको आतिथ्य संस्कृतिलाई प्रोत्साहन गर्दै पर्यटकको पहिलो अनुभव सकारात्मक बनाउँछ ।
पर्यटन क्षेत्रका लागि दक्ष जनशक्ति विकास गर्ने बोर्डको प्रमुख काममध्ये एक हो । तर, रिक्त पदहरू भएर पनि सात वर्षदेखि पर्यटन बोर्डले नयाँ कर्मचारी भर्ना नगर्नु र प्रमुख पदहरूमा निमित्तको व्यवस्थापनले संस्थाको कार्यक्षमतामा प्रत्यक्ष असर पुर्याएको छ । पर्यटनमा चलिआएको पाहुना ग्राह्यताबाट नयाँ व्यवस्थापनले आफ्ना कर्मचारीलाई पहिलो प्राथमिकता देऊ भनेको छ । बोर्डले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दायित्व पूरा गरिराख्दा आफ्ना कर्मचारीलाई पनि प्राथमिकतामा राख्न उत्तिकै जरुरी छ ।
नेपालको पर्यटनले केवल आर्थिक लाभमात्र होइन, सामाजिक र पर्यावरणीय सन्तुलन पनि कायम गर्नुपर्छ । दिगो पर्यटन प्रवर्द्धनको अवधारणा आत्मसात गरेर पर्यावरणीय प्रभाव न्यून गर्ने र स्थानीय समुदायको सहभागितामा आधारित कार्यक्रमहरू अघि बढाउन जरुरी छ । केवल प्रचारात्मक कार्यक्रम गरेर मानव संशाधनमा लगानी नगर्ने अभ्यासले नेपालको पर्यटन छविमा दीर्घकालीन नकारात्मक प्रभाव पार्न सक्छ ।
भारत र चीन नेपालका मुख्य पर्यटन बजार हुन्, तर यी देशका पर्यटक संख्यामा वृद्धि गर्न महँगो हवाई भाडा बाधक बनेको छ । यसका लागि क्षेत्रीय पर्यटन प्याकेज तयार गरेर लागत घटाउने प्रयास गरिनुपर्छ । नेपाललाई ‘भ्यालु फर मनी’ गन्तव्यका रूपमा स्थापित गर्ने दिशामा काम गर्न आवश्यक छ ।
नेपाललाई विश्वकै उत्कृष्ट पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न सरकार र बोर्डको संयुक्त प्रयासले मात्र सम्भव छ । सस्तो लोकप्रियतामा रमाउने भन्दा गुणस्तरीय काम गर्ने दृष्टिकोण नै नेपाल पर्यटन बोर्डको सफलताको आधार हो ।
प्रतिक्रिया 4