+
+
Shares
पुस्तक :

एरिका र राजा त्रिभुवन

यो किताबकी लेखिका एरिका लिउट्याग पेशाले फिजियो थेरापिस्ट थिइन्। हिटलरको उदयपछि शरणार्थीका रूपमा जर्मनी बाहिर आएर उनी भरतमा बसिरहेका बखत काठमाडौं छाड्दै गरेका एक युरोपेली चिकित्सकको अनुरोधमा उनी त्रिभुवनकी जेठी महारानीको उपचारका लागि काठमाडौं पुगेकी थिइन्।

धर्म गौतम धर्म गौतम
२०८१ चैत ३० गते २१:५८

जहानियाँ राणा शासकले नेपाली जनतालाई मात्रै नागरिक तथा मानवअधिकारबाट वञ्चित गराएको होइन वैधानिक राजालाई समेत राजदरबारमा बन्दी सरह बनाएर राखेका थिए। राणा प्रधानमन्त्रीको अनुमति विना राजा त्रिभुवनलाई नारायणहिटी दरबारको चौघेरा बाहिर निस्कन वर्जित थियो। कारणवश अनुमति लिएर बाहिर निस्कँदा समेत उनको गतिविधिको सुराकी तथा नियन्त्रणका लागि राणाका सैनिक अफिसरलाई साथ लगाइन्थ्यो। त्यसैले २००७ सालको क्रान्तिको उद्देश्य मुलुकमा जहानियाँ राणाशासनको अन्त्य गरी प्रजातान्त्रिक व्यवस्थाको स्थापना गरेर नेपाली जनतालाई नागरिक अधिकारसम्पन्न बनाउनु मात्र नभएर राजालाई समेत बन्धनमुक्त गरी व्यवहारत: वैधानिक बनाउनु थियो।

सर्वसाधारण जनता राजालाई विष्णु भगवान्‌को अवतारका रूपमा मान्थे। राणा विरोधी आन्दोलनमा तिनको समर्थन बटुल्न पनि राजालाई साथ लिन आवश्यक थियो। राजालाई त्यस क्रान्तिमा सहभागी बनाउनका लागि उनीसँग सम्पर्क स्थापना गर्ने जिम्मेवारी नेपाली कांग्रेसले केही नेतालाई दिएको थियो। राजा त्रिभुवनलाई जसरी हुन्छ दरबारबाट निकालेर पाल्पा पुर्‍याउने र त्यही स्थानलाई क्रान्तिको मुख्यालय बनाएर अघि बढ्ने योजना कांग्रेसको थियो। भनिन्छ त्यसका लागि राजा त्रिभुवनले हेलिकोप्टरको व्यवस्था गर्न भनेका थिए तर कांग्रेसले त्यो परिबन्द मिलाउन सकिरहेको थिएन।

यसैबीच २००७ साल कात्तिक २१ गते राजा त्रिभुवनले काठमाडौंस्थित भारतीय दूतावासमा सपरिवार शरण लिएको खबर बाहिरियो। उता भारतमा रहेका नेपाली कांग्रेसका नेता बीपी कोइरालाले राजाको त्यस कदमको स्वागत गर्दै एउटा वक्तव्य जारी गरे। कलकत्तामा सुवर्णशमशेरको निवासमा आकस्मिक बैठक राखी कांग्रेसले तत्काल सशस्त्र क्रान्ति थाल्ने निर्णय समेत गर्‍यो। माघ २५ गते क्रान्तिको आह्वान गर्दै हवाईजहाजबाट कांग्रेसले देशभरि पर्चा छर्‍यो। राणाहरूको सातो उड्यो। २६ गते भारतीय विमानबाट राजपरिवार भारततर्फ लाग्यो। त्यसै बेलुकी वीरगञ्जमाथि कांग्रेसले सशस्त्र हमला गरेर क्रान्ति प्रारम्भ भएको जानकारी गरायो।

राजा त्रिभुवन कसरी भारतीय राजदूतावासमा शरण लिन पुगे ? यसबारे कांग्रेसलाई अग्रिम जानकारी थियो ? कि त्यो समाचार सुनेपछि त्यसैमा लय मिलाएर क्रान्तिको शुरुआत गरिएको थियो ?
राजा त्रिभुवन दिल्ली नपुगेका भए क्रान्ति त्यति सजिलै सम्पन्न हुन्थ्यो ?

राजा त्रिभुवनलाई साथमा लिएर गराइएको कथित दिल्ली सम्झौता नभएको भए सात सालको क्रान्तिको अवतरण कसरी हुन्थ्यो होला ?

यस्ता धेरै प्रश्न छन् जसको एउटा उत्तर नहुन सक्छ। आज आएर यस्ता प्रश्न स्वयं बौद्धिक विलासभन्दा अर्थोक नहुन पनि सक्छन्। तथापि इतिहासबाट पाठ भने सिक्न सकिन्छ।

धर्म गौतम (लेखक)

राजा त्रिभुवनले सपरिवार भारतीय दूतावासमा शरण लिन सफल हुनाको पृष्ठभूमिको रोचक वर्णन गर्ने पुस्तक सन् १९५८ मा अंग्रेजी भाषामा प्रकाशित भएको थियो- एरिका एण्ड द किंग। ‘त्रिभुवनकी एरिका’ नाममा त्यसको नेपाली अनुवाद पनि प्रकाशित छ। पञ्चायतकालमा समेत प्रतिबन्धित भनिएको यो किताब वर्तमानमा राजा फर्काउने हल्ला चलिरहेका बखत पढ्नुको विशेष अर्थ र महत्व पनि रहन्छ।

यो किताबकी लेखिका एरिका लिउट्याग पेशाले फिजियो थेरापिस्ट थिइन्। हिटलरको उदयपछि शरणार्थीका रूपमा जर्मनी बाहिर आएर उनी भरतमा बसिरहेका बखत काठमाडौं छाड्दै गरेका एक युरोपेली चिकित्सकको अनुरोधमा उनी त्रिभुवनकी जेठी महारानीको उपचारका लागि काठमाडौं पुगेकी थिइन्।

पाँच महिना त्यहाँ रहँदा राजा त्रिभुवनसँग उनको आत्मीय सम्बन्ध भयो। राणाहरूले राजामाथि गरेको दुर्व्यवहार र राजाले संवैधानिक भएर रहन चाहेको कुरा बुझेपछि राजालाई सहयोग गर्ने संकल्प लिएकी एरिकाले काठमाडौंस्थित भारतीय दूतावाससँग राजाको सम्पर्क कसरी गराइन् भन्ने रोचक विवरण यस किताबमा पढ्न पाइन्छ।

सात सालको क्रान्तिपूर्व नारायणहिटी राजदरबार कस्तो थियो र राजा त्रिभुवन त्यहाँ कसरी बसेका थिए भन्ने रोचक वर्णन यसमा छ।

एरिका लेख्छिन्— राणाहरूले उनी जँड्याहा, अफिमची, स्त्रीलम्पट, विलासी व्यक्ति हुन् भनेर राजा त्रिभुवनका बारेमा दुष्प्रचार गरेका थिए तर त्यो सत्य थिएन। उपचारार्थ एक पटक कलकत्ता गएका बखत कसरी तीन ट्याङ्का किताब उनले लुकाएर ल्याएका थिए भनेर वर्णन गरेकी छन्।

श्री ३ मोहनशमशेरको कुरा पनि छ। एरिका काठमाडौं पुगेको भोलिपल्ट उनलाई मोहनशमशेरसँग भेट गराउन लगिन्छ। मोहनशमशेरले आफ्नो छोरा विजयशमशेरलाई जर्नेल भनेर चिनाएपछिको प्रसंग:

“महाराजका सुपुत्र ?” मैले भनें, “उनै विदेश मन्त्री जर्नेल विजय जसले मलाई चिठी लेखेका थिए ?” प्रधानमन्त्रीले हो भनेपछि मैले छक्क पर्दै भनें, “यति कम उमेरमा जर्नेल ? उहाँ अत्यन्त मेधावी
हुनुपर्छ।”

ती युवाको ओठको मुस्कान रोकियो, मानौं उनले मुस्काउन जानेकै छैनन्। प्रधानमन्त्रीले मलाई ट्वाल्ल परेर हेरे। लाग्थ्यो उनी मेरो भनाइको भावार्थ खोज्दै थिए। … भने, “हामी नेपालमा कम उमेरमा नै विवाह गर्ने भएकाले युवावस्थामै हाम्रा सन्तान हुन्छन्।”

ती युवा त्यति कम उमेरमै जर्नेल कसरी बने भन्ने कुरा प्रस्ट्याउन सक्ने उत्तर थिएन यो उनको। अनि अप्रत्यासित प्रश्न गरे मलाई, “मेरो उमेर अनुमान गर्न सक्नुहुन्छ, महोदया? ”

मैले मुसुक्क हाँसेर भने, “महामहिमको (शिरपोसको) हीराले मेरा आँखा तिर्मिराइरहेका बेला म कसरी अनुमान गर्न सक्छु र ? त्यसलाई खोलिबक्से सक्थें कि !”

त्यहाँ रहेका वरिष्ठ अधिकृतहरू झस्के, तर प्रधानमन्त्रीले शिर निहुराएर आफ्नो शिरपोस खोलेर घुँडामा राखे। मैले भनें, “महाराज पचास होइबक्सन्छ होला।”

जुँघा उचालिने गरी मुस्काउँदै उनले भने, “होइन महोदया, म चौसट्ठीमा हिंड्दैछु।”

एरिका चाँडै राजपरिवारसँग घुलमिल हुन्छिन्, सबैभन्दा बढी आत्मीय राजासँग। उनी राजा–रानीको उपचार गर्छिन्, उनीहरूलाई नाच्न सिकाउँछिन्, रानी तथा राजकुमारीहरूलाई गाउन सिकाउँछिन्, विशेष परिकार बनाउन सिकाउँछिन्। उनको उपस्थितिले दरबारमा विशेष उल्लास ल्याउँछ।

राजा त्रिभुवनसँग एरिका यति नजिकिन्छिन्, उनीहरूको सम्बन्धमा शंका गर्ने ठाउँ भेटिन्छ: नाच सकेपछि हामी दुई मात्रै बगैंचामा टहल्दै थियौं। कागहरू उडिसकेका थिए, बत्ती बलिसकेका थिए, मैले जोह्न र बिट्टी नामकरण गरेका जोडी कछुवा पोखरी पारिपट्टिको आफ्नो वासस्थानतिर लम्कँदै थिए। पोखरीको डिलमा पुगेर हामी उभियौं, उनले गोजीबाट केही चिज मेरो हातमा राखिदिए र भने “एरिका, यो तिम्रा लागि उपहार !”

मैले देखेको उनको कम्मरमा बाँधिराखेको जस्तै सुनको कलात्मक सिक्री थियो त्यो। उनले यति स्नेहपूर्वक मलाई त्यो दिएका थिए, उनका आफन्तले जस्तै मैले आदरपूर्वक उनको पाउ छोएर ढोगें। उनले मेरा हात समाएर मलाई उठाए र त्यत्तिकै पोखरीको किनार किनार डुलाए। शायद उनले जानेरै मेरा लागि आफ्नो सीमा तोडेका थिए। र, त्यतिखेरै मैले मलाई विचलित पारिरहेका मेरा मनका कुरा उनलाई भनें।

राजा थप सजग भए। एरिका आफ्नो मिसनमा लागिन्। राणाशाहीबाट उन्मुक्तिका लागि तड्पिइरहेका राजाले एक दिन गोप्य रूपमा नेहरूको चिठी पाउँछन् र शिकार खेल्न जाने अनुमति लिएर नारायणहिटीबाट निस्केको राजपरिवारको टोली एकाएक भारतीय दूतावास प्रवेश गर्छ।

एरिकाले आफ्नो किताबको बीच–बीच धेरै ठाउँमा राजा त्रिभुवन र उनी बीचका व्यवहार र अन्तरङ्ग संवादको मिहिन वर्णन गरेकी छन्। तिनै रोमाञ्चक वर्णनको रसास्वादनका लागि पनि यो किताब पढ्नुपर्छ।

एरिकाको सहयोगमा राजाले भारतीय राजदूतलाई कसरी भेटे भन्ने वर्णन सास रोकेर पढ्नुपर्छ।

यो किताब पढिसकेपछि नेपाली राजनीतिको जटिलतालाई राम्ररी बुझेको सच्चा नेपालीलाई यस्तो पनि लाग्न सक्छ- एरिका नेपाल नआएकी भए राजा त्रिभुवन राणाको बन्धनबाट उम्केर दिल्ली पुग्न सक्ने थिएनन् र दिल्ली सम्झौता हुने थिएन । ढिलो–चाँडो क्रान्ति सफल हुन्थ्यो र नेपाल आफ्नै स्वतन्त्र गतिमा अघि बढ्ने थियो।

यस्तो भएको भए अहिले नेपाल कस्तो हुन्थ्यो होला ?!

लेखक
धर्म गौतम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?