२५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले सभापति शेरबहादुर देउवा र नेतृ डा. आरजु राणा देउवामाथिको आक्रमण समग्र लोकतन्त्र, सभ्य समाज र पार्टीमाथिको प्रत्यक्ष आक्रमण भएको बताएका छन् ।
कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबारको बैठकमा धारणा राख्ने क्रममा उनले जेनजी आन्दोलनका क्रममा भएको देउवा दम्पत्तमाथिको सांघातिक आक्रमण लोकतन्त्र, सभ्य समाज र पार्टीमाथिको प्रत्यक्ष आक्रमण भएको बताएका हुन् ।
‘उहाँहरू माथि भएको आक्रमण उहाँहरु माथि मात्र नभएर समग्र लोकतन्त्र, सभ्य समाज र नेपाली कांग्रेसमाथिको प्रत्यक्ष आक्रमण भएकोले दोषीहरूमाथि कडा कानुनी कारबाहीका लागि म जोडदार माग गर्दछु,’ नेता कार्कीले भने ।
शीतलनिवास, सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन, प्रहरी कार्यालयहरू विभिन्न राजनीतिक दलका कार्यालयहरू नेताहरूका निजी निवास, डेरा व्यवसायिक प्रतिष्ठान, कोइराला निवास, चाक्सीबारी, किशुनजीको आश्रमलगायत देशभर भएको तोडफोड, लुटपाट र आगजनीका घटनालाई उनले अत्यन्तै अकल्पनीय घटनाका रूपमा व्याख्या गरे ।
‘यो विध्वंशकारी र अल्पकल्पनीय घटना स्वस्फूर्त रूपमा भएको थिएन । यो घटना सुनियोजित र योजनाबद्ध थियो भन्ने कुरा म राख्न चाहन्छु,’ नेता कार्कीले भने, ‘अहिले जुन किसिमको दण्डहिनताले प्रश्रय पाइरहेको छ । यो दण्डहिनताले प्रश्रय पाइरह्यो भने, हामीले दण्डाहीनता अन्त्य गर्न सकेनौँ भने राज्य अकल्पनीय अस्थिरतातर्फ जाने कुरा म यहाँ राख्न चाहन्छु ।’
उनले जेनजी आन्दोलनका क्रममा जीवन गुमाएका जेनजी युवा र सुरक्षाकर्मीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारमा संवेदना प्रकट गरे । कार्कीले घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरूको उचित व्यवस्थापनका लागि तत्काल कदम चाल्न सरकारसँग माग गरे ।
प्रतिक्रिया 4