
सम्पत्ति शुद्धीकरणको मामिलामा नेपालको कामकारबाहीलाई फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को एसिया प्यासिफिक ग्रुप (एपीजी) ले निगरानी गर्छ । एफएटीएफको नौ वटा समूहमध्ये एपीजी एउटा हो र हामी त्यसै अन्तर्गत छौं । उसले नै नेपालको मूल्यांकन (रेटिङ) गरिरहेको हुन्छ ।
सम्पत्ति शुद्धीकरण मामिलामा नेपालको अवस्थाबारे अहिले भइरहेको मूल्यांकन तेस्रो पटककै सिलसिला हो । यसभन्दा अगाडि सन् २००५ र २०१० मा दुईपटक नेपालको पारस्परिक मूल्यांकन भइसकेको हो । सन् २०२१ मा नेपालको तेस्रो पारस्परिक मूल्यांकन भएको हो । २०२३ मा उनीहरूले प्रतिवेदन नै सार्वजनिक गरेका थिए ।
सन् २०१० मा दोस्रो पारस्परिक मूल्यांकनपछि नेपाल जोखिमपूर्ण मुलुक (गे्र लिस्ट) मा परेको हो । एसिया प्यासिफिक ग्रुप (एपीजी) ले दिएका सुझाव कार्यान्वयन गरेपछि त्यतिबेला नेपाल बल्लतल्ल ग्रे लिस्टबाट बाहिर निस्किएको हो ।
महामारी लगायत कारणले तेस्रो मूल्यांकनको मिति धकेलिएको थियो । दुई वर्षयता त्यो पनि सम्पन्न भएको छ । उसले मूल्यांकन गर्ने दुई वटा आधार हुन्छन् । एउटा टेक्निकल कम्प्लायन्स (प्राविधिक परिपालना) रेटिङ हुन्छ । अर्को इफेक्टिभनेस रेटिङ (प्रभावकारिता मूल्यांकन) हुन्छ । यी दुई रेटिङका आधारमा कुनै मुलुक जोखिमपूर्ण सूची (ग्रे लिस्ट) मा पर्ने वा नपर्ने निक्र्योल हुन्छ ।
एफएटीएफले ४० वटा रिकमेण्डेसन (मापदण्ड) जारी गरेको छ, त्यसका आधारमा टेक्निकल कम्प्लाइन्सेज (प्राविधिक परीक्षण) हुन्छ । ४० वटा मापदण्डमध्ये नेपालले ५ वटामा मात्रै पूर्ण परिपालना गरेको छ । १६ वटा मापदण्डहरू अधिकतम रूपमा परिपालना भएको छ, पूर्ण रूपमा होइन ।
ती बाहेक अरू १६ वटा र थप ३ वटा गरी १९ वटा मापदण्डको नेपालमा पालना हुनै सकेको छैन । एपीजीले दिएको सुझावका आधारमा नेपालले थुप्रै अवस्था सुधार गरिरहेको छ । केही नेपाल ऐन संशोधन मार्फत कानून सुधार गरेको छ । सम्पत्ति शुद्धीकरणको विषय जोडिने दुई दर्जनजति कानून संशोधन भएका छन् । त्यसलाई राम्रै प्रयास मान्नुपर्छ ।
संरचनामा सुधार देखिन्छ
४० वटा मापदण्डमध्ये धेरै परिपालना गर्ने प्रयासमा सरकारले एक वर्षयता काम गरिरहेको छ । सम्पत्ति शुद्धीकरणका क्रियाकलाप रोक्ने संरचना बनाउने प्रयास भइरहेका छन् । प्राविधिक परिपालना मार्फत सम्पत्ति शुद्धीकरणका क्रियाकलाप हुन नदिने संरचना बनाउने हो, संरचना निर्माणका सवालमा त्यति धेरै समस्या छैन ।
एक अर्को निकायबीच समन्वय, संस्थागत संरचना र सुधार, कानून परिपालना गर्ने निकायहरूको विकासको चाँजोपाँजो भएको छ । जुन काम ४० वटा मापदण्डसँग सम्बन्धित छन् । त्यसमा नेपालले विगतको भन्दा केही प्रगति गरेको छ ।
एफएटीएफले प्राविधिक परिपालना (टेक्निकल कम्प्लायन्स) मा भन्दा प्रभावकारिता (इफेक्टिभनेस) मा ज्यादा महत्व दिने गरेको छ । प्रभावकारिता मापन गर्ने ११ वटा मापदण्डलाई उसले तत्काल देखिने परिणाम (इमिडिएट आउटकम) भन्ने गरेको छ । मूल्यांकनका ११ वटा आधारमध्ये नेपालले मध्यमखालको रेटिङ पाएको ४ वटा मापदण्डमा हो । बाँकी ७ वटामा उसले ‘लो रेटिङ’ पाएको हो । यही पाटोमा नेपालले असफलता बेहोरिरहेको हो ।
अपराधबाट आर्जित सम्पत्ति र त्यसको ओसारपसार रोक्न जुन संरचना तयार भएको छ, त्यसको प्रभावकारी कार्यान्वयनमा समस्या छ । निगरानी गर्नेहरूले ‘संरचना बनाउने, तर कार्यान्वयन नगर्ने’ हाम्रो प्रवृत्तिमा समस्या देखेका हुन् । देखाउने संरचना बने, तर संरचनाहरू सक्रिय भएर कार्यान्वयन हुन नसकेकोमा एपीजी बेखुस भएको देखिन्छ ।
त्यसैले गर्दा नेपालको अवस्था सुधार भएको छैन भनेर भनिरहेको हो । गैरकानूनी रूपमा आर्जन भएको कति सम्पत्ति जफत भयो ? कति मुद्दा चले ? व्यक्तिको पहिचान गर्ने माध्यम (राष्ट्रिय परिचयपत्र) कार्यान्वयन भयो कि भएन ? भनेर उसले हेरिरहेको छ ।
‘प्रतिबद्धताको अभाव’
कुनै पनि सेवाको व्यक्ति पहिचानका लागि राष्ट्रिय परिचयपत्र आवश्यक छ । राष्ट्रिय परिचयपत्रको अभावमा बैंकहरूले लिने व्यक्ति पहिचान गर्ने संयन्त्र (नो योर कस्टमर–केवाईसी) प्रभावहीन भएको छ । राष्ट्रिय परिचयपत्र विनाको केवाईसी त्यत्ति प्रभावकारिता हुँदैन भन्ने मान्यता छ ।
हाम्रा छिमेकी मुलुकहरूले विभिन्न नाममा राष्ट्रिय परिचयपत्र शुरू गरिसकेका छन् । बायोमेट्रिक सहितको युनिक नम्बरयुक्त राष्ट्रिय परिचयपत्र चाहिन्छ । व्यक्ति पहिचानका लागि आवश्यक राष्ट्रिय परिचयपत्रलाई सरकारले प्रभावकारी रूपमा तयार र वितरण गर्न सकेको छैन । विवरण संकलन गरेको वर्षौंसम्म परिचयपत्र तयार हुनसकेको छैन ।
वित्तीय संस्थाका साथसाथै तोकिएका गैरवित्तीय संस्थाका सञ्चालकहरूको निगरानी अर्को महत्वपूर्ण विषय हो । सतहमा एउटा देखिएपछि अर्कैले ती संस्था सञ्चालन गरिरहेका छन् कि भन्ने प्रश्न पनि छ । संदिग्ध व्यक्तिहरूले त्यस्ता संस्था चलाइरहेका पनि हुनसक्छन् ।
जग्गाको व्यापार कसले गरिरहेको छ ? सुनचाँदी व्यवसायमा कसको लगानी छ ? लेखा राख्ने फर्महरूले प्रभावकारी काम गरिरहेका छन् कि छैनन् ? कस्ता व्यक्तिले ती काम गरिरहेका छन् ? सही ढंगले नोटरीको काम भइरहेको छ कि छैन ?
यी पेशाको कामकारबाहीको पहिचान र नियमन आवश्यक छ । भन्सार एजेन्टहरूले काम गरिरहेका हुन्छन् । मापदण्ड अनुसार काम भए/नभए बारे यिनीहरूको परीक्षण भएको छ कि छैन ? मापदण्ड नपुगेकाहरूले काम गर्न नपाएका पनि त हुन सक्छन् ।
अर्थतन्त्र जसरी चलिरहेको छ, त्यसमाथि प्रभावकारी निगरानी र अनुगमन हुनुपर्यो भन्ने एपीजीको मान्यता हो र उसले त्यही सुझाव दिंदै आइरहेको छ । संकटापन्न वित्तीय संस्थाको पहिचान र शंकास्पद गैरव्यापारिक संस्थाहरूको निगरानीको विषय हुनुपर्छ । राजनीतिक व्यक्तिहरूको आर्थिक क्रियाकलापका साथै अन्तर्राष्ट्रिय व्यापारहरूमा न्यून तथा अधिक बिजकीकरणका समस्याहरू पहिचान हुनुपर्छ ।
गैरनाफामूलक संस्थाको कामकारबाहीमाथि पनि निगरानी हुनुपर्छ । तिनीहरूको कारोबार वास्तविक हो कि होइन ? गैरनाफामूलक आवरणमा अपराधको धन प्रयोग भएको त छैन भन्ने विषयमा उसले चासो देखाइरहेको छ । बैंकहरूमाथि त राष्ट्र बैंकले निगरानी गरिरहेको होला । तर सहकारीको के अवस्था छ ?
भर्खरै सहकारी प्राधिकरणको कुरा आएको छ । जग्गा कारोबारमा कस्ता व्यवसायीहरू छन् ? कानून कार्यान्वयन गर्ने निकायहरूको सक्रियता कस्तो छ ? अख्तियार, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग लगायतको कामकारबाही कस्तो छ ? उनीहरूको प्रगति विवरण के छ ? उनीहरूले यस्ता विषय हेर्न खोज्छन् ।
उच्च जोखिमयुक्त कसुरहरूको अवस्थाबारे पनि उनीहरूले हेक्का राखेका हुन्छन् । उदाहरणका लागि भ्रष्टाचार नियन्त्रण भएको छ कि छैन ? कुनै काम गर्नुपर्यो भने घूस विना सम्पन्न हुन्छ कि हुँदैन ? मानव बेचबिखन नियन्त्रणमा छ कि छैन ? करछली, लागूऔषध, वातावरणीय अपराधका विषय पनि निगरानीमा परेका हुन्छन् । हुण्डीदेखि प्राकृतिक स्रोत–साधनको दोहन अनि वन्यजन्तु सम्बन्धी अपराधको अवस्थाबारे पनि उनीहरूले मूल्यांकन गर्छन् ।
बज्रपात हुनसक्छ
माथि उल्लिखित विषयमा सुधार गर्नुपर्ने भनेर उनीहरूले सुझाव दिइरहेका छन् । तिनै विषयको मूल्यांकनका आधारमा उसले नेपाललाई जोखिमपूर्ण मुलुकको सूची (ग्रे लिस्ट) मा राख्ने कि नराख्ने भन्ने तय गर्छ । उसले नेपाललाई एक वर्षसम्म अब्जर्भेसनको समय दिएको थियो । आगामी फेब्रुअरीमा त्यो अन्तिम चरणमा पुग्छ । फेब्रुअरीपछि के हुन्छ भन्ने चिन्ता र त्रास सरकार लगायत सरोकारवालाहरूमा बाँकी नै छ ।
जुनसुकै सरकार भए पनि ग्रे लिस्टमा नपरे हुन्थ्यो भन्ने चिन्ता रहन्छ । आफू सरकारमा भएका बेलामा ग्रे लिस्टमा परेको कसैले पनि रुचाउँदैन । सरकार पनि पछिल्लो समयमा चिन्तित नै देखिन्छ । सहकारी अध्यादेश लगायत प्रयासहरू त्यसैको कारण हुनसक्छन् । यी प्रयास वास्तविक हुन् या देखावटी ? उसले निगरानी गरिरहेको हुन्छ ।
एक वर्षयता नेपालले सम्पत्ति शुद्धीकरणमा सुधारका काम गरिरहेको छ । ती वास्तविक हुन् र तिनले निरन्तरता पाउँछ भन्ने उनीहरू विश्वस्त हुन खोज्छन् । यदि हामीले उनीहरूलाई विश्वासमा लिने प्रयास गर्यौं र उनीहरूले पत्याए भने निगरानीको अवधि बढाएर ग्रे लिस्टमा नराख्न सक्छन् ।
उसले समय दिंदा पनि नतिजा आएन, नेपाल जोखिममा छ भन्ने निष्कर्ष निकाल्यो भने नेपाल दोस्रोपटक ग्रे लिस्टमा पर्ने अवस्था रहन्छ । कम विकसित मुलुकबाट माथि निस्कन खोजेको र केही प्रगति गरौं भन्ने चाहना राख्ने नेपाल जस्तो मुलुकका लागि यो ‘बज्रपात’ जस्तै हो ।
घरभान्सामा आइपुग्ने असर
नेपाल ग्रे लिस्टमा पर्यो भने एपीजीको उच्च निगरानीमा रहन्छ । अन्तर्राष्ट्रियस्तरमा हुने कारोबारमा त्यसको सोझो प्रभाव पर्छ । विदेशमा रहेका नेपालीले रेमिट्यान्स पठाउने शुल्क बढ्न सक्छ । अन्तर्राष्ट्रिय व्यापार प्रभावित हुनसक्छ ।
पहिले अन्तर्राष्ट्रिय कारोबार हेर्ने नेपालमा थुप्रै बैंक थिए, सबैले छाड्दै गए । अहिले नेपालबाट स्ट्याण्डर्ड चार्टर्ड बैंकले मात्रै काम गरिरहेको छ । त्यसबेला हामीले (लेटर अफ क्रेडिट) एलसी खोल्ने कुरामा अन्तर्राष्ट्रियस्तरका कतिपय एजेन्सीले विश्वास नमान्न सक्छन् ।
हाम्रो अन्तर्राष्ट्रिय व्यापार महँगो हुन सक्छ । नेपालीले विदेशका राम्रा विश्वविद्यालयहरूमा छात्रवृत्ति पाइरहेका हुन्छन्, अब त्यो अवसर घट्न सक्छ । निम्न मध्यमवर्गका अनि विपन्न नेपालीले जेहेन्दार भएर विदेशका राम्रा शैक्षिक निकायमा छात्रवृत्तिको अवसर पाइरहेका छन्, अब त्यो सम्भावना घट्न सक्छ । उनीहरूले ग्रे लिस्टमा परेको मुलुकको नागरिकलाई किन सुविधा दिने ? भनेर प्रश्न उठाउन सक्छन् । जसको प्रत्यक्ष असर आम नागरिकमा पुग्छ ।
दातृ निकायहरूले दिने अनुदान यसै पनि घटिरहेको छ । अबका दिनमा यस्तो मुलुकलाई किन अनुदान दिने भन्ने तर्क आउन सक्छ । सहुलियतपूर्ण कर्जा ल्याउन समस्या हुनसक्छ । अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक वा एसियाली विकास बैंकका मञ्चहरूमा नेपाली प्रतिनिधित्वले सामना गर्ने चुनौती थपिन सक्छन् ।
यसरी सहुलियतपूर्ण कर्जादेखि अरू व्यवहार र सहयोगका मञ्चमा पुग्दा हामी हिजोको जस्तो ‘पोजिसन’मा हुँदैनौं, आत्मविश्वास घट्छ । सरकारको प्रतिनिधिहरूको मनोबल घटेको हुन्छ, उनीहरूले पनि हामीलाई कर्के नजरले हेर्छन् । नहेरे पनि हामी मनोवैज्ञानिक रूपमा लघुताभाषमा पुग्छौं । विभिन्न अन्तर्राष्ट्रिय वार्ता, छलफल आदि मञ्चमा जाँदा नेपालको सौदाबाजीको शक्ति कमजोर हुन्छ ।
नेपालमा यसैपनि वैदेशिक लगानी घटिरहेको छ, जोखिमपूर्ण मुलुकको सूचीमा परेमा वैदेशिक लगानी अझै घट्न सक्छ । लगानीकर्ताहरूमा ‘यस्तो मुलुकमा किन जाने ?’ भन्ने भावना बढ्न सक्छ । कतिपय लगानीकर्ताहरू नेपाल आउनुअघि सबै विवरण हेर्न सक्दैनन् । निश्चित सूचकहरू हेरेर आफ्नो धारणा निर्माण गर्छन् । सतहबाट हेर्दा नै ‘ग्रे लिस्ट’मा परेको देखेपछि हच्किने र लगानी नगर्ने निर्णय गर्ने अवस्था हुन्छ ।
नेपाललाई जोखिमपूर्ण मुलुकको सूचीमा राखेमा एपीजीले निश्चित सुझावहरू अघि सारेर कार्यान्वयनको समय दिनसक्छ, यस्तो अवस्थामा ग्रे लिस्टबाट बाहिर निस्कन एक/दुई वर्ष लाग्न सक्छ । नेपालको प्रयास कसरी प्रभावकारी र नतिजामुखी हुन्छ, त्यसका आधारमा बाँकी तय हुन्छ ।
तोकिएको समयमा सुझाव कार्यान्वयन नभए नेपाल कालोसूचीमा पर्न सक्छ । त्यो अवस्था झनै घातक हुनसक्छ । सुझावहरू तत्काल कार्यान्वयन गरेर ‘त्रासै त्रासमा बाँच्नुपर्ने’ अवस्थामा नपुग्नु नै राम्रो ।
(नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक थापासँग अनलाइनखबरकर्मी कृष्ण ज्ञवालीले गरेको कुराकानीमा आधारित ।)
प्रतिक्रिया 4