![](https://www.onlinekhabar.com/wp-content/uploads/2024/11/Ganesh-Himal.jpg)
२८ कात्तिक, काठमाडौं । पर्यटन प्रवर्द्धनका लागि भन्दै गणेश हिमाल आधार शिविर जाँदै गरेको सरकारी अधिकारीसहितको टोलीका २ सदस्यहरु बिरामी परेका छन् । धादिङ प्रशासनले उनीहरुलाई हेलिकोप्टरबाट उद्धारको पहल गरे पनि विहीबारको प्रयास असफल भएको छ ।
उनीहरुलाई उद्धार गर्न बुधबार दिउँसो नेपाली सेनाको हेलिकप्टर पठाइए पनि खराब मौसमका कारण अवतरण गर्न नसकी फर्किएको थियो । विहीबार बिहान फेरि उद्धार प्रयासका लागि हेलिकप्टर पठाइने जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।
धादिङ गणेश हिमालको काखमा पर्दछ । डिभिजन वन कार्यालय, रुवीभ्याली गाउँपालिकाका कर्मचारीहरु र केही पत्रकारहरुसहितको टोली पथ प्रदर्शकसहित गणेश हिमालको आधार शिविरतर्फ गएका थिए । तर रुवीभ्याली गाउँपालिका वडा नम्बर ५ स्थित आँखु खोला मुहान नजिक खोंचमा पुग्दा डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णुप्रसाद आचार्य र प्राविधिक सहायक अनुसिया ढुंगानामा श्वासप्रश्वास समस्या देखिएको थियो ।
त्यसको जानकारी पाएपछि उनीहरुलाई उद्धार गर्न जिल्ला प्रशासन कार्यालयले नेपाली सेनाको हेलिकोप्टर पठाएको थियो । तर हेलिकोप्टर ल्याण्ड गर्न नसकेर फर्किएको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिए ।
‘उहाँहरु गणेश हिमाल बेसक्याम्प एरियामा पदयात्रा खोजी गर्दै संरक्षण केन्द्र घोषणा गर्ने योजनाका टेन्ट, भरियासहित जानु भएको थियो,’ प्रमुख जिल्ला अधिकारी घिमिरेले अनलाइनखबरसँग भने, ‘१६ जनाको टोलीमध्ये दुई जना बिरामी पर्नुभएको हो ।’
उनीहरु गणेश हिमालको बेसक्याम्प नपुग्दै बिरामी परेपछि बीचमै रोकिएका छन् । सो ठाउँमा बस्ती नभएको र सञ्चार सम्पर्क पनि स्थापित नभएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।
नेपाली सेनाका प्रवक्ता गौरव कुमार केसीले उद्धारका लागि दुई पटकसम्म हेलिकोप्टर अवतरणको कोसिस गरे पनि खराब मौसमका कारण सफल नभएको जानकारी दिए । विहीबार बिहान पनि हेलीउद्धारको कोसिस गर्ने उनले बताए ।
पर्यापर्यटन प्रवर्द्धन गर्न भन्दै धादिङको रुवी भ्याली गाउँपालिका र डिभिजन वन कार्यालय धादिङको टोली एक सातायता पदयात्रामा छ ।
टोलीमा केही पत्रकारहरु पनि छन् ।
प्रतिक्रिया 4