
२४ असोज, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले तोकिएकै मितिमा निष्पक्ष निर्वाचन गराउने एजेण्डालाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।
शीर्ष नेताहरुको बैठकमा कार्कीले प्रतिनिधि सभा पुनर्स्थापना अदालतको एजेण्डा भएको बताए । ‘प्रतिनिधि सभा पुनर्स्थापना अदालतको विषय हो, हाम्रो प्राथमिकता यो होेइन, निर्वाचन हो,’ कार्कीले भनेका छन् ।
मुलुक अप्ठ्यारोमा पर्दा सधैं कांग्रेसले नेतृत्वदायी भूमिका खेल्दै आएको पृष्ठभूमि सम्झदै कार्कीले पार्टीले निर्वाचनको बातावरण निर्माणमा जोड दिनुपर्ने बताए । ‘निर्वाचन घोषणा भइसकेको छ, कांग्रेसले ताजा जनादेशबाट भाग्न मिल्दैन,’ उनले भने, ‘यसलाई कसरी स्वतन्त्र, निष्पक्ष र धाधलीरहित बनाउन सकिन्छ । त्यस तर्फ दबाब दिनुपर्छ ।’
कार्कीले विशेष महाधिवेशनको आवश्यकता नरहेको पनि तर्क गरे । ‘विशेष महाधिवेशनको आवश्यकता छैन, यसले पार्टीभित्र ठूलो मतभेद सिर्जना गर्दछ,’ कार्कीले भने, ‘निर्वाचन पछि तुरुन्त नियमित अधिवेशन सम्पन्न गर्नुपर्छ ।’
जेनजी विद्रोहका क्रममा पार्टीका सभापति शेरबहादुर देउवा र नेतृ आरजु राणामाथि भएको कुटपिटलाई सामान्य रुपमा लिन नहुने पनि उनले बताए । त्यो कुटपिटको घटनालाई उनले लोकतन्त्र र कांग्रेस माथिको आक्रमण भएको तर्क गरे ।
‘सभापतिमाथि र तत्कालीन परराष्ट्रमन्त्री माथि जुन किसिमको आक्रमण भयो, त्यो लोकतन्त्र र कांग्रेस माथिकै आक्रमण हो,’ कार्कीले भने ।
प्रतिक्रिया 4