News Summary
Generated by OK AI. Editorially reviewed.- थ्वी राजमार्गको मुग्लिन–पोखरा सडक ४ लेनमा विस्तार गरी अन्तर्राष्ट्रियस्तरको बनाइएको छ।
- सडकको पूर्वी र पश्चिमी खण्डमा कालोपत्र र पुल निर्माण कार्य तीव्र गतिले भइरहेको छ।
- सडक विस्तारले पर्यटन र आर्थिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ।
९ असार, काठमाडौं । गण्डकी प्रदेशको लाइफलाइन पृथ्वी राजमार्ग अन्तर्गतको मुग्लिन–पोखरा सडक झन्डै पाँच दशकपछि ४ लेनमा विस्तार भएको छ । तनहुँको आँबुखैरेनीदेखि पोखरासम्म ७९ किलोमिटर सडक बजार क्षेत्रमा ६ र अन्यत्र ४ लेनमा विस्तार भएको हो । यो सडकले गण्डकीका ९ जिल्लासँग काठमाडौंको यात्रा छोट्याएको छ ।
मुग्लिनको पुल तरेपछि आँबुखैरेनीसम्म पहिलेकै २ लेन सडक छ भने आँबुखैरेनीबाट सडक ४ लेनमा विस्तार भएको छ । डुम्रे, दमौली र पोखरा सहितका बजार क्षेत्रमा ६ लेनमा विस्तार भएको सडकले पृथ्वी राजमार्गलाई अन्तर्राष्ट्रियस्तरको देखाएको छ ।
ड्रोनले खिचेका फोटो/भिडियोमा यो राजमार्गले विकसित देशको झल्को दिन्छ । हालसम्म आँबुखैरेनी–पोखरा सडक विस्तार आयोजनाअन्तर्गत पूर्वी खण्डमा पहिलो चरणको कालोपत्रको काम सकिएको छ ।
यसअघि ६ सेन्टिमिटर मोटाइ रहेको सडकमा ४ सेन्टिमिटर कालोपत्र थपेर स्तरोन्नति गरिएको छ । विश्वस्तरीय र महँगो मानिने अस्फाल्ट प्रविधिमा सडक विस्तार गरिएको आयोजनाको दाबी छ । ठेक्का म्यादभित्रै आयोजना सक्ने लक्ष्य राखेर दोस्रो चरणको कालोपत्र पनि सँगसँगै भइरहेको मुग्लिन–पोखरा सडक आयोजना पूर्वी खण्डका इन्जिनियर विष्णु पाण्डेले जानकारी दिए ।
पूर्वी खण्डको तेस्रो पटक थपिएको म्याद यही २९ असारसम्म रहेकाले त्यसअघि नै सक्ने गरी काम भइरहेको उनको भनाइ छ । पूर्वी खण्डमा निर्माणधीन मादी नदी बाहेकका १७ वटा पुल सबै तयार भइसकेका छन् । तनहुँको मादी नदीमा ‘आर्क डिजाइन’को पुल निर्माणाधीन छ । पुलको फाउन्डेसनको काम सकिएको छ । ६ वटा स्ल्यापमध्ये ४ वटा यसै आर्थिक वर्षभित्र सक्ने लक्ष्य छ ।
२०८१ वैशाखसम्म काम सक्ने लक्ष्य राखेर चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा पूर्वी खण्डको ठेक्का सम्झौता गरेको थियो ।
तर तोकिएको समय अवधिमा काम सम्पन्न नभएपछि तेस्रोपटक म्याद थप गरी कामलाई निरन्तरता दिइएको छ । त्यस्तै, आयोजनाको पश्चिमी खण्ड जामुने–पोखरा सडक विस्तारका लागि ३ जेठ २०७८ मा चीनकै एनहुई केयुयन हाइवे एन्ड ब्रिजले ७ अर्ब ४० करोड रुपैयाँमा (सेती पुल बाहेक) ठेक्का सम्झौता गरेको थियो ।
मुग्लिन–पोखरा सडक आयोजनाअन्तर्गत पश्चिम खण्डका आयोजना प्रमुख कृष्णबहादुर कुँवरका अनुसार ३८ दशमलब ८८ किलोमिटर दूरी रहेको पश्चिमी खण्डको ५३ प्रतिशत भौतिक प्रगति भएको छ ।
हेर्नुहोस् भिडिओ :
उनका अनुसार ४ लेन तथा ६ लेनको यो सडकको ३६ दशमलब ८ किलोमिटर सडक एकातर्फ कालोपत्र भइसकेको छ । यस्तै, २६ किलोमिटर सडक ४ लेनमा पहिलो चरणको कालोपत्र सकिएको छ ।
तनहुँको जामुनेदेखि पोखरातर्फ पहिलो चरणको कालोपत्र गर्न अब १ हजार ७०० मिटर जति मात्रै बाँकी छ । पश्चिम खण्डमा दोस्रो चरणको कालोपत्र भने केही ढिला हुने देखिन्छ । अर्को आर्थिक वर्ष लागेपछि मात्रै दोस्रो चरणको कालोपत्र गर्ने आयोजनाको तयारी छ ।

आयोजनाका अनुसार सेती नदीमाथिको पुलको ५० प्रतिशत काम सकिएको छ । नवलपरासी पूर्व बाहेक गण्डकीका तनहुँ, गोरखा, कास्की, स्याङ्जा, म्याग्दी, बागलुङ, पर्वत, मुस्ताङ, मनाङका बासिन्दाका लागि यो सडक साँघुरो र कष्टकर हुँदा विगतमा निकै सास्ती बेहोर्नुपरेको थियो ।
देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरा जाने सडकले काँचुली फेरेसँगै पर्यटन र आर्थिक गतिविधि पनि बढ्ने अपेक्षा गरिएको छ । यो राजमार्गमा सवारी चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा फराकिलो पार्न योजना अघि बढाइएको हो ।
२०२६ सालमा रेखाकंन भएको पृथ्वी राजमार्ग धादिङको नौबिसेदेखि कास्कीको पोखरासम्म पर्छ । यो राजमार्गको कूल लम्बाइ १७३ किलोमिटर छ । जसमध्ये राजमार्ग निर्माण भएको ५० वर्षभन्दा बढी समयपछि मुग्लिनदेखि पोखरा खण्ड २ लेनबाट ४ लेनमा स्तरोन्नति भएको छ ।


प्रतिक्रिया 4