+
+
Shares

पूर्वराष्ट्रपतिको नयाँ वर्ष सन्देशमा एमालेको बढ्ता समीक्षा

नयाँ वर्ष सन्देश मार्फत पूर्वराष्ट्रपति भण्डारीले आफू सक्रिय राजनीतिमा पुनरागमन गर्दै गरेको सन्देश मात्र दिएकी छैनन्, वर्तमान नेतृत्वमाथि प्रश्न पनि उठाएकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २ गते २२:५०

२ वैशाख, काठमाडौं । यो संयोग मात्रै नहुन सक्छ, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई नेकपा माओवादी केन्द्रले पार्टी उपाध्यक्षमा मनोनीत गरेको केही दिनभित्रै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अर्थपूर्ण वक्तव्य जारी गरेकी छन् ।

पूर्वराष्ट्रपति भण्डारीले नयाँ वर्ष–२०८२ को शुभ–कामना सन्देश मार्फत देशको राजनीतिक परिस्थिति र त्यो भन्दा बढी नेकपा एमालेको समीक्षा गरेकी छन् । यति बेला एमाले र राष्ट्रिय राजनीतिमा पूर्वराष्ट्रपति भण्डारीको उक्त बक्तव्यलाई चासोका साथ हेरिएको छ ।

किनकि वक्तव्य मार्फत पूर्वराष्ट्रपति भण्डारीले आफू सक्रिय राजनीतिमा आउँदै गरेको प्रष्ट सन्देश मात्र दिएकी छैनन्, वर्तमान नेतृत्वमाथि प्रश्न पनि उठाएकी छन् । ‘…संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि देशको कायापलट हुने विश्वास हामीले जनतालाई दिलाएका हौं, खोजेको व्यवस्था प्राप्त भएपछि पनि जनताको जीवन स्तरमा महत्वपूर्ण परिवर्तन किन हुन सकिरहेको छैन ?’ उनको वक्तव्यमा भनिएको छ, ‘यस्ता प्रश्नहरुमा अब चिन्ता मात्र प्रकट गरेर जनताको सहानुभूति बटुल्न खोज्नु भन्दा निर्मम आत्मसमीक्षा गर्दै फेरि पनि निरन्तर इमान्दार प्रयास गर्नुको विकल्प छैन ।’

देशका समस्याहरुको लामै ब्याख्या गरेर पूर्वराष्ट्रपति भण्डारीले वर्तमान नेतृत्वको मूल्यांकन गर्न खोजेको प्रष्ट बुझ्न सकिन्छ । बक्तव्यको निचोडमा भने एमालेको सक्रिय राजनीतिमा आफू सामेल भइसकेकै सन्देश छ । ‘नयाँ वर्षको आगमनसँगै हामी सबैले जनताका समस्यालाई टुलुटुलु हेरिरहने र समाधानका प्रयासहरूबाट आफूलाई अलग राख्ने प्रवृत्ति त्याग्नै पर्दछ’ बक्तत्वमा लेखिएको छ, ‘यो नयाँ वर्ष नवीन आशा र विश्वासको दियो बाल्ने वर्ष बन्नुपर्छ, समृद्धिको द्वार खुल्ने ऐतिहासिक वर्ष बन्नुपर्छ ।’

पूर्वराष्ट्रपति भण्डारी निकट नेताहरू शुभकामना बक्तव्यलाई राजनीतिक सन्देशकै रुपमा आएको स्वीकार्छन् । ‘देशको परिस्थिति सम्हाल्न पार्टीको नेतृत्वमा पनि अब परिवर्तन चाहिन्छ भन्ने एमाले कार्यकर्ताहरुको चाहना छ । त्यस्तो चाहनालाई उहाँले (विद्या भण्डारी) स्वीकार्नुभएको छ’, उनी निकट एक नेता भन्छन् ।

शुभकामना बक्तव्य भन्दा अघिका गतिविधिहरूले पनि पूर्वराष्ट्रपति भण्डारी एमालेको नेतृत्व दाबीमा निस्किसकेको अनुमान भइरहेका थिए । शितल निवासबाट बाहिरिदै गर्दा सरकारी निवासमा नबस्ने निर्णय गरेरै एमालेको सक्रिय राजनीतिमा फर्कने ठूलो सन्देश दिएकी थिइन् । उसोत राष्ट्रपति भइरहँदा समेत महत्वपूर्ण राजनीतिक घटनाक्रममा लिएका निर्णयहरुले पनि उनी पूर्वराष्ट्रपतिको हैसियतमा नबस्ने संकेत दिइसकेकी थिइन् ।

राष्ट्रपतिको दुई कार्यकाल सकेर बाहिरिएपछि त पार्टी नेताहरुसँग सम्वाद, भेटवार्ता र प्रदेशहरुको भ्रमणलाई बाक्लो बनाइहालिन् । ‘अहिले पनि जिल्ला–जिल्लाबाट हाम्रोमा आउनु पर्‍यो भनेर निम्तो आइरहेकै छ’ पूर्वराष्ट्रपति भण्डारीका स्वकीय सचिव राजकुमार राई भन्छन्, ‘माग भए अनुसार अब मधेश र सुदूरपश्चिम जाने तयारी भइरहेको छ ।’

पूर्वराष्ट्रपति भण्डारीले कर्णाली, गण्डकी, कोशी र लुम्बिनी प्रदेशको भ्रमण गरिसकेका छन् । ती प्रदेशहरुमा जाँदा भण्डारी निकट नेताहरुसँग लामै भेटवार्ता र सम्वाद गरिरहेकी छन् । राजधानीमा रहँदा पनि बुढानिलकण्ठस्थित निवासमा लगातार राजनीतिक भेटवार्ता चल्दै आएको उनी निकट नेताहरु बताउँछन् ।

नयाँ वर्षको शुभकामना बक्तव्यमा उल्लेख गरिएको राजनीतिक भाषालाई पनि पूर्वराष्ट्रपति भण्डारी एमाले नेतृत्वमा आउँदै गरेको सन्देशकै रुपमा बुझ्नुपर्ने स्थायी कमिटी सदस्य कर्ण थापा बताउँछन् । ‘उहाँले देश, जनता र राजनीतिका बारेमा गरेको चिन्तालाई सकारात्मक रुपमै लिनुपर्छ । कसैले पनि यसलाई धेरै शंकाका दृष्टिले हेर्न जरुरी छैन’, उनी भन्छन् ।

पार्टी थप एकताबद्ध र कम्युनिष्ट आन्दोलन अगाडि बढ्ने अवस्था आउँछ भने पूर्वराष्ट्रपतिलाई नेतृत्वमा स्वागत गरेर जानुपर्ने उनी तर्क गर्छन् । ‘पार्टी एकताबद्ध बनाएर लैजानुपर्नेछ, त्यस्तो पात्र एमालेमा केपी शर्मा ओली पछि विद्या भण्डारी नै हो’, थापा भन्छन् ।

एमाले सुधारको प्रस्ताव

पूर्वराष्ट्रपति भण्डारीको बक्तव्यमा एमालेभित्रको आन्तरिक लोकतन्त्र, जनताको बहुदलीय जनवाद र मदन भण्डारीको संकल्प जस्ता प्रशंग उल्लेख गरेर एमाले नेतृत्वको समीक्षा गर्न खोजिएको प्रष्ट हुन्छ ।

‘यो देशको सामाजिक–आर्थिक रुपान्तरणको मौलिक सिद्धान्त जनताको बहुदलीय जनवादका प्रणेता जननेता मदन भण्डारीको सपना आफ्ना सहकर्मी–सहयात्रीहरुलाई राज्यसत्तासम्म पुर्याउने इच्छामा मात्र सीमित थिएन, बरु यस सिद्धान्तलाई कार्यान्वयन गर्दै जनताको जीवनस्तर बदल्ने र राष्ट्रको गौरव बढाउने थियो’, भण्डारीको वक्तव्यमा भनिएको छ । केपी शर्मा ओली नेतृत्वको एमालेभित्र यो तहको समीक्षा अरु नेताले गर्ने हिम्मत गरेका थिएनन् ।

तर पूर्वराष्ट्रपति भण्डारीले बक्तव्य मार्फत् मदनको भावना बमोजिम पार्टी नचलिरहेको शंका समेत गरेकी छन् । ‘बहुदलीयता र बहुलवादलाई आत्मसाथ गरी सक्रियता, पहलकदमी, जनसेवा र प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्दै अरु राजीतिक शक्तिहरुलाई समेत मुलुकका साझा विषयमा अग्रसर र गतिशील बनाउने नै जननेताको चाहना हो’ बक्तव्यमा लेखिएको छ, ‘मदनको विचार र भावना अनुरुप अगाडि बढ्न हामीलाई कसैले कतैबाट अवरोध त पैदा गरिरहेको छैन ?’

नेताहरुका अनुसार यी हरफ वतर्मान एमालेभित्र निकै महत्वपूर्ण छ । ‘पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा रोक्न जनसंगठनहरुमा जबर्जस्त सहमति भनिदैछ । कर्मचारी र पत्रकारहरुको महाधिवेशनमा आन्तरिक प्रतिस्पर्धा रोकिएको छ’ एमालेका एक पोलिटब्यूरो सदस्य भन्छन्, ‘जबजको भावना विपरीत पार्टी चलिरहेको बेला पूर्वराष्ट्रपतिले त्यसतर्फ सचेत गराउनु भयो भन्ने रुपमा पनि बुझ्नुपर्छ ।’

भण्डारीले अहिलेको समस्यामा सुधारका अरु प्रशंग पनि उठाएकी छन् । मदन भण्डारीको सपना पूरा गर्न एमालेले ठोस् कार्ययोजना ल्याउनुपर्ने र कार्यान्वयनमा जाने तत्परता देखिनुपर्ने बक्तव्यमा भनिएको छ । ‘हामी सबैले जननेताको सपना पूरा गर्ने अठोट फेरि एकपटक दोहोर्याउनु पर्ने बेला भएको छ’ पूर्वराष्ट्रपति भण्डारीले अपिल गरेकी छन् ।

भण्डारी निकट अर्का एक नेता भने वक्तव्यबाट कसैले पनि आत्तिनुपर्ने अथवा बढी उत्साहित हुनुपर्ने अवस्था नरहेको बताउँछन् । ‘केपी कमरेडसँग भिडेर नेतृत्व फेर्ने कुरा राम्रो होइन’, उनी भन्छन्, ‘दशक लामो नेतृत्व गरिसक्नु भएकाले अब केपी ओली कमरेडकै प्रस्तावमा विद्या भण्डारी अध्यक्ष बन्ने परिस्थिति निर्माण गरिनुपर्छ ।’

यद्यपि एमाले पंक्तिमा ओलीले नेतृत्व हस्तान्तरण सहज तरिकाले गर्दैनन् भन्ने बुझाइ पनि छ । विगतमा वामदेव गौतम, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपालहरुसँग नेतृत्व बारे गरेका सहमति कार्यान्वयन नभएको नजीरका आधारमा त्यस्तो बुझाइ बनेको देखिन्छ ।

तर विद्या भण्डारी निकट नेताहरु भने विगतमा अरु नेतासँग ओलीले तोडेको सहमतिसँग अहिलेको अवस्था तुलना गर्न नमिल्ने बताउँछन् । ‘वामदेव गौतम, प्रचण्ड अथवा माधव नेपालहरु भन्दा विद्या भण्डारी फरक हुनुहुन्छ । जबज र मदन भण्डारीसँग लिगेसी जोडिने नेता विद्या भण्डारी नै हो’, भण्डारी निकट ती नेता भन्छन्, ‘विद्या भण्डारीसँग भिड्ने मूडमा केपी कमरेड जानु हुन्न ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?