
News Summary
Generated by OK AI. Editorially reviewed.- ललितपुरको सानेपामा रहेको नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा मंगलबार प्रदर्शनकारीले प्रवेश गरी तोडफोड र आगलागी गरेका छन्।
- प्रदर्शनकारीले पाँच तलाको भवनमा रहेका पुस्तकालय, बैठक हल, क्यान्टिन र १४ पदाधिकारीको कक्ष ध्वस्त पारेका छन्।
- कांग्रेसका ऐतिहासिक दस्तावेज र करिब १५ हजार पुस्तकहरू आगोले नष्ट भएका छन् भने कार्यालयमा अहिले पनि धुँवा उडिरहेको छ।
२५ भदौ, काठमाडौं । ललितपुरको सानेपामा नेपाली कांग्रेसले केन्द्रीय कार्यालय सुरु गरेको २१ वर्ष बितिसक्यो । यति लामो अवधिमा कांग्रेस केन्द्रीय मुख्यालयले सर्वाधिक दुखद् अवस्था भने मंगलबार बेहोर्यो ।
जेनजीले दोस्रो दिन गरेको प्रदर्शन प्रमुख दलका नेता, ती दलका पार्टी कार्यालय हुँदै सरकारी भवनहरूमा केन्द्रित थियो । कांग्रेस, एमाले, माओवादी केन्द्रका कार्यालय र ती दलका नेताहरू प्रदर्शनकारीको निसानामा परे ।
कांग्रेस केन्द्रीय कार्यालयका कर्मचारी आकाश तामाङका अनुसार मंगलबार बिहान १० बजे नै प्रदर्शनकारीहरू प्रवेश गरिसकेका थिए ।
प्रदर्शनकारीहरूले सुरुमा पूर्वतिर रहेको ढोका फोडे । कार्यालय प्राङ्गणमा छिरे । मूल ढोका फुटाउने प्रयास गरे तर, उनीहरू पहिलो चरणमा विफल भए ।
युवा उमेर समूहमा आएका प्रदर्शनकारीले दोस्रो चरणमा भवनको मूल ढोका फोडे । तल्लो तलाका सिसा फोडे । तामाङका अनुसार, उनीहरूले तलका तलाहरूमा ढुङगा प्रहार गरेर १५/२० जनाको त्यो समूह निस्कियो । त्यसपछि ठूलो संख्यामा प्रहरी तैनाथ भयो ।
लगत्तै, प्रदर्शनकारीको ठूलै हुल कांग्रेस कार्यालयमा प्रवेश गर्ने प्रयास गर्यो । प्रहरीले अश्रु ग्यास प्रहार गरेर भीडलाई केहीबेर तितरबितर बनायो ।
अश्रुग्यास प्रहारबाट केहीबेर तितरबितर भएपनि प्रदर्शनकारी पुन: एकत्रित । ठूलो संख्यामा प्रदर्शनकारी प्रवेश गरेर तोडफोडमा उत्रे ।
अन्डरग्राउन्डदेखि पाँच तलासम्म रहेको भवनमा सबै कोठामा छिरे ।
सोफा, कुर्सी र कागजातहरू बाहिर फ्याँके । बाहिर र भित्र दुवैतिर दनदनी आगो बोल्यो । कर्मचारी तामाङ भन्छन्, ‘बोक्न सक्ने कुर्ची लिएर गए । लान नसक्नेलाई जलाए ।’
पाँच तलामा रहेका सबै कोठा अहिले खरानीले भरिएको छ । १४ पदाधिकारीको कक्ष, पुस्तकालय, बैठक हल, क्यान्टिन ध्वस्त अवस्थामा छन् । कागजातहरू जलेर पूर्ण नष्ट भएका छन् । अनलाइनबाट सूचीकृत गरिएका क्रियाशील अभिलेख सबै नष्ट भएको छ ।
संस्थापक नेताहरूको जल्नबाट बचेका तस्वीरहरू प्राङ्गणमा छरिएका छन् । बिजुलीका तारहरू यत्रतत्र छरपष्ट छ । रंगरोगन गरेर सजाइएको भवनमा धुवाँको मुस्लोले भित्ताहरू कालो बनाएको छ ।
प्राङ्गणमा राखिएका गमलाहरू एउटा पनि सग्लो छैन । आगोको मुस्लोले वरपरका रुखहरू ओइलाएका छन् । प्राङ्गणमा सिसाका टुक्रा यत्रतत्र छरिएका छन् । अब कार्यालयमा बच्न बाँकी भित्ता मात्रै छन् ।
पार्टी कार्यालयलाई ज्ञान स्रोत केन्द्र पनि बनाउने उद्देश्यले महामन्त्री गगन थापाको परिकल्पनामा बनाइएको व्यवस्थित पुस्तकालय खण्डहर बनेको छ । बुधबार दिउँसोसम्म पुस्तकालयमा धुँवा उडिरहेको थियो । कांग्रेसले पुस्तकालय बनाउनका लागि करिब एक करोड खर्चेको थियो ।
करिब १५ हजार पुस्तकहरू पुस्तकालयमा व्यवस्थित तरिकाले राखिएको थियो । राजनीति, इतिहास, संविधान, कानुन, दर्शन, अर्थ राजनीति, संस्कृति, साहित्य, धार्मिक लगायतका पुस्तकहरू उपलब्ध थिए । कांग्रेसका ऐतिहासिक दस्तावेजहरू अब खरानी भएका छन् ।
संस्थापक नेताहरूको राजनीतिक जीवन, बीपी कोइरालासँग जोडिएका दस्तावेज, कोइरालाले लेखेका साहित्यिक पुस्तकहरू थिए । २०१२ सालपछिका कुनै न कुनै रूपमा कांग्रेसका दस्तावेजहरू पुस्तकालयमा थिए । कोडिङ गरेर राखिएका सम्पूर्ण पुस्तकहरू खरानीमा परिणत भए ।
स्थानीय बासिन्दाका अनुसार, कांग्रेस केन्द्रीय कार्यालयमा आगो लाग्दा वरपरका मानिसहरूले रोइकराई गरेका थिए । बिहान १० बजेदेखि पटक पटक छिरेक प्रदर्शनकारीले भौतिक संरचना केहीपनि नराख्ने गरी आगलागी गरेको कर्मचारी तामाङ बताउँछन् ।
उनका अनुसार, मुख्य सचिव कृष्णप्रसाद पौडेललाई फोन गरेर कार्यालयको अवस्था जानकारी गराएका छन् । कार्यालय तोडफोडमा जेनजी उमेर समूह भन्दा माथिल्लो उमेर समूहका प्रदर्शनकारी अत्यधिक आएका थिए । उनी भन्छन्, ‘टुलटुल हेरेर बस्न बाहेक केही गर्न सकिने अवस्था थिएन ।’
हालैका दिनमा विभागहरूले क्रियाशीलता बढाउन थालेसँगै कार्यालयमा थप चहलपहल बढ्न लागेको थियो । कार्यालय नेता कार्यकर्ताको संख्या बढेसँगै केही महिना अघि क्यान्टिनलाई व्यवस्थित बनाइएको थियो ।
प्रदर्शनकारीले क्यान्टिनलाई पूर्ण क्षति पुर्याएका छन् । बुधबार दिउँसोसम्म धुँवाको मुस्लो कोठाहरूबाट आइरहेको थियो भने पछिल्लो भागमा आगो बलिरहेको थियो ।
तस्वीरहरू: आर्यन धिमाल
प्रतिक्रिया 4