News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकी दूतावासले काठमाडौंमा ‘क्रिएटर्स मेला २०२६’ आयोजना गरी नेपालको रचनात्मक अर्थतन्त्रलाई सुदृढ पार्ने प्रतिबद्धता देखाएको छ।
- मेलामा ५० भन्दा बढी क्रिएटर्स, कलाकार र औद्योगिक विशेषज्ञ सहभागी थिए र एकहजारभन्दा बढी नवयुवा क्रिएटर्सले भाग लिएका थिए।
- ‘पिच टु सक्सेस’ अन्तर्गत उदीयमान क्रिएटर्सले शीर्ष कर्पोरेट नेतृत्वकर्तासमक्ष आफ्ना व्यावसायिक उद्यम र योजनाका प्रस्ताव राखेका थिए।
काठमाडौं । ‘भिजन टु भेन्चर’ को उद्देश्यसहित अमेरिकी दूतावासले आयोजना गरेको ‘क्रिएटर्स मेला २०२६’ सम्पन्न भएको छ । ठमेलस्थित अलफ्ट होटलमा शुक्रबार र शनिबार मेला आयोजना भएको थियो ।
चितवन र नेपालगञ्जपछि राजधानी काठमाडौंमा मेला आयोजना गरिएको थियो । अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करले कार्यक्रमलाई सम्बोधन गर्दै मेलाले नेपालको रचनात्मक अर्थतन्त्रलाई सुदृढ पार्ने अमेरिकी प्रतिबद्धतालाई दर्शाएको बताए ।
उनले भने, ‘‘नेपालभर ज्ञान, सीप र सञ्जाललाई बढावा दिँदै हामीले उद्यमशीलता र रोजगारी सिर्जनालाई टेवा पुर्याउँदै छौँ । हामी नेपाली क्रिएटर्सलाई स्थानीय प्रभावका लागि मात्र नभई अमेरिकी व्यावसायिक साझेदार तथा विश्वव्यापी बजारको सफलताका लागि तयार पार्दै छौँ, जसले गहन आर्थिक सम्बन्ध र साझा समृद्धिलाई प्रोत्साहित गर्नेछ ।’
मेलामा ५० भन्दा बढी क्रिएटर्स, औद्योगिक विशेषज्ञ र कलाकारको सहभागिता थियो । एकहजार भन्दा बढी नवयुवा क्रिएटर्स सहभागी काठमाडौंको मेलामा
गायक सज्जनराज वैद्य, नितेशजंग कुवँर, कलाकार प्रियङ्का कार्की, टुबी गेमर, पूर्वमिस नेपाल अस्मी श्रेष्ठ, टिभी होस्ट ओसिन सिटौला, डान्सर कविता नेपाली, नेपाल एट्थ वन्डर, लेक्स लिम्बु लगायत अन्य थुप्रै प्रभावशाली कलाकार र इन्फ्लुएन्सर सहभागी थिए ।

शुक्रबार कलाकारले नाटक मञ्चन गरे । क्रिएटर्सले मौलिकतालाई कसरी संरक्षण गर्नेछन् भन्ने विषयमा भ्लगर लभ, इट, रिपिट तथा एलेना डन र रेहन श्रेष्ठले मन्थन गरे ।
‘बाह्य तथा आन्तरिक व्यक्तित्व’ विषयमा अस्मी श्रेष्ठ र ओसिन सिटौलाले छलफल गरे । कविता नेपालीले आकर्षक नृत्य प्रस्तुत गरिन् । लेक्स लिम्बु र प्रियंका कार्कीले प्रत्येक पोस्ट पछाडि हुने रणनीतिबारे चर्चा गरे ।
किरण नेपालीले आकर्षक सांगीतिक प्रस्तुुति दिए । राइनो लेदर्सको पहिरनमा फेसन शो पनि प्रस्तुत गरियो । कुन कुराले ब्रान्डको ध्यान तान्छ भन्ने विषयमा क्याबिनेट श्रेष्ठ, बिशाखा खड्का कुवँर र आनन्द बगारियाले छलफल गरे ।
पहिलो दिन सज्जनराज वैद्यले सांगीतिक प्रस्तुति दिएका थिए । प्रभाव फैलाउनु पछाडिको संख्याको निर्भरता नहुने विषयमा फेसन डिजाइनर शिवांगी प्रधानले संवाद गरिन् । संगीतको सहि प्रयोग कसरी गर्ने भन्ने बारेमा समृद्धि राईले कुरा गरिन् ।
शनिबार अर्थात दोस्रो दिनको सुरुवात पनि अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करको सम्बोधनसँगै सुरु भएको थियो । यस दिनमा प्यानलको सुरुवात क्रिएटर्सको जीवन कस्तो देखिन्छ भन्ने विषयबाट सुरु भएको थियो ।

डिजिटल कन्टेन्ट क्रिएटरहरू सुपथ श्रेष्ठ, एकता तण्डुकार र श्रीशेष मानन्धरबीच छलफल चलाइएको थियो । ‘नेपाल विश्वमंचमा ः क्रिएटर्स कसरी त्यहाँ पुगे’ चर्चित फिल्म ‘शाम्बाला’ अभिनेत्री थिन्ले ल्हामो, अभिनेता सोनम तोप्देन र टुबी गेमरबीच यसबारे संवाद भयो ।
नितेशजंग कुवँर, उजन शाक्यले सांगीतिक प्रस्तुति दिए ।
कार्यक्रमको मुख्य आकर्षण ‘पिच टु सक्सेस’ अन्तर्गत सहभागी भएर उदीयमान क्रिएटर्सले आनन्द बगरिया (निम्बस), क्याबिनेट श्रेष्ठ (अग्नि समूह) र विशाखा खड्का कुँवर (एनसेल) लगायतका नेपालका शीर्ष कर्पोरेट नेतृत्वकर्ताको प्यानलसमक्ष आफ्ना व्यावसायिक उद्यम र योजनाका प्रस्ताव राखेका थिए ।
यस वर्षको संस्करणले यो महत्वपूर्ण मञ्चमार्फत डिजिटल सामग्रीको सृजनामाथि केन्द्रित रहेर दिगो पेसागत व्यवसाय लक्षित यात्रातर्फ छलफल अघि बढाएको छ ।
यस वर्षको विषयवस्तु ‘भिजन टु भेन्चर’ ले डिजिटल कथावाचन र व्यावसायिक उद्यमबीचको खाडल पुर्ने कार्य गरिरहेको दूतावासले जनाएको छ ।
प्रविधि, डिजिटल प्लेटफर्मबाट हुने आयआर्जन र डिजिटल व्यवसाय विकासमा रहेको अमेरिकी विज्ञतालाई समाहित गर्दै यस मेलाले डिजिटल सामग्रीका सर्जकलाई आफ्नो प्रभावलाई दीर्घकालीन पेसाकर्मका रूपमा विकसित गर्न मार्गचित्र प्रदान गर्ने उल्लेख छ ।
सन् २०२३ मा सुरु भएदेखि नै क्रिएटर्स मेला नेपालको डिजिटल परिदृश्यको मुख्य केन्द्रका रूपमा छ । हाल मेलाको चौथो संस्करण सन् २०२६ को ‘भिजन टु भेन्चर’ पहलले क्रिएटर अर्थतन्त्रको व्यावसायिकीकरण गर्न र नेपालभर आर्थिक वृद्धिलाई टेवा पुर्याउने दूतावासको भनाइ छ ।




प्रतिक्रिया 4