
१८ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा मधेशको पश्चिमी भागमा अति भारी वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाको विवरण अनुसार, पर्साको कालिकामाईदेखि रौटहटको गौरसम्मका अति भारी वर्षा भएको हो ।
कालिकामाईदेखि गौरसम्म मौसम पूर्वानुमान महाशाखाका आधा दर्जन वर्षामापन केन्द्र छन् । ती सबै केन्द्रमा एक दिनयता २ सय मिलिमिटर भन्दा बढी पानी परेको हो । २४ घण्छामा २ सय मिलिमिटर भन्दा बढी पानी पर्नुलाई अति भारी वर्षा भनिन्छ, जुन खतराको तहभन्दा माथि हो ।
रौतहटको मधेशपुर स्टेसनमा सबैभन्दा बढी २७७ मिलिमिटर वर्षा भएको छ । रौतहटको गौरुडामा २०७ मिलिमिटर वर्षा भएको छ । गौरमा २५४ मिलिमिटर वर्षा भएको छ ।
बाराको कलैयामा २१८ मिलिमिटर वर्षा भएको छ । बीरगञ्जमा २२६ र मुदालीमा २३१ मिलिमिटर पानी परेको छ ।
अलि उत्तरतिरको भागमा भने तुलनात्मक रुपमा कम पानी परेको देखिन्छ । पर्साको टाँडी, बाराको सिमरा विमानस्थल र निजगढमा भारी वर्षा भएको छ । ती ठाँउमा १५० मिलिमिटरको हाराहारीमा मात्रै पानी परेको देखिन्छ ।
विवरणहरू हेर्दा, रौतहटदेखि पूर्व जनकपुरसम्म मध्यम वर्षा भएपनि पश्चिमी भागमा जस्तो खतराको तह पार गर्नेगरी पानी परेको देखिदैन ।
प्रतिक्रिया 4