+
+
Shares

पाँचथरका दुई ठाउँमा उत्पादन हुन्छ चौँरीको दूधबाट चिज

गिरिराज बाँस्कोटा गिरिराज बाँस्कोटा
२०८३ जेठ ७ गते १२:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाँचथरको फालोट र चाररातेमा चौँरीको दूधबाट चिज उत्पादन गर्ने काम तयारी अवस्थामा छ।
  • प्रधानमन्त्री बालेन शाहले नेपाली चिज खाएको फोटो सार्वजनिक भएपछि चौँरीपालक उत्साहित भएका छन्।
  • फालोटमा गत वर्ष ५ हजार १०० केजी र चाररातेमा ३ हजार ५०० केजी चिज उत्पादन भएको थियो र मूल्य प्रतिकेजी १ हजार २०० रुपैयाँ छ।

७ जेठ, पाँचथर । पाँचथरको फालोट र चाररातेमा रहेका फ्याक्ट्रीमा यो सिजनको चौँरीको दूधबाट चिज बनाउने कामको तयारी भइरहेको छ । फालोटमा दुई वर्षअगाडि र चाररातेमा गत वर्षदेखि चौँरीको दूधबाट चिज उत्पादन गर्न थालिएको थियो ।

प्रधानमन्त्री बालेन शाहले नेपाली चिज खाएको फोटो सार्वजनिक भएपछि यहाँका पशुपालक पनि उत्साहित भएका छन् । विगतमा चौँरीको दूधबाट घिउ र छुर्पी मात्र उत्पादन हुने यी ठाउँमा उत्पादित चिजले बजार पनि राम्रो पाएको छ ।

‘प्रधानमन्त्रीले चिज खाएको फोटो आएपछि मूल्यमा वृद्धि भई चौँरीपालकलाई फाइदा पुग्ने आशा लिएका छौँ । फालोटमा गत वर्ष ५ हजार १०० केजी र चाररातेमा ३ हजार ५०० केजीको हाराहारीमा चिज उत्पादन भएको थियो,’ याक/चौँरी व्यवसायी महासङ्घ पाँचथरका अध्यक्ष चन्द्रलाल नेपाल भन्छन्, ‘चौँरीको चिज बन्न थालेपछि फाइदा हुँदै गएको छ ।’

यहाँ उत्पादन भएको चिज प्रतिकेजी १ हजार २०० रुपैयाँले बिक्री हुन्छ । पशुपालकले प्रतिलिटर १०० रुपैयाँका दरले दूध बिक्री गर्छन् । एफएओ र नेपाल डेरीको सहयोगमा फालोटमा ४५ लाख र चाररातेमा ३० लाख लागतमा चिज फ्याक्ट्री बनाइएको थियो । यो वर्ष उत्पादन अझ बढ्ने अनुमान गरिएको चिजका प्राविधिक तथा चौँरी व्यवसायी नगेन्द्र रिजालले बताए । उनका अनुसार यहाँ उत्पादन भएको चिज काठमाडौँ जाने गरेको छ ।

चिज फ्याक्ट्रीमा घिउ पनि उत्पादन हुन्छ । पाँचथरको फालेलुङमा रहेका प्रायः चौँरी गोठले चिज फ्याक्ट्रीलाई नै दूध बेच्छन् ।

अध्यक्ष नेपालका अनुसार फालेलुङमा ३० वटा चौँरी गोठ रहेका छन् । यीमध्ये २३ गोठले चिज फ्याक्ट्रीलाई दूध बेच्छन् । बाँकी गोठ टाढा भएकाले दूध बेच्न नसकेको बताइएको छ । फालेलुङमा ६५० को हाराहारीमा चौँरी रहेको नेपालले जानकारी दिए ।

लेखक
गिरिराज बाँस्कोटा

बाँस्कोटा अनलाइनखबरका पाँचथर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?