+
+
WC Series
विराटनगर किंग्स 2025
0/0
VS
लुम्बिनी लायन्स 2025
0/0
Shares

ट्राफिक प्रहरी कार्यालय पथलैया अगाडि ट्रक चालकहरूको धर्ना

चालकहरू धर्नामा बसेपछि बुधबार दिउँसोसम्म पथलैयामा मात्रै डेढसय बढी गाडीहरू सडकमा रोकिएका छन् ।

सुनील गाउँले सुनील गाउँले
२०८२ मंसिर १७ गते १५:३८

१७ मंसिर, बारा । बाराको पथलैयास्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यस्थापनको मूल गेट अगाडि सवारी चालकहरू धर्नामा बसेका छन् ।

मंगलबारबाट मधेश प्रदेशका जिल्लाहरूमा ट्राफिक प्रहरीले पराल तथा भुस बोकेका गाडीहरूमाथि अनावश्यक दु:ख दिन सुरु गरेको आरोप लगाउँदै चालकहरूले बुधबार दिउँसोदेखि ट्राफिक प्रहरी पथलैयास्थित कार्यालय अगाडि धर्ना दिएका हुन् ।

चालकहरू धर्नामा बसेपछि बुधबार दिउँसोसम्म पथलैयामा मात्रै डेढसय बढी गाडीहरू सडकमा रोकिएका छन् ।

बारा, पर्सा, रौतहट लगायतका जिल्लामा पनि पराल तथा भुस बोकेका गाडीहरू रोकिएको ट्राफिक प्रहरीले जनाएको छ ।

तराईका जिल्लाबाट पराल तथा भु्स बोकेर हेटौंडा, चितवन, धादिङ, काठमाडौं, पोखरा लगायतका स्थानमा जान लागेका गाडीहरू सडकमै रोकेर चालकहरू धर्नामा बसेका छन् ।

अहिले तराईबाट पराल तथा भुस ढुवानीको सिजनका बेला गाडीहरूलाई प्रहरीले ओभरलोडको बहानामा अनावश्यक दु:ख दिने गरेको आरोप चालकहरूको छ ।

ट्राफिक प्रहरीका विरुद्ध धर्नामा बसेकाहरूले किसानका उत्पादन बोक्ने सवारीलाई सहुलियत प्रदान गर्नुको सट्टा उल्टै दु:ख दिने मनसाय ट्राफिक प्रहरीले राखेको गुनासो गरेका छन् ।

नेपाल च्याउ उत्पादक किसान संघका केन्द्रिय अध्यक्ष सन्तोष कार्कीले पशुपालन तथा च्याउ खेती गर्ने किसानले पराल स्टक गर्ने बेला ट्राफिक प्रहरीले अवरोध सिर्जना गर्दा आफूहरू मारमा परेको बताए ।

‘ट्राफिकले गाडी रोकेको पहिलो पटक होइन, रोक्ने मिलाउने भइरहन्छ, अहिले मुख्य सिजनमा फेरि उहाँहरूले अवरोध सिर्जना गरिदिँदा हामी मारमा परेका छौं,’ अध्यक्ष कार्कीले भने ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख एसपी राजकुमार सिलवालले ‘भब्बर’ लोडका कारण राजमार्गमा हुनसक्ने क्षति र दुर्घटनाको जोखिम कम गर्न आफूहरू सक्रिय भएको बताए ।

‘ओभर मात्र होइन भब्बर लोड बोकेका यस्ता गाडीका कारण राजमार्गमा थुप्रै जोखिम बढिरहेका छन्,’ एसपी सिलवालले भने ।

वजनका हिसाबले कम भए पनि पराल तथा भुस बोकेका गाडीहरूले ट्रयाक्टर तथा ट्रकको मालसामान राख्ने भागभन्दा धेरै माथिसम्म सामान राखी ढुवानी गर्ने गरेकाले राजमार्गमा जोखिम बढेको एसपी सिलवालको भनाइ छ ।

    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?