किन फिल्म क्षेत्र नै रोज्नुभयो ? कस्तो महसुस भइरहेको छ ? दर्शकलाई के भन्न चाहनुहुन्छ ? जस्ता दिक्कलाग्दो प्रश्नहरुले अब उनलाई केही समय घेराबन्दीमा पार्नेछन् । किनभने कमर्शियल प्रश्नहरुका सामुन्ने उनी नयाँ-नयाँ छिन् । र, उनका लागि धेरैकुरा नयाँ-नयाँ छन् ।
उसो त ग्ल्यामर वृत्तमा फुत्त देखा परेकी ‘नयाँ अनुहार’ हुन् यी । जब उनको आगमन भयो, त्यसको पृष्ठभूमिमा अधिकांशले ‘दिलीप रायमाझीकी छोरी’ भनेर चर्चा गरे । अब उनको संघर्ष आफ्नो नामको अघिल्तिर झुन्ड्याइने यही विशेषण हटाउनु हो । अर्थात दिव्या रायमाझीको रुपमा अलग कित्ता निर्माण गर्नु हो ।
फिल्म ‘एक्टर’ले घोषणा गरेको सरप्राइज हुन्, दिव्या । त्यसअघि उनको बारेमा कुनै सोधीखोजी थिएन । उनी कहाँ छिन्, के गर्छिन् अत्तोपत्तो थिएन । उनका बुवा दिलीप रायमाझी हुँदाछदाको करियर थाँती राखेर विदेशिएका थिए । यी ‘रोमान्टिक हिरो’को थाँतबास के-कसो छ ? अधिकांशलाई पत्तो थिएन ।
त्यसैले त हिरोइनको रुपमा दिव्याको उदय अप्रत्यासित बनिदियो । जसै उनको नाम उद्घोष भयो, ‘दिलीप रायमाझीकी छोरी फिल्ममा डेब्यु गर्दै’, ‘दिलीप रायमाझीकी छोरी अब हिरोइन’ शैलीका हेडलाइनको होडबाजी चल्यो । नेपाली सिनेमामा सबैभन्दा कान्छी छिमलकी यी हिरोइनले अपेक्षित हाइप पाइन् ।
यो केही आशालाग्दो र रहरलाग्दो खबर थियो । पुस्ताको विरासत लिएर सगर्व आउनेहरु नेपाली सिनेमामा उति धेरै छैनन् । त्यसैले यहाँ दुई पुस्ताभन्दा लामो सिनेमा वंशावली भेटिदैन । ‘सिनेमा खानदानी’ नभएको नेपाली पृष्टभूमीमा पिता–पूर्खाको पदचाप पच्छ्याउनेको क्रमसंख्या बढ्नु आफैमा खुसीको समाचार थियो ।
दिव्या त्यही समयरेखामा अमेरिकाबाट नेपाल फर्किइन्, जतिबेला विरक्तिएर विदेशिन तम्तयार युवाहरुको ताँती लागेको छ । दिनहुँ ३५ सय हाराहारी युवाले देश छाडिरहेको बखत उनी देश फर्किइन्, करियर बनाउन भन्दै ।
के नेपाली सिनेमामा ‘करियर’ बनाउन सकिएला ? यो जोखिमपूर्ण प्रश्न उनले आफूसँगै बोकेर ल्याएकी छिन् । किनभने उनका बुवा दिलीप रायमाझी झन्डै एक दशकअघि ‘सुरक्षित भविष्य’ खोज्दै परदेशिएका थिए । जबकि आफ्नो समयका चल्तापूर्जा हिरो थिए उनी । ‘जिन्दगानी’, ‘दर्पण छायाँ’, ‘आफ्नो मान्छे’, ‘बादलपारी’ जस्ता सुपरहिट फिल्मको लामो सूची उनीसँग थियो । तुलसी घिमिरे निर्देशित ‘दर्पण छायाँ’ ब्लकबस्टर रह्यो र त्यसले दिलीपलाई रोमान्टिक हिरोको रुपमा उभ्याइदियो ।
हास्य विनोद र नृत्य कौशलको एक सम्पूर्ण प्याकेज थिए उनी । त्यसैले नेपाली सिनेमाले खोजिरहने त्यो रिक्त ठाउँमा उनको माग हुन्थ्यो । उनी कतिसम्म व्यस्त रहन्थे भने एकसाथ तीन वटा सेड्युलमा काम गर्नुपर्थ्यो । केही हडबडे र औधि मिजासिला स्वभावका दिलीप बर्षौं–बर्ष एकनासले छाइरहे नेपाली सिनेमामा । अभिनयमा त्यही बुवाको अनुवांशिक गुण बोकेर आएकी छिन्, दिव्या ।
उनी बुवा जस्तो चुलबुले छैनन् । बुवा जस्तो शाकाहारी पनि होइनन् । उनी सौम्य छिन् र परिपक्क पनि । परिवारकी एक्ली सन्तान हुन् । तर पुलपुलिन पाइनन् । किनभने आमाको कडा अनुशासनमा हुर्किइन् ।
जतिबेला पिता करियरको उत्कर्षमा थिए, त्यसको रंगीन अनुभव उनीसँग छैन । उनलाई थाहा छैन, बुवाले कुनैदिन हिरोइज्म देखाएको । उनलाई थाहा छैन, बुवाले कुनैदिन सिनेमा हेर्न हलसम्म पुर्याएको ।
घरको टेलिभिजनमा उनी बुवालाई देख्थिन् कहिले नाचिरहेको, कहिले मारपिट गरिरहेको । ‘ड्याडी हामीसँगै बसेर आफ्नो फिल्म हेर्न लजाउनु हुन्थ्यो’ दिव्या सुनाउँछिन्, ‘टिभीमा उहाँको फिल्म आइरहेको छ भने टिभी बन्द गर्नुहुन्थ्यो वा उठेर अर्कै कोठामा जानुहुन्थ्यो ।’
बुवाको स्वभाव भन्दा प्रभाव बढी छ, उनमा । त्यसैले त बुवाले सिनेमाको बखान गरिरहँदा उनमा त्यसप्रति सम्मोहन जागेको थियो । बुवाले भनेका थिए, ‘सिनेमा दुनियाँको यस्तो काम हो, जहाँ काम हेर्न पनि मान्छेहरु ओइरो लाग्छन् । रमाइलो मान्छन् । हामीले गरेको कामलाई अझ सुन्दर बनाएर पर्दामा देखाइन्छ । र, हाम्रो कामको नतिजा हेर्न पनि मान्छेहरु पैसा तिरेर आउँछन् ।’
उनलाई पनि ‘हो त’ भन्ने लाग्थ्यो ।
यद्यपि बुवाले सिनेमाको अर्को पाटो पनि देखाइदिएका थिए । यसरी, ‘तर, त्यहाँ भोक भन्न पाइँदैन । निद्रा भन्न पाइँदैन । जाडो भन्न पाइँदैन । गर्मी भन्न पाइँदैन । चाडपर्व भन्न पाइँदैन । आफ्नो मान्छेको बिहे–कार्जे भन्न पाइँदैन । आफ्नो मर्जी अनुसार जिन्दगी चलाउन पाइँदैन ।’
यो कुरा उनलाई ‘होइन होला’ जस्तै लाग्थ्यो । तर, आफूले भोग्नु परेपछि उनले बुवालाई सम्झिइन् । बुवाको समय र संघर्षलाई सम्झिइन् । अनि फोन गरेर भनिन्, ‘ड्याडी आज मैले त्यो कुरा वास्तवमै महसुष गरें । किनभने त्यसअघि मलाई यो कुरा होइन होला जस्तो लागेको थियो ।’
यसैपालीको तिहारको कुरा हो । लामो समय अमेरिका बसाईपछिको तिहार थियो । घरमा दियो बल्दै थियो, आँगनमा रंगोली बन्दै थियो, देउसी–भैली गुञ्जिदै थियो, सेलरोटी र सायपत्रीको बास्ना फैलदै थियो । तर, घरकी एक्ली छोरी दिव्या घरमा थिइनन् । उनी ‘पिताम्बर’ फिल्मको छायांकनका लागि परासीमा थिइन् । ‘फिल्ममा लागेपछि आफ्नो जीवन आफ्नै हुँदैन’ भन्ने उनलाई बोध भयो ।
सानो छँदा उनलाई के लाग्थ्यो भने, ‘ड्याडीले मलाई ख्याल गरेनन् । घरमा मसँग खेलेनन्, वात मारेनन् । अभिभावक दिवसमा पनि आएनन् । शिक्षक दिवसमा पनि आएनन् ।’ किन ? यो प्रश्नको जवाफ आज उनीसँगै छ । ‘फिल्मको सेड्युलमा हुँदा एक दिन बिदा लिन संभव नहुने रहेछ’ दिव्या भन्छिन्, ‘त्यसबेला मलाई ड्याडीले किन समय दिएनन् भनेर बल्ल बुझें ।’
बुवाको यो भनाई उनलाई गुरुमन्त्र झै लाग्छ, łकडा श्रम गर, इमान्दारपूर्वक ।’ उनलाई कहिले काहीँ अल्छी लाग्थ्यो व्यायाम गर्न, जीम धाउन । त्यसबेला बुवा भन्थे, łतिमी पाँच मिनेटको जीम जान अल्छी गर्छौ । पहिले म किर्तिपुरबाट हिँड्दै हिँड्दै एक, डेढ घण्टामा पुतलीसडक पुग्थें । त्यहाँ डान्स स्टुडियोमा गएर दुई–तीन घण्टा अभ्यास गर्थें ।’
फिल्म छायांकनको क्रममा कहिले कहाँ पुग्नुपर्ने, कहिले कहाँ । कहिले लेकको चिसोमा पातलो एकसरो लुगा लगाएर नाच्नुपर्ने, कहिले तराईको रापिलो गर्मीमा घण्टौं उँभिनुपर्ने । फिल्म खेल्नु सोचेजस्तो थिएन । बिहान निद्रा नखुल्दै जर्याकजुरुक उठ्नुपर्ने । हतार–हतार मेकअप गर्नुपर्ने । लुगा लगाउनुपर्ने । ‘राती जति नै चाडो सुतेपनि मलाई बिहान उठ्न गाह्रो हुने’ दिव्या भन्छिन्, ‘प्राय ८–९ बजे मात्र आँखा खुल्छ । तर, सुटिङको बेला ४–५ बजे नै उठिसक्नुपर्ने ।’
यी सबैथोक झेल्न उनी किनपनि तयार छिन् भने फिल्मकै लागि भनेर उनले अमेरिका छाडिन्, प्रतिष्ठित जागिर र राम्रै पारिश्रमिक त्यागिन् । यसको पछाडि उनको रहरले मात्र काम गरेको थिएन । बरु लगाव, दृढ इच्छाशक्ति र जुझारुपनको घनत्व बढी थियो । हरेक कामलाई मनबाटै गर्ने उनको मूल स्वभावले यसमा अरु टेवा दियो ।
त्यसो त जेन जी पुस्ताका यी हिरोइनसँग धेरैकुरा सजिलो छ । प्रविधि, प्रचार, पारिश्रमिक, परिवार । बुमर्स जेनेरेसनबाट सुरु भएको नेपाली हिरोइनको यात्रामा दिव्या तेस्रो पुस्ताकी हुन् । आजभन्दा ६१ बर्षअघि भूवन चन्द हिरोइन बन्दै गर्दा यति सजिलो थिएन ।
उनले एक अर्न्तवार्तामा भनेकी छिन्, ‘हाम्रो पालामा सिनेमा क्षेत्रमा लाग्ने महिलालाई हेय दृष्टिले हेरिन्थ्यो र बिहेवारी गराउनसमेत कठिन हुन्थ्यो । त्यही कारण नाटकहरुमा केटाले नै केटी बन्नुपर्ने हुन्थ्यो ।’
तर, ६ दशकको अवधिमा धेरैकुरा बद्लियो । सामाजिक मनोविज्ञान, कला चेत, सिनेमा बजार । यसले जति रहरलाग्दो अवसर दिलाएको छ, उत्तिकै कठिन प्रतिस्पर्धा पनि । यो पृष्टभूमीमा उनले केवल पुरुष पात्रको हिरोइज्म बढाई–चढाई गर्ने भूमिकामा मात्र आफूलाई खुम्च्याउने छुट छैन । बरु सिङ्गो कथालाई काँधमा बोकेर सिनेमाको गति र दिशा बदल्ने जोडदार अभिभारा उनीमाथि छ ।
फोटो–भिडियो : शंकर गिरी
प्रतिक्रिया 4