News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले लिपुलेक क्षेत्रको दुई छिमेकी मुलुकबीचको व्यापारिक सम्झौता नेपालका लागि स्वीकार्य नहुने बताए।
- पराजुलीले सरकारले सीमा विवादलाई गम्भीरतापूर्वक लिएको र कूटनीतिक नोट पठाइसकेको जानकारी दिए।
- सरकारले संवादबाट समस्या समाधान गर्ने प्रतिबद्धता जनाउँदै आवश्यक पहलकदमी सुरु गरिसकेको उनले स्पष्ट पारे।
२३ वैशाख, काठमाडौं । रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले लिपुलेक क्षेत्रलाई लिएर दुई छिमेकी मुलुकहरूले गरेको व्यापारिक सम्झौता नेपालका लागि स्वीकार्य नहुने बताएका छन् ।
बुधबारको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पराजुलीले यस्तो बताएका हुन् ।
सीमा विवादको विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको बताउँदै उनले यस सम्बन्धमा कूटनीतिक नोटसमेत पठाइसकिएको जानकारी दिए ।
पराजुलीले नेपाललाई जानकारी नगराई छिमेकी राष्ट्रहरूले लिपुलेकका सम्बन्धमा गरेको द्विपक्षीय सम्झौताप्रति आपत्ति जनाए ।
सीमा विवाद जस्तो संवेदनशील विषयलाई उत्तेजनाभन्दा पनि कूटनीतिक र राजनीतिक संवादका माध्यमबाटै समाधान गर्नुपर्नेमा उनले जोड दिए ।
पराजुलीकाअनुसार सरकारले यस प्रक्रियालाई अगाडि बढाउन आवश्यक तयारी गरिरहेको छ र संवादबाटै समस्याको निकास निकाल्न सरकार प्रतिबद्ध रहेको छ ।
उनले सरकारको धारणा स्पष्ट पार्दै भने, ‘हामीलाई जानकारी नदिई दुई छिमेकी देशले गरेको व्यापारिक सम्झौता हाम्रा लागि मान्य छैन । सरकारले आफ्नो तर्फबाट सीमा विवादलाई संवादमार्फत टुङ्ग्याउन स्पष्ट अडानका साथ नोट पठाइसकेको छ ।’
उनले सरकारले आफ्नो तहबाट आवश्यक पहलकदमी सुरु गरिसकेकाले यस विषयमा धेरै टिप्पणी गरिरहनु आवश्यक नरहेको समेत बताए ।
प्रतिक्रिया 4