News Summary
Generated by OK AI. Editorially reviewed.- गण्डकी प्रदेशको बन्दीपुरमा गाउँ पर्यटन मार्ट आयोजना गरिएको छ जसमा करिब दुई दर्जन होमस्टेहरूले स्थानीय उत्पादन बिक्री र पर्यटक बोलाउने काम गरिरहेका छन्।
- गण्डकी प्रदेश उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमालले गाउँ बलियो बनाउने प्रमुख आधार पर्यटन भएको र स्थानीय समुदायलाई पर्यटनसँग जोड्न आवश्यक रहेको बताउनुभयो।
- नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यस्ता मार्टहरूले पर्यटन चेतना विस्तार र व्यावसायिकता बढाउने उल्लेख गर्नुभयो।
१८ वैशाख, पोखरा । गाउँलेकै हातले बुनेको धागो घाँटीमा र छातिमा घर वरिपरी नै पाइने घाँसका डाँडमा फाइबर गाँसेर बनाइएको चिनो लगाइदिँदै तिलमाया गुरुङ भन्छिन्, ‘काउलेपानी गाउँ आउनुस् है, यो निम्तो भयो ।’
यो चिनो खास पहिले पहिले काउलेपानीमा परम्परागत रोधी संस्कृति जीवन्त हुँदा युवतीहरूले पुरुषलाई लगाइदिन्थे । धागो लगाइदिँदा सुरक्षा हुने र देबताले रक्षा गर्छन् भन्ने मान्यता पनि थियो ।
‘पछि यस्तो चिनो दिने संस्कृति लोप हुँदै गयो । हामीले पछि होमस्टे आउने पाहुनालाई बिदाइ गर्दा यही चिनो दिएर पठाउन थालेका हौं,’ तिलमायाले आफूहरूले लगाइदिने चिनोको गुत्थी खोल्छिन् ।
लमजुङको बेसीसहर नगरपालिका वडा नम्बर ३ मा पर्ने काउलेपानीकी शान्ति गुरुङ थप्छिन्, ‘लोकल कुखुरा, गाउँमै फलाएको अर्गानिक तरकारी, गाउँकै तिनपाने खुवाउँला । अरू त तपाईँहरू खोजेअनुसार सेवा दिन्छम् ।’
तनहुँ बन्दीपुरको पुरानो बजारका मौलिक घरअघि राखिएको काउलेपानीको स्टलमा पुग्ने स्वदेशी तथा विदेशी पर्यटकलाई तिलमाया र शान्तिले सक्दो बुझाइरहेका छन् र गाउँ आउन निम्तो बाँडिरहेका छन् ।
‘कुनै कार्यक्रम लिएर आउनुभए पनि हुन्छ तर पहिल्यै भनिदिनुहोला । १५ वटा घरमा ९० जनासम्म पाहुना राख्न सक्छम्,’ तिलमायाले नेपाली पाहुनालाई बोलाउँदै भन्छिन्, ‘हाम्रो गाम आउनुस्, आँखैअघि हिमाल देखिन्छ । छक्कै पर्नुहुन्छ ।’

कास्की ताङतिङ होमस्टेका १५ जना गाडी लिएरै दमौली बजार आइपुगे । नेपाल पर्यटन बोर्डले बन्दीपुर गाउँपालिका र गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालको सहकार्यमा गरेको गाउँ पर्यटन मेलाको स्टेजको छेऊतिरै छ, ताङतिङ होमस्टेको स्टल ।
ताङतिङेले चलाएको होमस्टेको नेतृत्व गरिरहेका दिदीबहिनीहरूले निगुरो, सिस्नोको किम्ची बनाएर बेच्न राखेका छन् । कोरियन खानामा बढी प्रचलनमा रहेको किम्ची उनीहरू आफैंले गाउँमा बनाउन सिकेका छन् र मागअनुसार उपलब्ध गराउने उनीहरूले बताइरहेका छन् । अल्लोबाट बनेको टोपी, भांग्रा र झोला किनेर लैजान आग्रह गरिरहेका छन् ।
गुरुङहरूको बाहुल्यता रहेको कास्की मादी गाउँपालिकामा झुरुप्प मिलेर बसेको गाउँ ताङतिङमा होमस्टेमा बस्न आउन उनीहरूले निम्तो बाँडिरहेका छन् ।
होमस्टेको अध्यक्ष दिलसुबा गुरुङ, संयोजन पुनम, सदस्य लक्ष्मी, रोसमायालगायतले गाउँमा निम्तो बाँड्दै भन्छन्, ‘हिमालको काखमा पक्का गाउँको खाना र रमाइलो पाउनुहुन्छ । आउनुस् है, हामी पर्खेर बस्छौं ।’ २०६७ सालमै होमस्टे थालेको ताङतिङ आथित्यतामा कहलिएको गाउँमा पर्छ ।
ताङतिङकै पारीपट्टीको गाउँमा सिक्लेस होमस्टेले पनि सिस्नो, गुन्द्रुक, सिमी, भट्टमासलगायत स्थानीय उत्पादन स्टलमा राखेको छ । मादी गाउँपालिकामै पर्ने सिक्लेसलाई पछिल्ला वर्षमा पर्यटक राख्न भ्याइनभ्याइ पर्छ । तर पनि उनीहरूले सिक्लेसको होमस्टेमा खुवाउने खाना र बस्न प्रवन्धको बारे बताउँदै गाउँमा पर्यटक बोलाइरहेका छन् ।

तनहुँको केशवटार सामुदायिक होमस्टेको स्टलमा निउरो किन्नेहरूको भीड लागिरहेको थियो । केशवदारका दिदीबहिनीहरूले निगुरो, सिप्लीगान ल्याएर स्टलमा बेचिरहेका थिए भने गाउँको प्रचार र विशेषताका बारेमा बताउँदै पाहुनालाई बोलाइरहेका थिए ।
मनाङको नासों गाउँपालिकाको ओडार होमस्टेका आमाहरूले पनि पाहुना बोलाउँदै भनिरहेका थिए, ‘हाम्रै होमस्टे भनेर आउन टाढा पर्यो भने तिलिचो त आउँदा जाँदा भए पनि नछुटाउनुस् है ।’ मुस्ताङको थकाली सामुदायिक होमस्टे, बागलुङको पाखाथर होमस्टेका परिवारले पनि निम्तो बाँड्दै पाहुनालाई सम्पर्क नम्बर बाँडिरहेका छन् ।
पाखाथर होमस्टे नेपालकै एकमात्र ढोरपाटन शिकार आरक्ष क्षेत्रनजिकैको होमस्टे हो र यहाँका १० घरमा होमस्टे सञ्चिालित छ । नवलपुरको पिप्रहर सामुदायिक होमस्टेका उपाध्यक्ष प्रेम शाही र व्यवस्थापक डोलबहादुर महतोलगायतले होमस्टेका विषेशता बताउँदै कार्डहरू बाँडिरहेका थिए ।
‘रैथाने खाना, थारु, गुरुङ, मगर, नेवारीलगायतका नाचसहित सांस्कृतिक कार्यक्रम, जंगल सफारीको मजासमेत लिन सक्नुहुन्छ,’ पिप्रहरका डोलबहादुरले भने, ‘पिप्रहर सामुदायिक होमस्टे ग्राम आइपुग्दा तपाईंले धेरै कुराको एकसाथ महसुस गर्नुहुनेछ । पिप्रहर तपाईंका लागि सधैंको सम्झना बन्न सक्छ ।’
गण्डकी प्रदेशभित्रका सामुदायिक होमस्टे गाउँका अभियान्ताहरू यतिबेला तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा छन् । बन्दीपुरमा शुक्रबारदेखि गाउँ पर्यटन मार्ट भइरहेको छ ।
मार्टमा गण्डकीका करिब करिब दुई दर्जन होमस्टेका अभियान्ताहरूले स्थानीय उत्पादन बिक्री गर्ने, गाउँको विशेषता बताउने र पर्यटक बोलाउने काम गरिरहेका छन् । होमस्टे सञ्चालनहरूले आफ्नो अनुभव साटासाटसमेत गरिरहेका छन् ।

दुई पटकसम्म पोखरामा हुँदै आएको मार्ट यसपटक तनहुँको बन्दीपुरमा गरिएको हो । मार्टमा होमस्टेहरूको अवस्था, राज्यको लगानी, गाउँ–सहरलाई जोडेर पर्यटक भित्राउने, मौलिकतालाई जोगाउँदै पर्यटनलाई कसरी आर्थिक उपार्जनको माध्यम बनाउने भन्ने विभिन्न कोणबाट विमर्शसमेत भइरहेको छ ।
मार्टको उद्घाटन गर्दै गण्डकी प्रदेशको उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमालले नेपालमा संघीयता कार्यान्वयनसँगै विकासको विकेन्द्रीकरण भएको बताइन् । उनले गाउँ बलियो बने मात्र समग्र समृद्धिको आधार तयार हुने जिकीर गरिन् । ‘गाउँ बलियो बनाउने प्रमुख आधार नै पर्यटन हो । स्थानीय समुदायलाई पर्यटनसँग जोड्न आवश्यक छ,’ पर्यटनमन्त्री रिमालको भनाइ थियो ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपकराज जोशीले पर्यटन चेतना विस्तार गर्ने, खोज गर्ने र पर्यटन अभ्यासका कामहरूलाई तीव्रता दिएको र यस्ता मार्टहरूले व्यावसायिकता बढाउने बताए ।
बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बन्दीपुरका थुम्का पर्यटनलाई थप प्रवर्द्धन गर्न यस कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै होमस्टेसम्म पर्यटक पुर्याउन र ग्रामीण पर्यटन सर्किट जोड्न ‘गाउँ सफारी’ले पनि उल्लेखनीय भूमिका खेलेको जिकीर गरे ।
गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना मगरले ऐतिहासिक गोरखा अहिले केही ओझेलमा परेको जस्तो भएको र यो मार्टले उजागर गर्न सघाउने विश्वास व्यक्त गरे ।
गाउँ पर्यटन प्रवर्द्धन मञ्च, गण्डकीकी अध्यक्ष शोभा सापकोटाले मार्टले ग्रामीण पर्यटनलाई नयाँ उचाइमा पुर्याउने जिकीर गरिन् ।
मार्ट अर्को वर्ष गोरखामा हुने भएको छ । गोरखामा आगामी मार्ट गर्ने घोषणा गर्दै बन्दीपुर गाउँपालिकाले गोरखा नगरपालिकालाई औपचारिक रूपमा फ्ल्याग हस्तान्तरण गरेको छ ।











प्रतिक्रिया 4