+
+
WC Series
काठमान्डु गोर्खाज 2025
0/0
VS
सुदूरपश्चिम रोएल्स 2025
142/9 (18.5)
Shares

टोकियोमा हजारौं दर्शकमाझ गुञ्जियो ‘नेपथ्य’

रेल संजालले जोडिएको नागोयापछि ब्याण्डले टोकियोमा भब्य प्रस्तुति दिएको हो । नेपालीको बाक्लो बसोबास रहेको ब्याण्डको टोकियो कन्सर्टमा सहभागी हुन अन्य सहरबाट समेत नेपाली त्यहाँ पुगेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ३ गते १७:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपथ्य ब्याण्डले टोकियोको टोकियो डमको तोयोसु पिट हलमा १६ गीत गाएर दुई घन्टा भन्दा बढी सांगीतिक प्रस्तुति दिएको छ।
  • मुख्य गायक अमृत गुरुङले नेपालीलाई विदेशमा कमाएको सीप र धन आफ्नो देशमा लगाउन आग्रह गर्नुभयो।
  • ब्याण्डले जेनजी आन्दोलन र चुनावमार्फतै देश परिवर्तन गर्नुपर्ने कुरामा जोड दिंदै राष्ट्रप्रेमी गीत 'रातो र चन्द्रसूर्य' प्रस्तुत गरेको छ।

टोकियो । जापान टूरमा रहेको लोकरक ब्याण्ड ‘नेपथ्य’ राजधानी टोकियोमा गुञ्जिएको छ । हजारौंको संख्यामा उपस्थित दर्शकलाई मुख्य गायक अमृत गुरुङले आफ्ना लोकप्रिय गीतमार्फत छमछमी नचाए ।

रेल संजालले जोडिएको नागोयापछि ब्याण्डले टोकियोमा भब्य प्रस्तुति दिएको हो । नेपालीको बाक्लो बसोबास रहेको ब्याण्डको टोकियो कन्सर्टमा सहभागी हुन अन्य सहरबाट समेत नेपाली त्यहाँ पुगेका थिए ।

मंगलबार बेलुकी टोकियोस्थित टोकियो डमको तोयोसु पिट हलमा १६ वटा गीत गाएर ब्याण्डले २ घन्टा भन्दा बढी समय दर्शकलाई मनोरञ्जन दियो ।

‘घिनिनिनि, तिनिनिनि, तिनिनिनि ,घिनिनिनि’ बाट प्रस्तुति सुरु भएको प्रस्तुति अन्य चर्चित गीतहरू ‘भेडाको ऊनजस्तो’, ‘मैं नाचें छमछमी’, ‘रेशम’, ‘तालको पानी’ गाउँदा उत्कर्षमा पुगेको थियो । गीतसँगै दर्शक मजाले झुमे ।

संगीतमा झुमिरहेका दर्शकसँग ब्याण्डका अगुवा तथा प्रमुख गायक गुरुङले ३ दशकभन्दा लामो यात्राको अनुभव सुनाउदै भने, ‘ तपाईंहरुको यो मायाले गर्दा आज नेपथ्य ब्याण्डले टोकियोमा दोस्रो पटक सांगीतिक प्रस्तुति दिइरहेको छ ।’

अमृतले सो अवसरमा मिलन विछोडका यादबारे स्मरण गराउँदै नेपालीलाई सीप सिकेर र धन कमाएर देश फर्किन आग्रह गरे ।

उनले भने, ‘तपाईंहरू विदेशमा अध्ययन, रोजगारीको लागि आउनुभएको छ । यहाँको सीप र धन सम्पत्ति कमाएर आफ्नो देशलाई नभल्नू है ।’

बीच-बीचमा अमृतले आफ्ना हिट गीतहरू ‘आँगनैभरि हिउँ नै झरे, आरु फूल टिपि राखे है’ गाउँदै दर्शकलाई नचाउँदै फेरी अनुभव साटासाट गरे । कन्सर्टसँग दर्शकसँगको अन्तक्रियामा ब्याण्ड प्रस्तुत भएको थियो ।

‘नेपालमा अझै हजारौं मान्छेले शिक्षा पाएका छैनन्, उपचार पाएका छैनन्’ उनले भने, ‘तपाईंहरूको एक दिनको कमाइ भएनी नेपालमा भएका त्यस्ता व्यक्तिलाई सहयोग गर्नुहोला है ।’

ब्याण्डले गीतमार्फत देशको परिस्थितीप्रति समेत चिन्ता व्यक्त गर्‍यो । गायक गुरुङले हालैको जेनजी आन्दोलनलाई सम्झिए ।

‘अबको परिवर्तन भनेको चुनावबाटै गर्न सकिन्छ । तपाईंहरू पढे लेखेको मान्छे हुनुहुन्छ, चुनावमा भोट हाल्दा आफू नगए पनि आफ्नो घर, परिवार र छरछिमेकीलाई राम्रो मान्छे चुन्नको लागि म आग्रह गर्दछु ।’

देश समृद्ध बनाउनुको विकल्प चुनाव नै रहेको उनले बताए । कन्सर्टको अन्त्यतिर राष्ट्रप्रेमी गीत ‘रातो र चन्द्रसूर्य’ गुञ्जिँदा उपस्थित दर्शकले छातीमा हात राखेर अमृतलाई गायनमा साथ दिए ।

कन्सर्टको बिट मार्दै उनले भने, ‘यो हिमालयको देशलाई या भनौं रातो र चन्द्रसूर्य अंकित झण्डालाई कहिल्यै झुक्न नदिनुहोला । हाम्रो पुर्खाहरूले आर्जेको देशलाई कहिल्यै नभल्नुहोला ।’

टोकियो कन्सर्टमा गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य र गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए ।

टूरको अन्तिम प्रस्तुतिस्वरुप ब्याण्डले आउँदो सोमबार २४ नोभेम्बरमा ओसाकामा प्रस्तुति दिँदैछ ।

माथिको तस्वीर ‘जीएम स्टुडियो’ र सामाजिक सञ्जाल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?