News Summary
Generated by OK AI. Editorially reviewed.- कुलमान घिसिङको नाममा उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता हुने भएको छ, जसको केन्द्रीय कमिटीमा ५१ सदस्य रहनेछन्।
- पार्टी जनमुखी, युवा केन्द्रित र भ्रष्टाचारविरुद्धको अभियानमा आधारित छ, जसले ७७ जिल्ला र ७५३ पालिकामा संगठन विस्तार गर्ने योजना बनाएको छ।
- पार्टीले \'एक व्यक्ति, एक पद\' र दुई कार्यकाल सिद्धान्त लागू गर्ने बताएको छ र नयाँ शक्तिसँग गठबन्धनका लागि खुला रहेको छ।
लामो समयको छलफलपछि कुलमान घिसिङको नाममा दल दर्ता हुने भएको छ । तत्कालको लागि पूर्वसचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा अरु सबै सदस्य रहने गरी निर्वाचन आयोगमा पार्टी दर्ता हुने भएको हो । चुनाव चिह्न भने बिजुलीको चिम नै रहने भएको छ । यसमा ५१ जना केन्द्रीय कमिटी हुनेछ ।
जेनजी आन्दोलनको जगमा बन्दै गरेको यो दल कस्तो हुन्छ त ? अरु वैकल्पिक शक्तिभन्दा कति फरक छ ? यो पार्टी व्यक्ति केन्द्रित पार्टी त हुने हैन ? यसका मूल्यमान्यताहरु के–के छन् ? भावी चुनावी रणनीति के छ ?
यिनै विषयमा मंगलबार निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिने तयारी गरेको उज्यालो नेपाल पार्टीका प्रस्तावित केन्द्रीय सदस्य जितराम लामासँग अनलाइनखबरका कौशल काफ्लेले गरेको कुराकानी :
लामो छलफलपछि अन्तत: पार्टी आउने भयो हैन त ?
हो, दिनभरि छलफल र तयारीमै व्यस्त थियौं । मंगलबार दिउँसोतिर निर्वाचन आयोगमा दल दर्ताका लागि पुग्ने योजना छ । केन्द्रीय कमिटीमा ५१ जना सदस्यहरू छन्, जसमध्ये केही परिवर्तन पनि हुनसक्छ । यो विषयमा साथीहरूसँग अन्तिम छलफल भइरहेको छ । फाइनल रूपमा भोलि नै स्पष्ट बताउने छौँ । तत्कालको लागि केही विवरणहरू गोप्य राखेर अगाडि बढिरहेका छौं ।
यो पार्टी कस्तो पार्टी बन्छ ?
पार्टीको अवधारणा भनेको जनमुखी र युवा केन्द्रित छ, जसले पुरानो कुशासन र भ्रष्टाचारलाई उजागर गरी नयाँ उज्यालो ल्याउने लक्ष्य राख्छ ।
तपाईंहरुको पार्टी निर्माणको जगचाहिँ के हो ? पार्टी निर्माणको लागि कहिलेबाट काम गरिरहनुभएको थियो ?
जेनजी आन्दोलनले युवाहरूको नेतृत्व, सुशासन र भ्रष्टाचारविरुद्धको आवाजलाई बल दियो । त्यसपछि नै पार्टी निर्माणको बहस स्वाभाविक रूपमा आयो । यसको जग भनेको कुलमान घिसिङले गत वर्षदेखि नै चलाएको ‘उज्यालो नेपाल अभियान’ हो ।
यो अभियान नेपाल विद्युत प्राधिकरण उहाँले राजीनामा दिएपछि सुरु भएको थियो । पछिल्लो क्रममा देशव्यापी फैलियो । तराईदेखि पहाडसम्मका ७७ जिल्लादेखि युरोप, अमेरिका, मध्यपूर्वसहित विदेशमा रहेका नेपालीहरूबीच । यसले नयाँ पार्टी आवश्यक छ भन्ने कुरा झन बुझायो ।
त्यसपछि विभिन्न सरोकारवालाहरूसँग छलफल भयो । राष्ट्रिय स्वतन्त्र पार्टी, बालेन शाहदेखि हर्क साम्पाङसम्म । हामीले पनि पार्टी निर्माणमा योगदान दियौं ।
जेनजी आन्दोलनपछि यसलाई युवाका मागहरूसँग जोडेर अगाडि बढायौं । कुलमानजी त आन्दोलनकै क्रममा सडकमा देखिनुभएको थियो । उहाँको अभियानले राजनीतिक दल गठनको आधार तयार पारेको हो ।
बालेन शाहको सचिवालय, सुदन गुरुङको जेनजी समूह र संयुक्त पहिचानवादी मोर्चा पनि जोडिएका रहेछन् नि ! ती समूहका प्रतिनिधि कसरी आउनुभएको छ ?
हो । यसमा सबै समूहबाट प्रतिनिधिमूलक सहभागिता छ । बालेन शाहनिकट केही प्रतिनिधि यसमा जोडिनुभएको छ । अरुको हकमा पनि त्यस्तै हो । यसबारे विस्तृतमा सार्वजनिक गर्नेछौँ ।
सुदन गुरुङको जेनजी समूहबाट छ वटा प्रदेश संयोजकहरू केन्द्रीय सदस्यका रूपमा सामेल छन् । सागर ढकालजस्ता साथीहरू पनि हुनुहुन्छ, जो पछि जोडिनुहुन्छ ।
सुमना श्रेष्ठ पनि छलफलमै हुनुहुन्थ्यो । तर, किन कुरा मिलेन नि ?
त्यस्तो केही हैन । हामी पछि पनि जोडिने सम्भावनाहरु सकिएका छैनन् । अहिले नामलगायत केही कुराहरुमा नमिल्दा उहाँ हामीसँग आउनुभएन । नत्र हाम्रो आइडियोलोजी वा अरु कुरामा विवाद छैन ।
यो पार्टीको अवधारणाचाहिँ के–कस्तो छ ?
यो मास–बेस्ड पार्टी हो, जसमा संगठन निर्माणलाई प्राथमिकता दिइएको छ । दुई महिनाभित्र ७७ जिल्ला, ७५३ पालिका र सबै वडाहरूमा कमिटीहरू गठन गर्ने कार्ययोजना छ । प्रदेश, जिल्ला र स्थानीय तहसम्म पुग्नेछौं । हामी न त पूर्ण राइट न त लेफ्ट–स्ट्रेट फरवार्ड ।
अर्थतन्त्रमा उदार नीति र पुँजी विकासलाई जोड दिन्छौं, तर शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षामा राज्यको जिम्मेवारी सुनिश्चित गर्छौँ । विपन्न वर्ग, पछाडि परेका समुदायहरू (किसान, मजदुर) को लागि समानुपातिक समाजवादमा काम गर्छौँ । योग्यतावादलाई (राइट म्यान इन राइट प्लेस) प्राथमिकता दिन्छौँ ।
संविधानको सर्वोच्चता, विधिको शासन, सामुदायिक समावेशी लोकतन्त्र, बहु–सांस्कृतिकवाद, राष्ट्रिय एकता मूल नारा हुनेछन् । बहुलवादमा आधारित लोककल्याणकारी राज्य, नागरिक स्वतन्त्रता, मानव अधिकार, सुशासन, जवाफदेहिता, पारदर्शितामाथि प्रतिबद्धता हुनेछन् ।
निष्पक्ष चयन प्रणाली, प्रेस स्वतन्त्रता, वातावरणीय अधिकार र जलवायु न्यायलाई पनि केन्द्रमा राख्छौं । डिजिटलाइजेसन र डिजिटल डेमोक्रेसीमा विश्वास छ । युवा–आधारित नेतृत्व विकास हाम्रो मुख्य उद्देश्य हो । यी विषय नै समेटेर घोषणापत्र र दस्तावेजहरू तयार भइसकेका छन् ।
कुलमान घिसिङ आफैँ संयोजक बनेर जानसक्नुहुन्थ्यो नि ! किन त्यसो गर्नुभएन ?
कुलमानजी हामीसँगै हुनुहुन्छ । तर, हाम्रो पार्टीको सिद्धान्त नै ‘एक व्यक्ति, एक पद’ हो । यो विषयलाई एकदम स्ट्रिक्टली फलो गर्छौँ । त्यसैले अहिले उहाँ सरकारमा रहँदा पार्टी नेतृत्वमा बस्न मिल्दैन । राज्यको स्रोतसाधन पार्टी निर्माणमा प्रयोग हुनुहुँदैन । अहिले उहाँ मन्त्री हुनुहुन्छ, त्यसैले तत्काल सक्रिय नभए पनि नैतिक समर्थन दिनुहुन्छ । चुनावअघि फर्किनुभयो भने सरकार छोड्नुहुन्छ र पार्टी अध्यक्ष बन्नुहुन्छ ।
भनेपछि, भोलि चुनाव जितेर सरकारमा जानुपर्ने अवस्थामा पार्टी पदाधिकारीले राजीनामा दिएर जानुपर्ने हो ?
हो । भोलि सरकारमा जानुपर्दा जो कोहीले पार्टीको पदाधिकारी पद त्याग गरेर जानुपर्छ । यो पारदर्शिताको लागि हो ।
पार्टीको नाम ‘उज्यालो नेपाल’ र चुनाव चिन्ह ‘बिजुलीको चिम’ले त यो पार्टी सुरुबाटै व्यक्तिकेन्द्रित भएजस्तो देखिन्छ नि ?
होइन, हामी व्यक्ति केन्द्रित छैनौँ । यो नाम र चिन्हको मतलब समग्र नेपालीको मुहारमा उज्यालो ल्याउने अभियान हो भनेर संकेत गरेका हौँ । कुरीति, विकृति, भ्रष्टाचार जस्ता अन्धकार हटाउने उद्देश्य हाम्रो छ । कुलमानजीले व्यक्तिलाई होइन, उज्यालो भविष्यलाई प्रतिनिधित्व गर्नुहुन्छ ।
बिजुलीको चिम उज्यालो र प्रगतिको प्रतीक हो, जसले नेपाललाई लोडसेडिङमुक्त बनाएजस्तै राजनीतिलाई पनि उज्यालो बनाउने सङ्केत गर्छ ।
जेनजी आन्दोलनको भावनासँग यो पार्टी कसरी जोडिन्छ ?
जेनजीको नेतृत्व, युवा, सुशासन र भ्रष्टाचारविरुद्धको माग हाम्रो प्रतिबद्धतामा नै पर्छ । प्रत्यक्ष निर्वाचित राष्ट्रपतिका विषयमा हामी पछि जनतामाझ गएर छलफल गर्छौँ । सबैभन्दा महत्वपूर्ण, यो युवा आन्दोलनको जगमा नै उभिएको पार्टी हो ।
संविधान संशोधनबारे तपाईंहरूको स्ट्यान्ड के हो ?
हामी दुई तिहाइ बहुमत ल्याएर संशोधन गर्छौँ र जनताको संविधान बनाउनेछौँ ।
जनताको संविधान भन्नाले केलाई संकेत गर्नुभएको हो ?
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री वा पाँचवर्षे स्थायी सरकारको बहस छ, यसबारे व्यापक छलफल गर्छौँ । त्यसबाहेक अहिलेको अवस्थामा विपन्न समुदायको हकहितका लागि पनि संविधान संशोधन आवश्यक छ । त्यसबारे विस्तृतमा खुल्दै जान्छन् । हामी पनि छलफलमै छौँ ।
मुख्य कुरा संविधानको सही कार्यान्वयन नै अहिलेको आवश्यकता हो । मौलिक हकहरूको कार्यान्वयनमा देखिएको चुनौती सम्बोधन गछौँ । प्रणालीका विषयमा पनि सम्बन्धित विज्ञहरुसँग सल्लाह लिन्छौँ र सोहीअनुसार सधैँ जनताको हितमा काम गर्छौं ।
हामी फरक हौँ भन्दै धेरै वैकल्पिक शक्तिहरू आए । तपाईंहरू ती वैकल्पिक शक्तिको पनि विकल्प हो ? कि के फरक छ ?
सिधा भन्दा, हामी काममा विश्वास गर्छौँ । वैचारिक रूपमा फरक छौं । जस्तो, एक व्यक्ति एक पद, अनि एक कार्यकालको सिद्धान्त लागु हुन्छ । कुनै पदमा दुई कार्यकालभन्दा बढी उम्मेदवार बन्दैन । केन्द्रीय सदस्यदेखि पदाधिकारीसम्म यो कुरा लागू हुन्छ । नारामा मात्र नभई व्यवहारमा फरक देखाउँछौं । यही नै हाम्रो फरक हो । पछि व्यवहारले पनि यी कुरा पष्टि गर्दै लान्छन् ।
अन्त्यमा, अब तपाईंहरुको चुनावी रणनीति के छ ? सबै क्षेत्रमा उम्मेदवार उठाउनसक्नुहुन्छ ? गठबन्धनको प्रस्ताव आए के गर्नुहुन्छ ?
सबै क्षेत्रमा उम्मेदवार उठाउँछौं । गठबन्धनका लागि पूर्ण ओपन छौं, तर नयाँ शक्तिहरुसँग मात्र त्यो हुनेछ । नयाँ शक्तिहरूसँग मिलेर पुरानो कुशासन अन्त्य गर्न तयार छौं । यो वैकल्पिक शक्तिहरूलाई एक बनाउने प्रयास पनि हो । आगामी रणनीति कस्तो हुन्छ भनेर अझ स्पष्ट रुपमा हामी तपाईंहरूलाई छिटै बताउनेछौँ ।
प्रतिक्रिया 4