४ फागुन, काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलका उम्मेदवारहरूले आजदेखि प्रचारप्रसारलाई तीव्र पारेका छन् ।
निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था गरेको छ ।
सोही व्यवस्थाअनुसार आजदेखि १८ फागुन राति १२ बजेसम्म राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन प्रचारप्रसार गर्न सक्ने छन् ।

चुनावी प्रचारप्रसारमा राजनीतिक दल तथा दलका उम्मेदवारहरू जुटिरहँदा निर्वाचन लक्षित भर्ना गरिएका निर्वाचन प्रहरीहरू पनि तोकिएका फिल्डमा खटिएका छन् ।
१० दिने तालिम लिएर उनीहरू तोकिएका फिल्डमा परिचालित छन् । निर्वाचन प्रहरीको पोशाकमा उनीहरू देशका विभिन्न क्षेत्रमा तैनाथ छन् ।

हट सिटका रूपमा हेरिएको चितवन निर्वाचन क्षेत्र नम्बर-३ अन्तर्गत माडीमा पनि निर्वाचन प्रहरी परिचालन भएका छन् । सोमबार दिउँसो माडी बजार क्षेत्रमा उनीहरू ड्युटी खटिएको देख्न सकिन्थ्यो ।

यो क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट रेनु दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सोविता गौतम, नेपाली कांग्रेसबाट टेकप्रसाद गुरुङ र नेकपा एमालेबाट शंकरराज थपलिया चुनावी मैदानमा छन् ।
दाहाल र गौतम यस क्षेत्रबाट चुनावी मैदानमा रहेका कारण यो क्षेत्रलाई निकै चासोका साथ हेरिएको छ ।
यो पटकको चुनावमा देशभरि एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी परिचालन भएका छन् ।

प्रतिक्रिया 4