News Summary
Generated by OK AI. Editorially reviewed.- बन्दीपुरमा परम्परागत पोशाक लगाएर फोटो खिच्ने नयाँ ट्रेन्ड चलेको छ जसले युवाहरूलाई सामाजिक सञ्जालमा सक्रिय बनाएको छ।
- गत वर्ष बन्दीपुरमा ६ लाख ३५ हजार पर्यटक पुगेका थिए र यस वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ।
- नेपाल पर्यटन बोर्ड पोखराले गण्डकीका ५० होमस्टे गाउँहरूलाई जोडेर होमस्टे व्यवसायलाई व्यवस्थित र व्यावसायिक बनाउन छलफल सुरु गरेको छ।
१७ वैशाख, पोखरा । भक्तपुरे शैलीका पुराना घर । काठका झ्याल ढोका । लस्करै बनेका घरहरूको बीच सडकमा सर्लक्क छापिएका सेलेट ढुंगा । बन्दीपुर भन्नेबित्तिकै आँखामै आउने दृश्य हो, यो ।
आधुनिक विकास र सिमेन्टका पक्की घरहरूले घेरिन थाले पनि बन्दीपुरको पुरानो बजारको मौलिकतालाई जोगाउन खोजिएको छ । तनहुँको सदरमुकाम दमौलीमा सरेपछि सुनसान बनेको पुरानो शहर बन्दीपुर फेरि बौरिएको छ ।
प्रचीन व्यापारिक नाकाका रूपमा विकास भएको बन्दीपुरको पुरानो शहर ६० को दशकपछि विस्तारै तंग्रिन थालेको हो । अहिले नेपालीहरू एक पटक पुग्ने धोको राख्ने ठाउँ बनेको छ, बन्दीपुर । यहाँको पुरानो बजारका प्राचीन शैलीका घरहरू नियाल्दै हिँड्नुको मजा बेग्लै छ ।
अहिले त्यही बन्दीपुरमा नयाँ ट्रेन्ड थपिएको छ, पुरानो शहरका मौलिक घरहरूलाई पृष्ठभूमिमा राखेर परम्परागत पोशाकमा चिटिक्क सजिने र खिचिक्क फोटो खिच्ने । नेवारी, गुरुङ, मगर, क्षेत्री, राई, लिम्बूलगायतका परम्परागत पोशाकमा सजिएर फोटो खिच्दै सामाजिक सञ्जालमा पोस्ट गर्ने बन्दीपुरमा नयाँ ट्रेन्ड नै चलेको छ ।

फेसबुकका रिल्सदेखि इन्स्टाग्राम, टिकटकसम्म भिडियो खिचेर हाल्नेहरूको बन्दीपुरमा लर्को लाग्छ । गुणस्तरीय क्यामेराबाट फोटो, भिडियो खिचाएर मोबाइलमा तान्ने र रोज्जा चाहिँ पोस्ट गर्ने नयाँ चलनले बन्दीपुरमा नेपालीलाई आकर्षित गरिरहेको छ ।
जातीय पोशाकमा सजिएर फोटो, भिडियो खिचाउनकै लागि भाडामा पोशाक दिने पसलहरू बढेका छन् । घान्द्रुक गाउँमा गुरुङ पोशाक लगाएर फोटो खिचाउने चाह राख्दै पर्यटक पुगे जस्तै अचेल बन्दीपुरमा सबैखाले परम्परागत पोशाकमा फोटो, भिडियो खिचिरहेका तन्नेरीहरू भेटिन्छन् ।
विदेशी पर्यटकसमेत परम्परागत पोशाकमा सजिएर हिँडिरहेका भेटिन्छन् । अहिले बन्दीपुर पुग्ने पर्यटकसमेत बढिरहेको स्थानीय ज्योति कुमालले बताइन् ।

‘फोटो, भिडियो बनाएर सामाजिक सञ्जालमा हाल्ने ट्रेन्डले युवाहरूलाई बन्दीपुरमा तानिरहेको छ । बन्दीपुरलाई रिब्रान्डिङ गर्न सघाइरहेको छ,’ ज्योतिले भनिन् । बन्दीपुरमा पर्यटक आफैंले परम्परागत पोशाक लगाएर फोटो खिचेर पोस्ट गर्न पनि सक्छन् भने त्यहीँका क्यामराबाट खिचाउने हो भने प्रतिफोटो २० रुपैयाँ तिर्नुपर्छ ।
परम्परागत पोशाकको प्रतिघन्टा २०० रुपैयाँ लिने गरिन्छ । स्थानीय तहले यो कामलाई भने नियमन गर्नुपर्ने बताउँछन्, बन्दीपुरका पर्यटन व्यवसायी बैंशबहादुर श्रेष्ठ । स्थानीय तहले फोटो खिच्ने व्यवसायीबाट राजस्व लिने, दर तोक्ने र नियमन गर्ने काम गर्नुपर्ने देखिएको छ ।
फोटो खिच्ने व्यवसायलाई व्यवस्थित गर्दै बन्दीपुरलाई ब्रान्डिङ गर्ने कामलाई नयाँ ढंगले सोच्नुपर्ने रेस्टुरेन्ट एन्ड बार एसोसिएसन बन्दीपुरका अध्यक्ष जितेन्द्रलाल भूमिले बताए ।
पर्यटकलाई आकर्षित गर्न बन्दीपुरमा व्यवसायी र पर्यटनसँग सरोकारवाला संस्थाहरूले विभिन्न गतिविधिसमेत गरिरहेका छन् ।

अहिले नेपाल पर्यटन बोर्ड पोखराको आयोजनामा होमस्टे मार्टको आयोजना गरिएको छ । ग्रामीण पर्यटनसँग शहरलाई जोडेर होमस्टेलाई कसरी व्यवस्थित गर्ने, कसरी व्यावसायिक बनाउने भनेर बिहीबारदेखि बहस, छलफल र विमर्श थालिएको छ ।
१८ र १९ गते गण्डकीका करिब ५० होमस्टे गाउँबाट बन्दीपुरमा अनुभव साट्ने, पर्यटक बोलाउने र छलफल गर्ने कार्यक्रम रहेको पर्यटन बोर्ड पोखराका प्रमुख मणि लामिछानेको भनाइ छ ।

गत वर्ष बन्दीपुरले मनाएको भ्रमण वर्षमा ६ लाख ३५ हजार पर्यटक पुगेको भ्रमण वर्ष संयोजक बैंशबहादुरले बताए ।
पर्यटक बोलाउने र आथित्यता पस्किने बन्दीपुरमा गाउँपालिकाले गत वर्षलाई भ्रमण वर्षको रूपमा मनायो । यो पटक पनि बन्दीपुरका व्यवसायीले पर्यटक बोलाउँदै काठमाडौं–पोखरा पुगे । अबको वर्ष बन्दीपुरमा १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।







प्रतिक्रिया 4