+
+
विचार :

विश्वविद्यालयले पढाउनुपर्ने चाहिं के हो ?

एउटा क्षेत्रको मात्र ज्ञान भएको युवाले अहिले जस्तो बहुआयामिक समाजका समस्या समाधान गर्न सक्दैन। त्यसको लागि पढाइ पनि बहुआयामिक हुनुपर्दछ। यो विषयमा हामीले सही बाटो पहिल्याउन सक्दा मात्रै उच्च शिक्षा साँचो अर्थको सुधारको बाटोमा लम्कन सक्दछ।

डा. सन्जिब हुमागाईं डा. सन्जिब हुमागाईं
२०८१ पुष २३ गते १३:३३

हाम्रो दोषी चस्माले सिंगापुरको विकासमा ली क्वान युलाई झल्झली देखिरहँदा त्यहाँको विकासको मेरुदण्डको रूपमा रहेको सिंगापुर राष्ट्रिय विश्वविद्यालयलाई नजरअन्दाज गर्दछ। कोरिया सन् १९५०–६० सम्म हामीभन्दा पनि गरिब थियो, पार्क जुङ हीले कस्तो चमत्कार गरे भनेर उनका परिवारका सदस्यले भन्दा पनि धेरै उनको व्यक्तिगत प्रशंसा गरिरहेको भेटिन्छौं। कसरी छोटो अवधिमा त्यहाँका धेरै विश्वविद्यालय संसारको उत्कृष्ट विश्वविद्यालयहरूमा सूचीकृत हुन सके र उनीहरूको आर्थिक एवं राजनीतिक आधुनिकीकरणमा कस्तो भूमिका रह्यो हाम्रो चासोको विषय बन्दैन।

विश्वविद्यालय र राज्यको आर्थिक, सामाजिक र राजनीतिक आधुनिकीकरणमा नङ र मासुको जस्तै सम्बन्ध हुन्छ। राज्यले उच्च शिक्षाको व्यवस्थापन मार्फत आफूलाई आवश्यक जनशक्ति उत्पादन गर्दछ। विश्वविद्यालयहरू राज्यका लागि आवश्यक जनशक्ति उत्पादनको ‘कारखाना’ हुन्।

आर्थिक आधुनिकीकरणमा सफलता प्राप्त गरेका वा गरिरहेका देशका विश्वविद्यालयका कक्षा कोठा र आँगनहरू गतिशील, चलायमान हुन्छन्। ऊर्जाले भरिएका हुन्छन्। विश्वविद्यालयभित्रको ऊर्जा समाजसम्म सम्प्रेषण हुन्छ। विश्वविद्यालयका विद्यार्थीको आँखामा संसार हाँक्ने आत्मविश्वास हुन्छ। खासमा, देश कसरी चलिरहेको छ हेर्न विश्वविद्यालयहरूका आँगन हेरे पुग्छ।

जरुर, आधुनिक युगमा ज्ञान उत्पादन र सम्प्रेषण दुवैमा विश्वविद्यालयको उत्तिकै भूमिका हुन्छ। त्यस्ता दुई लक्ष्यहरू प्राप्ति गर्न नितान्त फरक रणनीतिहरू आवश्यक हुन्छन्। जान-अन्जान हामीले यसलाई नछुट्याई संवाद गरिरहेका हुन्छौं। यहाँ दोस्रो विषयमा छलफल गर्न खोजिएको छ। यो वर्तमान नेपालको लागि सबैभन्दा महत्वपूर्ण पक्ष पनि हो।

अपूर्ण र जबरजस्त पूँजीवादी भाष्यहरू

विश्वविद्यालयमा हुने पढाइको विषय दुई अपूर्ण र डरलाग्दा भाष्यको बीचमा फसेको छ।

पहिलो, नेपालका विश्वविद्यालयहरूलाई तत्काल नर्वे, डेनमार्क जस्ता देशहरूमा रहेका विश्वविद्यालय बनाउने सपनाका बहसहरू छन्। कहाँ अब पढाउने हो? त्यो युगको अन्त्य भई सक्यो। अब त सिकाउनुपर्दछ। विद्यार्थीलाई अनुसन्धान गराउनुपर्दछ। लामो समयदेखि यस्तै कर्ण प्रिय, सुन्दर र आदर्शवादी तर तत्कालका लागि अव्यावहारिक बहसहरूमा अड्किएको छ हाम्रो उच्च शिक्षा सुधारको बहस।

हो जानुपर्ने त्यहीं हो। यसमा द्विविधा नै भएन। तर कहिले र कसरी भन्ने बहस पनि सँगसँगै गर्नु आवश्यक हुन्छ। साथै, त्यो हाम्रो तत्कालको आवश्यकता हो कि होइनको विषयमा पनि निर्मम समीक्षा आवश्यक छ।

पहिलो, संसारका प्राय: सबै विश्वविद्यालयमा स्नातक तहमा पढाउने विषयले सधै उच्च प्राथमिकता पाउँछ। हार्वर्ड विश्वविद्यालयले युट्युबमा राखेको प्रोफेसरको माइकल स्याण्डलको ‘न्याय: के गर्नु असल हुन्छ?’ भन्ने एउटा कक्षा मात्रै हेर्‍यो भने पनि विश्वविद्यालयमा पढाउने विषय अझै कत्ति महत्वपूर्ण रहेको छ प्रष्ट हुन्छ।

दोस्रो, स्नातक तहका पहिलो र दोस्रो वर्षमा लेक्चर विधिबाट कक्षा सञ्चालन गर्ने पद्धति आम प्रचलनमा छ।

तेस्रो, अलि धेरै प्रयोगात्मक विधि अवलम्बन गरिने विश्वविद्यालयमा प्रवेश गर्ने विद्यार्थीले स्कूल जीवनमा नै धेरै पुस्तकहरू पढिसकेका हुन्छन्। सम्बन्धित क्षेत्र, भाषा र प्रविधिको बारेमा ज्ञान राखेका हुन्छन्। हाम्रा विद्यार्थीहरू कस्ता छन्? फेरि त्यस्ता अभ्यास गर्न कस्तो पूर्वाधार र जनशक्ति आवश्यक हुन्छन्? त्यसलाई हामीले कहिले र कसरी पुरा गर्दैछौं?

चौथो, उच्च शिक्षा प्राप्ति पश्चात् जागिर प्राप्त गर्ने विधिले शिक्षण विधिलाई निर्धारण गर्दछ। हाम्रोमा के छ र त्यसको लागि कस्तो तयारी गर्नुपर्दछ?

पाँचौं, हामी सबैले अनुसन्धान गर्ने विश्वविद्यालयको रूपमा परिचित सिंगापुर राष्ट्रिय विश्वविद्यालय पनि २०औं शताब्दीमा शिक्षा केन्द्रित विश्वविद्यालय थियो भन्ने तथ्यलाई पनि बिर्सनुहुँदैन। कक्षा कोठामा कसरी कक्षा सञ्चालन गर्ने भन्ने विषय देशको अवस्था र आवश्यकताले निर्धारण गर्दछ। क्रमिक सुधारको बाटोमा हिंड्नुपर्दछ।

अब अर्को डरलाग्दो भाष्यको चर्चा गरौं । केही समय अगाडिदेखि विश्वविद्यालयका कक्षा कोठाभित्र अध्ययन, अध्यापन हुने विषयहरू र बजारमा आवश्यक सीप बीच ठूलो खाडल छ भन्ने भाष्यले जरा गाड्दै गएको छ। सुन्दा अत्यन्तै व्यावहारिक लाग्ने यो तर्कलाई आलोचनात्मक हेर्नु आवश्यक छ।

सबैभन्दा पहिला हामी यो विषयमा प्रष्ट हुनु आवश्यक छ कि यो चरम पूँजीवादी भाष्य हो। विश्वविद्यालयले नै कम्पनीमा काम गर्ने जनशक्ति उत्पादन गर्नु पर्‍यो भनेको कम्पनीहरू कुनै नयाँ जनशक्तिलाई अनुबन्धित गराइसकेपछि उसलाई तालिम दिनु नपर्ने शैक्षिक एवं आर्थिक संरचना निर्माण गरौं भन्ने हो। यसबाट कसलाई फाइदा हुन्छ? यस्तो भाष्य कसले निर्माण गर्दछ?

दोस्रो र सबैभन्दा महत्वपूर्ण विषय विश्वविद्यालय तहको शिक्षा प्राप्त गरेको एउटा युवासँग सामान्य सीप मात्रै होइन सिङ्गो जीवन जिउन आवश्यक सक्षमताहरू आवश्यक हुन्छन्। हामीलाई सीपयुक्त असल नागरिकहरू आवश्यक छन्। विश्वविद्यालयले त्यसमा सन्तुलित ध्यान दिनुपर्दछ। नागरिकलाई सीपयुक्त बनाउने काम उद्योग र व्यवसायको पनि हो।

तेस्रो, यो बहस आफैंमा अहिलेको युगको विकासक्रम विपरीत पनि छ। सूचनाप्रविधिको अपत्यारिलो विकासका कारण हरेक दिन समाज र कार्यक्षेत्रमा आवश्यक सीपको प्रकृति फेरिंदैछ। कक्षा कोठामा सिकेको ज्ञान र सीपलाई जीवनभर प्रयोग गर्ने युग अन्त्य भइसकेको छ। हरेक दिन, हरेक समय नयाँ सीप र विधि सिक्ने व्यक्ति मात्रै टिक्ने युगको सुरु भएको छ। संसारले यो विषयमा छलफल सुरु गरेको दुई दशक भन्दा धेरै भइसक्यो।

सन् २००९ मा अमेरिकाको ड्राटमाउथ कलेजको पहिलो एसियाली मूलका प्रेसिडेन्ट नियुक्त भएका किम योङले आफ्नो पहिलो मन्तव्यमा भनेका थिए– अबका युवा कपास जस्तै हुनुपर्दछ जोसँग सूचनाप्रविधिको विकासका कारण र अन्य कारणले आउने परिवर्तनमा सजिलै अभ्यस्त हुनसक्ने, समायोजन हुनसक्ने क्षमता अपरिहार्य हुन्छ। अब भन्नुहोस् विश्वविद्यालयमा के पढाउनुपर्दछ?

पढाइका दुई फरक तर सम्बन्धित मुद्दा

विश्वविद्यालयमा हुने पढाइ सुधारका बहसका दुई पाटाहरू छन्। पहिलो, अध्ययन, अध्यापन हुने विषय नै धेरै कम छन्। विश्वको अहिलेको ध्यान तथ्यांक, एआई, बिग डेटालाई प्रयोग गरेर अर्थ सामाजिक समस्या कसरी समाधान गर्न सकिन्छ भन्नेमा छ र सो सम्बन्धी स्नातक तहमा विविध कार्यक्रमहरू विकसित भएका छन्। जस्तै नेपालमा शिक्षा कार्यक्रम अन्तर्गतमा अहिले पनि धेरै विद्यार्थी अध्ययनरत छन्।

सूचनाप्रविधिको विकास र कोरोनाले सिकाएको पाठमा आधारित भएर शिक्षा क्षेत्रमा संसारभर अहिले “शिक्षा इन्जिनियरिङ” सबैभन्दा लोकप्रिय शैक्षिक कार्यक्रम हो। हाम्रोमा यसको पठन-पाठनको अझै कुनै संकेत छैन। व्यवस्थापन नेपाली विद्यार्थीको अर्को प्रमुख रोजाइको विषय हो। यो क्षेत्रमा विकसित देशका विश्वविद्यालयहरूमा व्यवस्थापन तथ्यांक, स्वास्थ्य व्यवस्थापन, ग्लोबल व्यापार व्यवस्थापन जस्ता देशको भविष्यसँग जोडिएका धेरै विभाग र कार्यक्रम सञ्चालन हुन्छन्। एकै संकायबाट दीक्षित विद्यार्थीले पनि आफ्नो रोजाइ अनुसारको विज्ञता हासिल गरेका हुन्छन्।

हाम्रो पढाइमा सुधार हुनुपर्ने पहिलो विषय यही हो। विश्वविद्यालयहरूले संकाय र विभाग जस्ता पुरातनवादी पर्खालहरूलाई भत्काएर, अन्तर विभाग र संकाय कार्यक्रमहरू विकसित गर्नुपर्दछ। शिक्षा मन्त्रालय र विद्यालय अनुदान आयोगले त्यस्ता कार्यक्रम प्रोत्साहन गर्न कत्ति पनि कन्जुस्याइँ गर्नुहुँदैन। यो राष्ट्रिय स्वाधीनतासँग जोडिएको विषय हो।

राज्यका प्रत्येक क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन समुन्नत नेपाल निर्माणको पहिलो खुड्किलो हो। थोरै क्रेडिट कोर्ष लिएर पनि सम्बन्धित क्षेत्रमा दक्षता प्राप्त गर्न सक्ने धेरै पाठ्यक्रमहरू विकास गर्नुपर्दछ। विद्यार्थीलाई धेरैभन्दा धेरै उप-डिग्रीको विकल्प खुला गर्नुपर्दछ। जब हाम्रो ध्यान त्यहाँ जान्छ, विश्वविद्यालयले पढाउने धेरै क्षेत्र र विषयहरू पहिचान हुन्छन्।

दोस्रो र कत्ति पनि ढिलाइ नगरी विश्वविद्यालयहरूमा जीवन र जगत पढाउनुपर्दछ। विद्यार्थीलाई समस्या पहिचान गर्ने र समाधानको नेतृत्व गर्न सक्ने बनाउनु छ। एकातर्फ हाम्रो समाज नैराश्यताले भरिएको छ भने अर्कोतर्फ सूचनाप्रविधिको विकास र हाम्रो सामाजिक रूपान्तरणका कारण समाज र अर्थतन्त्रमा नयाँ खाले समस्याहरू देखा पर्न थालेका छन्। त्यसलाई चिरफार गर्न र सकारात्मक बाटोमा विकसित गर्न जीवन र जगतको बारेमा छुट्टै पाठ्यक्रम, पाठ्यसामग्री र पढाउन सक्ने जनशक्ति विकास गर्न कत्ति पनि ढिलाइ गर्नुहुँदैन।

विश्वविद्यालयको पढाइ त्यतिखेर पूर्ण हुन्छ जब एउटा युवासँग सम्बन्धित क्षेत्रको ज्ञान र उसले नेतृत्व गर्ने सामाजिक जीवनमा आउन सक्ने समस्यालाई समाधान गर्न सक्ने क्षमता राख्दछ। के एउटा क्षेत्रको मात्र ज्ञान भएको युवाले अहिले जस्तो बहुआयामिक समाजका समस्या समाधान गर्न सक्दछ? सक्दैन।

यस्ता विषयलाई अमेरिका, चीन लगायत देशमा लिबरल आर्ट्स् भन्ने गरिन्छ। त्यहाँका विश्वविद्यालयमा कुनै पनि शैक्षिक कार्यक्रममा अध्ययन गर्ने विद्यार्थीले अनिवार्य रूपमा लिबरल आर्ट्सका कक्षाहरू पढ्नुपर्दछ। अमेरिकामा यो व्यवस्था आधा शताब्दी अगाडिदेखि अभ्यासमा छ।

विश्वविद्यालय भित्र त्यस्ता कार्यक्रम सञ्चालन गर्ने छुट्टै संकाय वा निकाय हुन्छ। त्यसले राष्ट्रिय आवश्यकता अनुसारका कोर्ष विकसित र कक्षा सञ्चालन गर्दछ । हरेक संकायका विद्यार्थी आफूले पढ्न चाहेको विषय दर्ता गरेर अध्ययन गर्दछन्।

जस्तै कोरियाको यांसे विश्वविद्यालयले आफ्ना विद्यार्थीलाई संस्कृति र कला, मानव र इतिहास, भाषा र अभिव्यक्ति, मूल्य र नैतिकता, राज्य र समाज, स्थानीय र विश्व, तर्क र गणित, पर्यावरण र पृथ्वी, जीवन र वातावरण, सूचना र प्रविधि, खेल र स्वास्थ्य अन्तर्गत हरेकमा झन्डै ३०-३० विषय गरी ३०० भन्दा धेरै विषय उपलब्ध गराउँछ। सो विश्वविद्यालयमा भर्ना भएका सबै विद्यार्थीले त्यस्ता विषयहरूमध्ये १० भन्दा धेरै विषय पढ्नुपर्ने हुन्छ। कोरियन, अमेरिकन, चाइनिज सबैले पढ्नुपर्ने अनि नेपाली युवाले यस्ता विषय पढ्नुपर्दैन?

विश्वविद्यालयको पढाइ त्यतिखेर पूर्ण हुन्छ जब एउटा युवासँग सम्बन्धित क्षेत्रको ज्ञान र उसले नेतृत्व गर्ने सामाजिक जीवनमा आउन सक्ने समस्यालाई समाधान गर्न सक्ने क्षमता राख्दछ। के एउटा क्षेत्रको मात्र ज्ञान भएको युवाले अहिले जस्तो बहुआयामिक समाजका समस्या समाधान गर्न सक्दछ? सक्दैन। त्यसको लागि पढाइ पनि बहुआयामिक हुनुपर्दछ। यो विषयमा हामीले सही बाटो पहिल्याउन सक्दा मात्रै हाम्रो उच्च शिक्षा साँचो अर्थको सुधारको बाटोमा लम्कन सक्दछ।

तेस्रो, विश्वविद्यालयले हाम्रा युवाहरूलाई विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता विकास गर्न आवश्यक भाषा र प्रविधि पढाउनुपर्दछ। नेपाललाई अहिले पर्यटन, अन्तर्राष्ट्रिय व्यापार साथै धेरै क्षेत्रमा काम गर्ने युवाहरूको आवश्यक छ। जानअन्जान हामीले ठूला उद्योग खोलेर, ठूलो मात्रामा सामान उत्पादन गर्ने र त्यसलाई केन्द्रबिन्दुमा राखेर आर्थिक विकास गर्ने एसियाका अन्य देशहरूले अभ्यास गरेको मोडेललाई आत्मसात् नगर्ने निर्णय गरिसकेका छौं। हामीले विशेष दक्षता हासिल गर्नुपर्ने, सफलता गर्नुपर्ने ‘सेवा’ क्षेत्र नै हो। सेवा क्षेत्रलाई नेतृत्व गर्न सक्ने जनशक्तिसँग अन्तर्राष्ट्रिय स्तरको सक्षमता आवश्यक हुन्छ र हामीले पढाउने पनि त्यही हो।

हामीलाई राष्ट्रिय सहमति आवश्यक छ कहिले र के-के पढाउने भन्ने बारेमा। मध्यम र दीर्घकालीन योजना निर्माण गर्नुपूर्व देशका प्राय: सबै विश्वविद्यालयका कुलपति एवं सहकुलपति रहनुभएका सम्माननीय प्रधानमन्त्री र माननीय शिक्षा मन्त्रीले पढ्ने अवसर नै खोसिएका हाम्रा विश्वविद्यालयका तेस्रो, चौथो र पाँचौं वर्षका विद्यार्थीको अधिकार सुनिश्चितताको लागि विशेष प्याकेज घोषणा गरेर विद्यार्थी केन्द्रित उच्च शिक्षाको सुधारको नयाँ अध्याय सुरु गर्नु हुनेछ भन्नेमा म विश्वस्त छु।

हामी सबै प्रष्ट हुनुपर्दछ, सिकाउन र सिक्न सक्ने बनाउन पनि पढाउनुपर्दछ।

लेखकको बारेमा
डा. सन्जिब हुमागाईं

दक्षिण कोरियाको यान्से विश्वविद्यालयबाट अर्थराजनीतिमा विद्यावारिधि गरेका हुमागाईं त्रिभुवन विश्वविद्यालय र नेपाल खुला विश्वविद्यालयमा एमफिल तथा पीएचडी कार्यक्रममा राजनीतिशास्त्र तथा अन्तर्राष्ट्रिय सम्बन्धका सिद्धान्त प्राध्यापन गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?