 
																			के तपाईं बाल्यकालमा स्कुलबाट फर्किने बित्तिकै टेलिभिजन सेट अगाडि बसेर ‘सी.आई.डी.’ हेर्नु हुन्थ्यो ? बिदामा घर बस्दा होस् या मामाघर पुग्दा सोनी टिभी लगाइहाल्नु हुन्थ्यो ? यदि त्यसो गर्नुभएको थियो भने तपाईं जेन–जेड (सन् १९९० देखि २०१० सम्म जन्मिएको) पुस्ताको हुनुहुन्छ ।
क्राइम, सस्पेन्स र थ्रिलर जनराको सी.आई.डी. लाखौं भारतीयसँगै नेपाली नागरिकको पनि प्रिय टेलिभिजन शो थियो । यसका पात्र एसीपी प्रद्युम्न (शिवाजी साटम), सिनियर इन्स्पेक्टर दया (दयानन्द सेट्टी), अभिजित (आदित्य श्रीवास्तव), डा. सालुन्के (नरेन्द्र गुप्ता), इन्स्पेक्टर पूर्भी (अन्सा सैयद), श्रेया (जानवी छेडां), फ्रेडरिक्स (दिनेश फड्निस) लगायत भिन्न किसिममा आ–आफ्नो चरित्रका कारण लोकप्रिय थिए ।
जासुसी टेलिभिजन सिरिजमा उनीहरूको चरित्रलाई यति मन पराइयो कि उनीहरूलाई कतिपय मानिसहरूले साँच्चै जासुस पनि ठान्थे ।
भारतीय युट्यूब कन्टेन्ट क्रिएटर लक्ष महेश्वरीलाई एक वर्षअघि दिएको पड्कास्ट अन्तरर्वार्तामा सालुन्केले आफूलाई एक फरेन्सिक कलेजले गेस्ट लेक्चरका रूपमा बोलाएको रोचक प्रसंग सुनाएका छन् ।
‘मैले त फरेन्सिक विज्ञका रूपमा शोमा चरित्र मात्र निभाएको हुँ, तर मानिसहरूले मलाई साँच्चिकै डाक्टर ठाने’ उनले भनेका छन्, ‘मैले त्यही कुरा कलेजका अधिकारीहरूलाई बताए पनि उनीहरूले मानेनन्, पछि गएर केही बोल्दिनै पर्ने भयो ।’
गुप्तालाई उनकी आमा चिकित्सक बनाउन चाहन्थिन् । तर, उनको चाहना थियो – कलाकार बन्ने । पछि पर्दामै सही, उनले आमा र आफू दुवैको रहर पूरा गरे । उनले पर्दामा यस्तो फरेन्सिक विज्ञको चरित्र निभाए कि उनका कारण धेरैले फरेन्सिक साइन्स र प्रमाणबारे थाहा पाए ।

उनका अनुसार, सी.आई.डी. सुरु भएपछिका वर्षहरूमा कतिपय कलेजहरूले उनलाई शोमा भएको चरित्रका कारण फरेन्सिक साइन्स पढ्न आउने विद्यार्थीको संख्या बढेको समेत बताएका थिए ।
सी.आई.डी.का चरित्रहरूको संवाद र शैलीले दर्शकमा गहिरो छाप छाडेको छ । सिनियर इन्स्पेक्टर दया जस्तोसुकै ढोका तोड्ने अफिसरका रूपमा चिन्छिन् । एसीपी प्रद्युमनको ‘दया, दरवाजा तोड दो !’ भन्ने संवादको थुप्रै मिम बनेका छन् ।
अभिजित अपराधीको मानसिकता बुझ्ने बौद्धिक किसिमका अफिसरका रूपमा परिचित थिए । फ्रेडरिक्स चाहिँ गम्भीर जाँच चलिरहेका बेला हास्यरस थपिदिने रमाइलो पात्र थिए ।
भारतको सर्वाधिक लोकप्रिय टेलिभिजन शोमध्येको सी.आई.डी. साढे १५ सय इपिसोडको प्रशारणपछि २७ अक्टुबर २०१८ मा एकाएक रोकियो ।
शो रोकिनुको कारण त बताइएन । तर, सी.आई.डी.को टीआरपी यति धेरै थियो कि छायांकन बन्द भएको ६ वर्षसम्म पनि सोनी टिभीले पुरानो एडिसोडहरू प्रशारण गरिरह्यो । युट्युबमा अपलोड गरिरह्यो ।
युट्यूबमा अपलोड भएका अधिकांश भिडियोहरूमा दर्शकले यो शोलाई फेरि फर्काउन अनुरोध गरिरहे । अन्ततः झण्डै ६ वर्षको अन्तरालपछि २१ डिसेम्बर २०२४ मा सी.आई.डी.को नयाँ एपिसोड सार्वजनिक भयो । त्यसको प्रोमो रिलिज हुनुअगावै यसका कलाकारहरूले दिएका शृंखलाबद्ध अन्तरर्वार्ताका कारण दर्शकहरूमा उत्सुकता बढेको थियो ।
लाखौं फ्यानका लागि सी.आई.डी.को सिजन २ को प्रशारण बाल्यकालको नस्टाल्जिया थियो भने आधा दशकपछि सुरु हुन लागेको शोको प्रोमोमै लोकप्रिय चरित्र अभिजितले दयालाई गोली हान्दै गरेको देखाइएपछि दर्शकमा जिज्ञासा बढेको थियो ।
जसै सी.आई.डी. २.० को पहिलो एपिसोड सार्वजनिक भयो, त्यसले दर्शकहरूलाई खुशी त दिलायो तर, कतिपय विषयहरू चाहिँ अझ नपुगेको जस्तो महसुस गरायो । पहिले सी.आई.डी. यस्तो समयमा चर्चाको उच्च विन्दुमा थियो, जतिबेला टेलिभिजनमा थ्रिलर शोहरू सीमित थिए ।
जतिबेला डिपी सिंह (कहिले काहीँ डीसीपी चित्रोलेका रूपमा सी.आई.डी.मा देखिने चरित्र) ले यो शो परिकल्पना गरेर सोनी टेलिभिजनका लागि उत्पादन प्रस्ताव गरेका थिए, त्यसबेला टिभीका अधिकारीहरूले थ्रिलर शो पारिवारिक च्यानलका लागि होइन भन्दै प्रस्ताव अस्वीकार गरिदिएका थिए ।
त्यस्तोमा जब केही वर्षपछि सी.आई.डी. प्रशारण भयो, त्यसले सुरुवातबाटै भारतको टेलिभिजन रेटिङ पोइन्ट (टिआरपी) मा धुम मच्चाइदिएको थियो । यसकै सफलताका कारण अरु टेलिभिजनहरूले पनि जासुसी सिरिजहरू निर्माण गर्न सुरु गरेका थिए ।
तर, अहिलेको अवस्था त्यो होइन । अहिले नेटफ्क्सि, अमेजन प्राइम लगायतका ओटीपी प्लेटफर्ममा थुप्रै उत्कृष्ट जासुसी फिल्म र सिरिजहरू प्रशारण हुन्छन् । यस्तोमा नयाँ आइरहेको सी.आई.डी.को एपिसोडहरू त्यो तहको भएन भने त्यसले पहिले जस्तो उचाइ कायम राखिराख्न सक्दैन । आखिर समय अनुसार सान्दर्भिकता गुमाउने जुनसुकै चिज पनि इतिहासमा सीमित हुने नै हो ।
तर, सुखद् पक्ष चाहिँ यसमा लेखन तथा निर्देशनमा खटिएकाहरूले फरक कथा वस्तु पस्किन खोजेको देखिन्छ । त्यसैले हुनसक्छ सोनी टिभीमा केही एपिसोडको प्रशारणपछि नेटफिल्क्समा समेत उपलब्ध सी.आई.डी. ओटीपीको पनि ट्रेन्डिङमा छ ।
प्रशारण बन्द हुनु पहिले सी.आई.डी. यस्तो चरणमा पुगिसकेको थियो, जतिबेला शोको एपिसोडहरूमा खासै नयाँ ‘स्टोरी टेलिङ’ थिएन । दर्शकहरूले सुरुवातको केही मिनेटमै संलग्नबारे थाहा पाउने स्थिति बनिसकेको थियो ।
तर, अहिले सार्वजनिक भएको एपिसोडहरूलाई यसका लेखकहरूले पूर्वानुमान गर्न नसकिने खाल्को बनाएका छन् । अहिले विश्वमै आर्टिफिसियल इन्टलिजेन्स (एआई) को प्रयोग बढिरहेको छ । तर, दक्षिण एशियामा फिल्म वा सिरिजमा एआईलाई कमै विषयवस्तु बनाइएका छन् ।
हालै नेटफिल्क्समा विक्रमादित्य मोटवाने निर्देशित ‘सीटीआरएल’ नामक फिल्म आएको छ, जसमा एआईको दुरूपयोगले मानिसको व्यक्तिगत जीवनलाई कसरी प्रभाव पार्नसक्छ भन्ने देखाइएको छ ।
पछिल्लो समय रिलिज भएका सीआईडीका एपिसोडहरूमा पनि प्रविधिका विषयहरूले स्थान पाएका छन्, नयाँ कथाहरू देखिन्छन् । जस्तै, दोस्रो सिजनको एपिसोड १८ ‘मेकानिकल ट्र्याप’मा अत्याधुनिक एआई च्याटबट प्रणाली ‘गृहणी’लाई कसरी दुरूपयोग गरेर यसकै परिकल्पनाकारलाई मारियो भन्ने देखाइएको छ ।

कसरी गम्भीर अपराधमा एआई दुरूपयोग हुनसक्ने सम्भावना रहन्छ भन्ने यो एपिसोडले देखाएको छ । प्रविधिले धेरै चिजलाई सहज बनाए पनि दुरूपयोगले मानिसहरू एआईकै ट्यापमा पर्नसक्ने यो एपिसोडको निचोड छ ।
पिक्चर क्वालिटी विगतभन्दा उत्कृष्ट छ, तर कहिलेकाहीँ कथा वस्तु चाहिँ तर्कसंगत लाग्दैन । जस्तै, पहिलो सिजनले अभिजितको जुन किसिमको ‘सार्प सुटर’ छबि बनाएको थियो, उसले दोस्रो सिजनको पहिलो एपिसोडमा दयालाई हानेको गोली ‘मिस’ भएको थियो भन्ने तर्क त्यति संगतिपूर्ण लाग्दैन ।
फेरि जुन छोरीका लागि उनले दयामाथि गोली चलाएका थिए, उसलाई विस्फोट हुनुअघि उस्तै देखिने अर्को युवतीसँग बदलिएको थियो भन्ने तर्क समेत त्यति दमदार लाग्दैन ।
अहिले प्रशारण भइरहेको शोमा सब–इन्स्पेक्टर पंकज (अजय नागरथ) लाई हास्यरस थप्ने चरित्रका रूपमा राख्न खोजेको देखिन्छ । यद्यपि, यो भूमिकामा दिवंगत फ्रेडी मिस हुन्छन् ।
पहिलो सिजनमा अभिजितको जोडीको रूपमा देखाइएकी फरेन्सिक डाक्टर तारिका (श्रद्धा मुसले) पनि शोमा समावेश छैनन् । उनको ठाउँमा निर्माण टिमले नयाँ ‘डाक्टर’ भित्र्याएको छ भने विराज र अभ्नी नामका सब–इन्स्पेक्टर पनि थपिएका छन् ।
समग्रमा हालसम्मका प्रशारणहरू हेर्दा ‘स्नाइपर राइफल मर्डर’मा एसीपी प्रद्युम्नको एउटा डायलग स्मरण गर्नु उपयुक्त हुन्छ, ‘भले ही ६ साल बाद लौटा हूँ, लेकिन अकल तो वही है – तुफानी ।’
केही छिटपुट त्रुटिबाहेक प्रद्युम्नको यो डायलग झैँ सी.आई.डी.का हालसम्म प्रशारित एपिसोडहरू पहिलो सिजनको तुलनामा ‘तुफानी’ नै लाग्छन् । यद्यपि, यो टेलिभिजन सिरिजले नेटफ्ल्क्सिसम्मको यात्रा तय गरेको अवस्थामा यसलाई विगतमा झैँ पारिवारिक र सबै उमेर समूहको शो कायम राखिराख्ने चुनौती भने यसका लेखक, निर्माता र निर्देशकहरूमा छ ।
 
                









 
                     
                                     
                                 
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4