+
+
Shares
अनुभूति :

त्रिशूली र बूढीगण्डकीको छेउमा बागमतीको शब्दयात्रा !

बागमती महोत्सवको सन्दर्भ धादिङको मात्रै थिएन, यो बागमतीको सन्दर्भ थियो । १३ जिल्लाको सन्दर्भ थियो । नाम र आयोजना बागमती भए पनि यो साहित्यको उत्सव थियो । देशकै उत्सव थियो र सबैको महोत्सव थियो ।

डा. नवराज लम्साल डा. नवराज लम्साल
२०८१ फागुन २१ गते ८:१४

उद्घोषण गरिरहेका पत्रकार राजाराम शर्माले सहभागीको नाम लिएर मञ्चमा बोलाए- रामकुमारी झाँक्री, डा. रामकुमार अधिकारी, कैलाश कोइराला र दीपक विश्वकर्मा । त्यसपछि उनी केही अल्मलिए र भने- यो सेसनको सहजीकरण कवि नवराज लम्सालले गर्नुहुनेछ !

….

खासमा यो सेसन पत्रकार सुदर्शन खतिवडाको भागमा थियो । केही पारिवारिक र पेशागत जटिलता/सीमाका कारण उनी उपस्थित हुन सकेनन् र उनले बेलैमा सूचना गरे । विकल्पमा सहजकर्ता खोज्ने भन्दाभन्दै केके भयो, अन्तिम चरणमा फुत्त मेरो भागमा आइपरेछ यो सेसन ।

दर्शक दीर्घामा ताली बजिसकेको थियो । मञ्चमा जानुको विकल्प थिएन । म हाँस्दै मञ्चतिर लागेँ । मेरो आँखा बागमती साहित्य महोत्सव व्यवस्थापन तथा सहजीकरण समितिका संयोजक विष्णुप्रसाद आचार्यसँग ठोकियो ।

उनी सेतो दाह्री मुसारेर मुस्कुराए । दाहिने हातको बूढी औंला ठाडो पारे र नजिकै डा. नवीनबन्धु पहाडी महोत्सवभरि नदेखिएको गहिरो मुस्कानमा देखिए । उनीहरू खुशी भएको बुझ्न कठिन थिएन । अब दर्शक दीर्घा खुशी पार्ने पालो मेरो थियो ।

‘नेताहरू पढ्दैनन् । उनीहरूको ज्ञानको क्षितिज कमजोर छ । समाजको गहिरो अध्ययन गर्दैनन् । पठन संस्कृति खण्डित छ । दलहरू ढुङ्गा हान्ने कार्यकर्ता उत्पादन गर्छन्, तर पढ्ने कार्यकर्ता उत्पादन गर्दैनन्’ भन्ने आरोप लागिरहेको बेला पठन संस्कृति, भविष्यको आशा र समयबोधको जगमा उभिएर उनीहरूसँग विशेष संवाद गर्नु थियो- भविष्य द्रष्टाहरूमा अध्ययनशीलताको सवाल ।

‘कहिलेकाहीँ दाइको अंश भाइको भागमा पर्छ, कहिलेकाहीँ भाइको अंश दाइको भागमा पर्छ । मैले बोल्नुपर्ने जति हिजै बोलिसकेको हुँ, भन्नुपर्ने कुरा पनि हिजै भनिसकेको हुँ तर फेरि आएँ । सुदर्शन तिक्ष्ण लेखन कला र शालीन स्वभावका पत्रकार भाइ । यो सेसन उनले सञ्चालन गर्नुपर्ने थियो तर उनको अंश मेरो भागमा पर्‍यो ।’

यति के भनेको थिएँ उनलाई चिन्नेहरूले गजबले ताली बजाए । त्यही ताली टेकेर संवाद सुरु गरेँ । साहित्य महोत्सवको यो प्राङ्गणमा नेताहरूलाई राजनीतिक तुष्टि मेट्न नदिनु र विषयको मूलमा बाँधेर राख्नु मेरो कर्तव्य थियो र बीचबीचमा केही न केही सुनाएर नेपाली साहित्य जगत् राजनीतिलाई नजिकबाट हेरिरहेछ, खबरदार भनेर सन्देश पनि दिनु थियो तर शालीन शैलीमा, मिठो भाषामा ।

…..

नेपाली तारा बनेको सन्तोष लामाको घर पनि हो  धादिङ । वर्तमानमा मौलिक रचना, काव्य लेखन र भाषाको क्षेत्रमा धादिङले केही गरिरहेछ, गर्न खोजिरहेछ । यही बिरासतमा ठोकिन आइपुग्यो, बागमती साहित्य महोत्सव । धादिङको माटोले धेरै स्रष्टाहरूलाई थोरै समय भए पनि आफ्नो अँगालोमा राख्न पायो

मध्य फागुन । महोत्सवको दुई दिन १६ र १७ गते तर यो सेसन १७ गतेको । बिहान परेको सिमसिम पानीले पखालेर सफा पारेको पारिलो परिवेश । बागमती प्रदेश सरकार, संस्कृति तथा पर्यटन मन्त्रालयका तर्फबाट आयोजना भएको बागमती साहित्य महोत्सव । नीलकण्ठ नगरपालिकासमेतको सहयोगमा नीलकण्ठ प्रज्ञा प्रतिष्ठान यसको सहआयोजक । साथमा अरू दुई दर्जन विभिन्न संघसंस्थाहरू पनि थिए । स्वयंसेवकको रूपमा, सहभागीका रूपमा वा केवल दर्शककै रूपमा सही तन्नेरी पुस्ताको बेजोड उपस्थिति ।

धादिङमा मात्र होइन, यतिखेर देशभरि साहित्यिक महोत्सवहरू चलिरहेछन् । लेखन र पठनका विषयमा बहसहरू भइरहेछन् । कविता, गजल र गीतहरू सुन्ने सुनाउने क्रम जारी छ । यसैसँग केही प्रश्नहरू पनि उठेका छन् ।

महोत्सवहरूमा स्थानीय सहभागिता कति छ ? जसले पढ्नुपर्ने हो, जसले सुन्नुपर्ने हो, तिनीहरूसम्म महोत्सवको सन्देश कति पुग्यो ? कति पुगेन ? विज्ञका रूपमा सहभागी कोको छन् ? कस्ता छन् ? उपस्थितिको संख्या कति छ ? स्थानीय पाठक तथा स्रोता-दर्शकले कति अपनत्व लिएका छन् ? बोलेका कुराहरूबाट कति शिक्षित र दीक्षित भएका छन् ? कति बढेको छ पठन संस्कृति ? त्यो त अर्कै खोज र विश्लेषणको एउटा पाटो हो ।

मेला-महोत्सव लहडको विषय हो कि सार्थकताको खोजी ? उद्देश्यको पूर्णता हो कि प्राप्तिका केही चरणहरू ? जमघटको मेलो हो कि जागरणको जग ? दिलको फैलावट फैलिरहेछ कि संकुचनको घेरामा बाँधिइरहेछन् मान्छेहरू ? किन उस्तै-उस्तै सुनिन्छन् शीर्षकहरू ? किन उही उही देखिन्छन् मान्छेहरू ? र, किन उस्तै-उस्तै निकालिन्छ निष्कर्ष ? सडकमा प्रश्न यसरी पनि उठ्छन्, उठेका छन् ।

बागमती साहित्य महोत्सव व्यवस्थापन तथा सहजीकरण समितिका संयोजक विष्णुप्रसाद आचार्य, डा. नवीनवन्धु पहाडीसहित केही साथीहरू छलफलका लागि काठमाडौँ आइपुगेका थिए । राजु झल्लुप्रसाद, पुरु लम्सालसहित भएर राम्रै छलफल पनि चलेकै थियो । मैले माथिका सन्दर्भहरू प्रेमपूर्वक सुनाएको थिएँ ।

स्रोत, साधन, समय व्यवस्थापन र स्थानीय अनुकूलन सबैलाई हेरेर उनीहरूले कार्यक्रम तय गरे । म र म जस्ताहरूले दिने त सुझाव न हो । सुझावहरू सबै कार्यान्वयन गर्न कठिन छ । सबै सुझाव स्वीकार गर्न उनीहरूको सीमाले पनि दिँदैनथ्यो सायद ।

अनेकन अप्ठ्यारा र कठिनताका बीच पनि उनीहरू कम्मर कसेर उभिएका थिए । सहभागीहरू भन्दै थिए, महोत्सव साँच्चै महोत्सव जस्तै भयो । बागमतीकै कुरा अलि पछि राख्ने हो भने धादिङका लागि त यो भव्य अवसर हो र भव्य भयो पनि ।

 …..

महोत्सव प्रारम्भमा १६ गतेको झाँकी । पुछार बजारदेखि सिरान बजारसम्मको उत्साहपूर्ण यात्रा । भजन, बाजागागा र नाचगानसहितको यात्रा । जनस्तरको उपस्थिति र स्थानीयहरूले ग्रहण गरेको अपनत्व धादिङका लागि अपूर्व थियो । धादिङ २५ जना साहित्यकार भए भने २६ वटा साहित्यिक गुट हुने ठाउँ हो तर यसपटक त्यस्तो भएन, देखिएन । सबै उभिए, सँगै उभिए ।

मैले २६ भनेको गुट नहुनेको लागि हो । त्यहाँ गुट नभएर एक्लै उभिने पनि कोही कोही छ । यसपटक गज्जब भयो, यो महोत्सवले त्यो तुष र तिक्तता मेट्यो । सबै सँगै उभिए । एकैएकै हारमा उभिए । महोत्सवलाई महोत्सव बनाउन सबै खटे र सफल पारे । धादिङका लागि यो ठूलो कुरा हो । यसको दूरगामी र सकारात्मक असर पर्नेछ । राम्रो हुनेछ । पक्कै हुनेछ ।

अर्को रोचक कुरा त उद्घाटन समारोहमा भएजस्तै भव्य उपस्थिति समापनसम्म रह्यो । कुनै सेसनमा सहभागिता कम भएन । यो प्रेम कसरी जाग्यो होला ? नजिकै भएको स्टलमा किताब कति बिके ? त्यहाँ उपस्थितहरूले खोज्ने वा खोजेका पुस्तक पुग्न सके सकेनन् ? त्यो बेग्लै पाटो हो तर सबै वक्ताका कुरा प्रेमपूर्वक, ध्यानपूर्वक सुन्ने जमात कम भएन ।

स्थानीय विद्यालयहरूले आफ्ना विद्यार्थीहरूका कलाहरूको संयोजन गरे । शिक्षकहरूले ज्ञान प्राप्तिको अवसरको रूपमा यसलाई सदुपयोग गरे । भरसक साहित्यका सबै विधालाई जोड्ने कोसिस गरे । लेखनमा विषय चयनको निफन नाफन गरियो । भाषामा समसामयिकताको प्रश्नमाथि बहस चल्यो । नेपालमा नारी लेखनको अनुभव र अनुभूति बाँडियो ।

बागमती सभ्यता र सभ्यताले दिएको वैभवको समीक्षा भयो । प्रसिद्ध कलाकार हरिप्रसाद शर्माका चित्रहरूमा रैथाने संस्कृतिको प्रतिबिम्व खोजियो । किनारको साहित्य यात्रामा कति घाम छ, कति छाया छ भनेर लेखाजोखा गरियो । समालोचनाको वर्तमान अवस्था आशाप्रद छ कि आशयप्रद छ भनेर समालोचनामाथिकै समालोचना गरियो र रेडियो संवादमा स्रष्टाहरू निकै प्रेमिल सुनिए ।

बागमती साहित्य महोत्सव नयाँ यात्राका लागि नयाँ बाटाको प्रस्थान पनि हो । हिँड्न त अझै धेरै बाँकी छ । यात्रा शुरु भएपछि गन्तव्य नभेटिएला र ?

सिर्जनात्मक लेखनको प्रशिक्षण चल्यो । चुनिएका कवि र गजलकारहरूको प्रस्तुति दमदार रह्यो । काव्य सन्ध्या र गजल साँझ निकै उम्दा थिए । खासमा कविताको तुलनामा यसपटक गजल बेजोड सुनिए ।

दोस्रो दिनको सत्र थियो, नेताहरूसँगको बहस । यो बहस पर्खिएर बसिरहेका थिए, दर्शक दीर्घा । रामकुमारी झाँक्रीबाहेक बाँकी तीनजना बागमती प्रदेशकै प्रतिनिधित्व गर्थे । लामो समयदेखि राजनीतिमा रहेका कैलाश कोइराला चितवनबाट थिए । उनका दुई उपन्यास प्रकाशित छन्, राजव्युह र शास्त्र !

डा. रामकुमार अधिकारी धादिङबाटै बागमती सरकारका पूर्व राज्यमन्त्री हुन् । लामो समय शिक्षण पेशामा रहेका अधिकारी निकै अध्ययनशील नेता मानिन्छन् । दीपक विश्वकर्मा नीलकण्ठ नगरपालिकाका उपमेयर र दलित जनप्रतिनिधिहरूको एउटा राष्ट्रिय सञ्जालको संयोजक पनि हुन् । उनी निकै अध्ययनशील र शालिन छन् ।

कोइरालाले आफू इन्द्रीयहरू पढिरहेको बताए, उनी दार्शनिक चेतमा डुबिसकेका थिए । झाँक्रीले केही दार्शनिक पुस्तकहरूको चर्चा गरिन् । राजनीतिमा देखिएको उनको ‘पोस्चर’ भन्दा उनले वर्णन गरेका पुस्तक गहिरा थिए । अधिकारीले विकसित, विकासशील र अविकसित देशका विकासका सूचकाङ्कहरू र नेपाली समाजमा अहिले आएको परिवर्तनको मापकहरूमाथि अध्ययन गरिरहेको बताए । उनी विकास अवधारणा केन्द्रित थिए ।

विश्वकर्माले मानव मर्यादा, मानव मूल्य र जागरणको सन्दर्भमा आफ्ना अनुभवहरू सुनाए । उनको पठन रुचिका पुस्तकको सूची लामै थियो । अपेक्षाकृत रूपमा समाज रूपान्तरणको विषय केवल बहसको विषय मात्रै भएको र रूपान्तरण राजनीतिक दलको भोट बैंक जस्तो भएको उनको ठम्याइ थियो । उनी समाजको अन्तरविरोधभित्र पसेर तर्क गरिरहेका थिए । दश जना दर्शकले बेजोड प्रश्न गरे । यसरी प्रश्न गर्नेमा युवा बढी थिए र सबै सहभागीले जमेर उत्तर दिए ।

….

धादिङ मध्यपहाडी जिल्लाहरूमध्ये एक हो । यो महाभारत पर्वत श्रृङ्खलादेखि हिमालसम्म फैलिएको छ । धादिङ गणेश हिमालको काखमा अवस्थित छ । आँखु, थोपल र त्रिशूली धादिङका मूल नदी हुन् ।

नदी जस्तै कञ्चन छन् रोधी, घाटु, सोरठी, तामाङ सेलो, म्हेन्दो माया, बालन, भजन, ख्याली र अन्य । बाहुन बाजा, मगरबाजा नामले परिचित नौमती बाजाका लागि पनि धादिङ प्रसिद्ध छ । प्रकृति संरक्षण र विशेषतः गिद्ध संरक्षणका लागि विशेष अभियानहरू सञ्चालित छन् ।

नेपाली साहित्यको प्राथमिक कालका दैवज्ञकेशरी अर्याल, विद्यारण्यकेशरी अर्याल धादिङका साहित्यिक सिरानी हुन् । त्यसपछि माध्यमिककालीन स्रष्टाहरूको सूची निकै लामो छ । माध्यमिक कालका शीर्ष व्यक्तित्व मोतिराम भट्टसँग सहकार्य गरेका दानराज, देवराज हुन् वा व्यङ्ग्य लेखनका उच्च व्यक्तित्व केशवराज पिँडालीदेखि जनकवि केवलपुरे किसान, संस्कृतिकर्मी सुवि शाहसम्मका अनेक स्रष्टाको अक्षर, रङ, लय र तालले सिगारिएको भूमि हो यो ।

सङ्गीतको राष्ट्रिय प्रतियोगितामा कुनै दिन नेपाली तारा बनेको सन्तोष लामाको घर पनि हो । वर्तमानमा मौलिक रचना, काव्य लेखन र भाषाको क्षेत्रमा धादिङले केही गरिरहेछ, गर्न खोजिरहेछ । यही बिरासतमा ठोकिन आइपुग्यो, बागमती साहित्य महोत्सव । यो अग्रज स्रष्टाहरूको आशीर्वादको प्रतिफल पनि होला सायद । धादिङको माटोले धेरै स्रष्टाहरूलाई थोरै समय भए पनि आफ्नो अँगालोमा राख्न पायो ।

बागमती महोत्सवको सन्दर्भ धादिङको मात्रै थिएन, यो बागमतीको सन्दर्भ थियो । १३ जिल्लाको सन्दर्भ थियो । नाम र आयोजना बागमती भए पनि यो साहित्यको उत्सव थियो । देशकै उत्सव थियो र सबैको महोत्सव थियो । आयोजकहरू भन्दै थिए, छुट्नु नपर्ने नामहरू पनि छुटे ।

उपस्थित भएकाहरूले जिल्लाको प्रतिनिधित्व त गरे नै गरे तर उनीहरू राष्ट्रिय स्तरका प्रतिभा थिए । कुनै न कुनै कोणबाट देशलाई दिशा दिइरहेका कलमहरूको उपस्थिति थियो र सुकिलो सन्दर्भको फराकिलो आँगन थियो यो महोत्सव ।

सरकारी पहलमा यति गम्भीर कार्यक्रम हुनु र यसमा पनि एक सरकारी कर्मचारी विष्णुप्रसाद आचार्यले अरू विद्वत्‌जनलाई साथमा लिएर आयोजनाको संयोजन गर्नु आफैँमा विशिष्ट परिस्थिति हो । नीलकण्ठ नगरपालिकाले बेलैमा नीलकण्ठ प्रज्ञा प्रतिष्ठान बनाउनु र प्रतिष्ठान आफैँ संलग्न भएर आयोजनामा सक्रियता देखाउनु यो केवल संयोग मात्र होइन । नयाँ यात्राका लागि नयाँ बाटाको प्रस्थान पनि हो यो । हिँड्न त अझै धेरै बाँकी छ । यात्रा शुरु भएपछि गन्तव्य नभेटिएला र ?

लेखक
डा. नवराज लम्साल

साहित्यमा मदन पुरस्कार विजेता साहित्यकार लम्साल पूर्व सञ्चारकर्मी पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?