६ मंसिर, काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सहमतिको सरकार गठनको पहल गर्ने बताएका छन् । त्यसका लागि दलहरुसँग छलफल गर्ने उनले बताए ।
आइतबार मुख्यमन्त्री पदको शपथ ग्रहणपछि पत्रकारहरुको जिज्ञासामा उनले सबै दलको सहमतिमा सरकार विस्तार गर्ने बताए । ‘सबै दललाई फेरि मिलाएर सहमतिको सरकार बनाएर राम्रो काम गर्ने,’ उनले भने ।
उनले मन्त्रिपरिषद् विस्तार र विश्वासको मत लिने विषयमा सोमबारदेखि नै सबै राजनीतिक दलसँग छलफल गर्ने जानकारी दिए । आफूले यसअघि पहिलोपटक विश्वासको मत लिँदा सबै दलको समर्थन प्राप्त गरेको उल्लेख गर्दै उनले यसपटक पनि सबै दलबाट विश्वासको मत लिएर सरकारलाई अगाडि बढाउन प्रयास गर्ने बताए ।
पहिलेको तुलनामा सरकारको गति पनि बढाउने उनले बताए । ‘मेरो प्रथम प्राथमिकता रहन्छ कि सबै दलबाट विश्वासको मत लिएर सरकारलाई अगाडि बढाउने,’ उनले भने, ‘मधेशको काम पहिले स्लो चलिरहेको थियो । अब राम्रो गति दिएर काम गर्ने ।’
भ्रष्टाचार नियन्त्रण गर्ने र सबै राजनीतिक दललाई समेटेर सरकार सञ्चालन गर्ने आफ्नो मुख्य प्राथमिकता रहेको उनको भनाइ छ ।
उनले मन्त्रिपरिषद् विस्तार पनि राजनीतिक दलहरूसँगको छलफलपछि टुंगो लाग्ने उल्लेख गरे ।
प्रतिक्रिया 4