+
+
Shares

‘नेपथ्य’ सङ्गीत यात्रा : बन्दीपुरमा हजारौं दर्शकमाझ गुञ्जियो ‘जोगले हुन्छ भेट’

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ४ गते १२:१२
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लोकप्रिय लोक रक ब्यान्ड नेपथ्यले तनहुँको बन्दीपुरमा प्रेम दिवसका अवसरमा भव्य कन्सर्ट आयोजना गरी दर्शकलाई १७ गीत सुनाएको छ।
  • बन्दीपुरमा आयोजित कन्सर्टमा विदेशी दर्शक जोसेफ र एलिभिया लगायत भ्लगर ज्याकले पनि सहभागिता जनाएका थिए।
  • नेपथ्यले आगामी नोभेम्बरमा नेपाल यात्रा पुनः सुरु गर्ने र फेब्रुअरी २८ मा भारतीय सहर सिलिगुडीमा कन्सर्ट गर्ने तयारी गरेको छ।

बन्दीपुर (तनहुँ) । विश्वभरिका प्रेमीप्रेमिका प्रेम दिवसमा रमाइरहेको बेला तनहुँको चिटिक्क पहाडी बस्तीमा शनिबार बेग्लै रमझम चलिरहेको थियो । देशका तीन सहरमा भव्य कन्सर्ट गरेर बन्दीपुर आइपुगेको लोकरक ब्यान्ड ‘नेपथ्य’ ले दर्शकको घुइँचोमाझ तन्नेरी मनका गीतहरू गुन्जाउँदै थियो ।

निर्धारित समयमै कार्यक्रम थालनी गर्दा बन्दीपुरमा बेलुकीको चिरपरिचित सिरसिरे हावा चल्न सुरु भएको थियो । मञ्चमा आएका ब्यान्ड सदस्यहरूले पहिलो कोसेलीस्वरूप ‘हो रामा रामा’ सुनाए ।

परसम्मकै बस्तीहरू जोडेर तयार भएको यो सिङ्गो गाउँपालिकाकै जनसंख्या १९ हजार छ, ‘नेपथ्य’ हेर्न आउने दर्शकको संख्या नै त्यसको एकतिहाइ देखिन्थ्यो । शनिबार साँझ बन्दीपुरमा जुटेका दर्शकमा अन्यत्रबाट आएकाहरूकै बाहुल्य थियो ।

यहाँ विदेशी दर्शकको उपस्थिति पनि जताततै देख्न सकिन्थ्यो । तिनैमध्ये जोसेफ र एलिभियाको तन्नेरी जोडी पनि थियो । बेलायतबाट बिदामा घुम्न आएका उनीहरू पोखराबाट काठमाडौं फर्कने क्रममा एक दिनअगाडि मात्र बन्दीपुर आएका थिए ।

‘यो रमाइलो ठाउँमा घुम्दै गर्दा कन्सर्टको पोस्टर देखेपछि हामी बसेको होटल ओल्ड इनका कर्मचारीसँग जिज्ञासा राख्यौं,’ जोसेफले भने, ‘लोकभाकामा आधारित गीत गाउने पुरानो रक ब्यान्ड हो भन्ने जानकारी पाएपछि तत्कालै टिकट लिएर यता आएका हौँ ।’ उनीहरू कार्यक्रम अवधिभरि रमाइरहेका देखिन्थे ।

‘यस्तो राम्रो समूहले हाम्रै सहरको वेम्बली एरिनामा दुईपटक शो गरिसकेको जानकारी पनि पायौँ,’ उनीहरूले भने, ‘अब लन्डनमा नेपथ्य आयो भने थप साथी लिएरै उताको शो पनि हेर्न जाने निधो गरेका छौँ ।’ कन्सर्ट हेर्न आउने सबै विदेशी जोसेफ र एलिभियाजस्ता पनि थिएनन् । एक यस्ता विदेशी तन्नेरी पनि थिए, जसको नजिक पुगेर दर्शकले सेल्फी खिचिरहेको देखियो ।

‘यी प्रसिद्ध भ्लगर ज्याक दाइ हुन्,’ उनीतर्फ बढ्दै गरेकी एक युवतीले उनको परिचय दिइन्, ‘नेपाली प्रस्ट बोल्ने भएकाले असाध्यै लोकप्रिय छन् ।’

प्रशंसकबाट फुर्सद पाउनासाथ ज्याक दाइले नेपथ्य कन्सर्टबारे प्रतिक्रिया दिए, ‘मैले १३ वर्षअघि पहिलोपटक नेपथ्यको कन्सर्ट हेरेको थिएँ,’ २२ वर्षदेखि नेपालमै बस्दै आएका उनले भने, ‘यस ब्यान्डको कन्सर्टमा अहिलेसम्म गरेर चारपटक उपस्थित भएको छु, अहिले पनि उत्तिकै ऊर्जा महसुस भइरहेको छ ।’

साथी उत्सव सापकोटाको निम्तो पाएपछि पोखराबाट शनिबारै बन्दीपुर आएको जानकारी पनि उनले दिए । यता कार्यक्रम अगाडि बढ्दै गएको थियो ।

‘आज प्रेम दिवस भएकाले मलाई पनि मेरा कलेजका दिनहरू याद आइरहेका छन्,’ मञ्चमा गायक अमृत गुरुङ भनिरहेका थिए, ‘हामी तन्नेरी हुँदा लेखेको नेपथ्यको पहिलो गीत तपाईंहरूलाई सप्रेम प्रस्तुत गर्दै छु ।’ त्यसपछि उनले ‘आँगनैभरि’ गाएर सुनाए । मैदानभरि अटाएका युवकयुवतीले चिच्याएर उनलाई साथ दिइरहे ।

‘मोटर यातायात नचल्दा सिङ्गो गण्डक भेगका बासिन्दालाई भारतसँग जोड्ने यो नाकाको बस्ती एक समय यौवन हराएको ठाउँजस्तो नीरस भेटेको थिएँ,’ गायक अमृतले बन्दीपुरको अनुभव साटे, ‘पछि यहाँका बासिन्दा आफैँ जागेर यो बजारलाई फेरि पर्यटकीय बस्तीका रूपमा गुलजार बनाए । यसको प्रेरणा देशभरि फैलियोस् भन्ने कामना गर्छु हई…।’

कन्सर्टमा स्थानीय भाका सुनाउने जमर्को गर्दै नेपथ्यले लोकभाका ‘कौडा’ मा आधारित गीत ‘जोगले हुन्छ भेट’ गुन्जायो । यता दर्शकको भिडमा ७५ वर्षीय शम्भु कार्की पनि रमाइरहेका थिए । लमजुङको सुन्दरबजारका उनले सानैदेखि कौडा सुन्दै आएका रहेछन् ।

‘हामीले सुनेका कौडा गीतमा समूहले गाउँथ्यो र अलिक बेग्लै हुन्थ्यो,’ हाल दमौलीमा बसोबास गर्दै आएका शम्भुले टाउकाको ढाकाटोपी मिलाउँदै प्रतिक्रिया दिए, ‘यहाँ एकै जनाले गाइरहेको र अलिक बेग्लै पाराको भए पनि मलाई उत्तिकै रमाइलो लागिरहेको छ।’

कन्सर्ट हेर्न आउनेहरूमा बन्दीपुर क्याम्पसमा २७ वर्षसम्म अध्यापन गरेका पूर्वक्याम्पस प्रमुख विक्रम पिया पनि थिए । ‘नेपालको ग्रामीण सौन्दर्य अनुभव गर्न आउने पर्यटकलाई यस बजारले आकर्षित गर्दै आएको थियो,’ पत्नीसहित अन्तिमसम्मै रमाइरहेका पियाले थपे, ‘यो भव्य कन्सर्टको आयोजनासँगै अब साङ्गीतिक गतिविधिमा रमाउने केन्द्रका रूपमा पनि बन्दीपुरको सम्भावना खुलेको छ ।’

पियाका अनुसार बजारभित्रै सानातिना साङ्गीतिक कार्यक्रम यसअघि पनि आयोजना हुँदै आएको थियो, टुँडिखेलको मैदानमै यस किसिमको भव्य कार्यक्रम भएको भने यो पहिलो पटक हो ।

ब्यान्डले दुई घण्टासम्म लगातार १७ गीत सुनाएको थियो । ब्यान्डको प्रस्तुति राष्ट्रिय झन्डाको महिमागान गर्दै ‘रातो र चन्द्रसुर्जे’ बाट अन्त्य भएको थियो । मञ्चमा अमृतलाई सदाझैँ ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।

‘कन्सर्टमा बाहिरबाट आएका दर्शकको व्यापक उपस्थितिले हामीलाई भविष्यमा फेरि यस्तै ठूलो कार्यक्रम आयोजना गर्ने हौसला मिलेको छ,’ स्थानीय आयोजक ‘खड्गदेवी बन्दीपुर युथ क्लब’ का मनु गुरुङले भने, ‘यति सानो ठाउँमा यति धेरै दर्शकलाई कसरी व्यवस्थित तवरले मनोरञ्जन प्रदान गर्न सकिन्छ भनेर सिक्ने मौका पनि हामीले पाएका छौँ ।’

बन्दीपुरको प्रस्तुति सम्पन्न भएसँगै नेपथ्यको यसपालिको नेपाल यात्रा शृङ्खला पूरा भएको छ । अब आगामी नोभेम्बरमा नेपाल यात्राको अर्को शृङ्खला गर्ने तयारी छ ।

ब्यान्डको अबको प्रस्तुति भारतीय सहर सिलिगुडीमा दुई सातापछि हुनेछ । फेब्रुअरी २८ मा त्यहाँस्थित ‘उत्सोधारा टिस्टा टाउनसिप’ मा नेपथ्यले नेपाली लोकरक गीत सुनाउनेछ । पश्चिम बङ्गाल राज्यका पहाडी बस्तीहरूलाई जोड्ने उक्त ‘बिसौनी महानगर’ मा ब्यान्ड पहिलोपटक प्रस्तुत हुन लागेको हो ।

दर्शक सुविधा ध्यानमा राखेर सिलिगुडी कन्सर्टका लागि पनि सोझै अनलाइनबाट टिकट काट्न सकिने प्रबन्ध मिलाइएको छ । अनलाइन बुकिङका लागि नेपथ्यको आधिकारिक वेबसाइटमार्फत टिकट सुरक्षित गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?