
२७ पुस, काठमाडौं । भेनेजुयलाको राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गर्न सक्ने गरी सूचना दिनेलाई अमेरिकाले साढे २ करोड डलर पुरस्कार दिने घोषणा गरेको छ ।
गत शुक्रबार मदुरोले तेस्रो कार्यकालका लागि भेनेजुयलाको राष्ट्रपति पदको शपथ ग्रहण गरेका थिए । भेनेजुयलामा राष्ट्रपतिको कार्यकाल ६ वर्षको छ ।
उनले शपथ ग्रहण गरेकै दिन अमेरिकाले अमेरिकाले उनलाई पक्राउ गर्न सक्ने गरी सूचना दिनेलाई पुरस्कार रकम घोषणा गरेको थियो ।
मदुरो र उनको सरकारका वरिष्ठ अधिकारीहरुले अमेरिकामा लागुऔषध कोकिन आपूर्ति गरेको आरोप अमेरिकाको छ । यद्यपि मदुरोले त्यसको खण्डन गर्दै आएका छन् । उनले अमेरिकाको आरोपलाई साम्राज्यवादी भनेर टिप्पणी गरेका छन् ।
अमेरिकाले राष्ट्रपति मदुरो, मन्त्री र सरकारका अन्य वरिष्ठ अधिकारीहरुलाई पक्राउ गर्नेलाई इनाम घोषणा गरेको हो । बीबीसीका अनुसार अमेरिकाले पुरस्कार रकम पहिलेको तुलनामा बढाएको पनि छ ।
अमेरिकाले भेनेजुयलाका राष्ट्रपति मदुरो, आन्तरिक मामिला मन्त्री दियोस्तादो कबेलो, रक्षामन्त्री भ्लादिमिर पद्रिनो लगायतविरुद्ध इनाम घोषणा गरेको छ ।
गत जुलाई २८ मा निकोलस मदुरो राष्ट्रपतिमा निर्वाचित भएको घोषणा हुँदा अन्तर्राष्ट्रिय समुदायले विरोध गरेका थिए । ब्राजिल, कोलम्बिया, अमेरिका, बेलायत, युरोपेली संघ लगायतले विरोध गरेका थिए । ईयू र बेलायतले भेनेजुयलाका न्यायाधीश र सैनिक अधिकारीहरुसहित १५ जनालाई प्रतिबन्ध घोषणा गरेको छ ।
अमेरिकाले पनि भेनेजुयलामा तेल आपूर्तिमा प्रतिबन्ध लगाएको थियो । तर मदुरोले देशमा स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउने बताएपछि प्रतिबन्ध केही खुकुलो बनाइएको थियो ।
सोही प्रतिबद्धता अनुुसार गत जुलाईमा भएको राष्ट्रपति निर्वाचनमा पुनः मदुरो नै चुनिए । तर विपक्षी दलहरुले परिणाम अस्वीकार गरे । अमेरिकाले पनि परिणाम स्वीकार गरेन । सोही विषयलाई लिएर आन्दोलन चर्किएपछि ७५ वर्षीय एडमुण्डो गन्जालिज देश छाडेर स्पेनमा शरण लिएका थिए ।
आफ्नो पक्षमा समर्थन जुटाउन गन्जालिज अमेरिका पुगेका थिए । मदुरो नेतृत्वको सरकारले भने उनलाई पक्राउ गर्न सघाउनेलाई १ लाख डलर पुरस्कार घोषणा गरेको छ ।
विरोधका बीच मदुरोले शुक्रबार राष्ट्रपति पदको शपथग्रहण गर्दै देशमा शान्ति, सुव्यवस्था र समृद्धि ल्याउने बाचा गरेका छन् ।
प्रतिक्रिया 4