
२१ वैशाख, जनकपुरधाम । मधेश सरकारको गृह संचार तथा कानुन मन्त्रालयमा मधेश आन्दोलनका शहीद परिवारले धर्ना दिएका छन् ।
मधेशी शहीद प्रतिष्ठानका सदस्य रामनरेश रायको मृत्युको कारणबारे स्पष्ट गर्नुपर्ने, रोजगार पाएका शहीद परिवारका सदस्य रोजगार यथावत राख्नु पर्ने, समयमा ज्याला पाउनुपर्ने लगायतको मागसहित उनीहरु धर्ना बसेका हुन् ।
शहीद प्रतिष्ठानमा सदस्यको नियुक्ति प्रक्रिया अघि नबढेको, स्वास्थ्य बिमा प्रक्रिया अगाडि नबढेको, शहीद परिवारका सदस्यको विगत जस्तो करारमा नभएर दैनिक ज्यालादारीमा झारेको, हटाउँदै गएको शहीद परिवारहरुको गुनासो छ ।
‘शहीद परिवारका सदस्यहरुलाई जागिरबाट हटाउँदै गएको छ । प्रतिष्ठानका सदस्य रामनरेश रायको मृत्यु भयो, के कारणले भयो अहिलेसम्म प्रष्ट पारेको छैन, नत समयमा ज्याला दिइरहेका छन्’, शहीद चन्दन पटेलका पिता अवधेश पटेलले गुनासो गरे, ‘मन्त्रीहरुले शहीद परिवारलाई भेट गर्न चाहेको छैनन्’
गत फागुन १९ गते राति मधेश भवनको आवासमा प्रतिष्ठानका सदस्य राय सुतेकै ओछ्यानमा मृत फेला परेका थिए ।
मुख्यमन्त्री लालबाबु राउत सरकारको पालामा एक शहीद परिवार एक रोजगार कार्यक्रम लागू भएको थियो ।
धर्ना स्थलमै सञ्चारमन्त्री राजकुमार लेखीले प्रक्रियामा रहेकाले कामहरु अघि बढिरहेको बताए । गुनासो सुन्दै मन्त्री लेखीले भने, ‘भनेकै बखत केही कुरा पूरा हुँदैन । काम प्रक्रिया अनुसार नै हुन्छ । हामी लागिरहेका छौं ।’
प्रतिक्रिया 4