News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले सभामुख डोलप्रसाद अर्यालको भूमिका प्रश्न गर्दै प्रधानमन्त्रीको खोजीमा रुलिङ नगरेको आरोप लगाएको छ।
- कांग्रेस सचेतक निश्कल राईले सभामुखले सदनको मर्यादा राख्नुपर्ने तर सरकारले जवाफदेहीता देखाउन नसकेको बताए।
- राईले सभामुखलाई सदनको अभिभावक भन्दै सरकारलाई सदनमा उपस्थित गराउन र जवाफदेही बनाउन आग्रह गर्नुभएको छ।
७ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख डोलप्रसाद अर्यालको भूमिकामाथि प्रश्न उठाएको छ । संसद्मा प्रधानमन्त्रीको खोजी निरन्तर भइरहादा सभामुखले उपस्थितिका लागि रुलिङ नगरेको भनेर प्रश्न उठाएको हो ।
बिहीबार प्रतिनिधिसभाको बैठबमा बोल्दै कांग्रेसका सचेतक निश्कल राईले प्रतिपक्षी दलहरूले सरकारलाई जवाफदेही बनाउन खोजिरहेको बताए ।
नीति तथा कार्यक्रमको जवाफ दिन प्रधानमन्त्रीको खोजी गर्ने लगायत विषयमा प्रमुख प्रतिपक्ष दलको हैसियतमा आफू स्वयम् र अन्य विपक्षी दलका सांसदहरूले पटक पटक सरकारलाई सदन प्रति उत्तरदायि बनाउन खोजेको स्मरण गरे ।
‘यसमा सम्माननीय सभामुख महोदयको हामीलाई साथ मिलेन, सरकारले टेरेन’ राइले भने ।
पछिल्लो केही बैठकदेखि श्रम संस्कृति पार्टीले सरकार खोज्दै, जवाफदेहीता र सदन प्रति सरकारको उत्तरदायित्व खोज्दै प्लेकार्ड देखाइरहेको स्मरण गर्दै उनले भने, ‘सभामुख महोदयले यसलाई अमर्यादित भन्नु भएको छ ।’
यहाँनेर उनले प्रतिनिधिसभाको अघिल्लो कार्यकालको दृश्य सम्झिए ।
‘सभामुख महोदय, यहाँ बिर्सन नहुने एउटा प्रंसग उल्लेख गरौं । आज सत्तामा भएको दल हिजो प्रतिपक्षमा थियो । सरकारको जवाफदेहीता खोज्दै निलो स्कार्फ घाँटीमा बाधेर वेल घेरेको थियो,’ राइले भने ।
त्यसबेला रास्वपाले वेलमा पुगेर पलँेटी कसेर बस्ने अनि पुस्तक पढ्ने काम पनि गरेको थियो ।
‘त्यसबेला सभामुखको आसन प्रतिपक्षको बेन्चमा थियो । मेरो प्रश्न आफैँले गरेको त्यो कदम संसदीय र मर्यादित अनि अहिले प्रतिपक्ष दलको प्लेकार्ड कसरी अमर्यादित ?,’ राईको प्रश्न छ ।
आफूहरूको बुझाइमा रास्वपाको त्यसबेलाको कार्य गलत थियो र अहिले पनि गलत र अर्मायदित भइरहेको छ भन्ने निष्कर्ष रहेको उनले बताए ।
यहाँनेर फेरि उनले सभामुखको भूमिका स्मरण गरे ।
‘सदनको मर्यादा सभामुख महोदयले राख्नुपर्ने हो । तर सँगैमा, अर्को पाटो सबै विषयको मर्यादाको केन्द्रविन्दुमा सरकार छ,’ राईले भने, ‘सरकारलेनै मर्यादा कायम गर्नुपर्ने हो । तर, सरकार र प्रधानमन्त्रीले सदनलाई देखि नसहने ! सदन भनेसी एलर्जी नै हुने ?’
सरकारको कार्यमा सत्तारुढ दल रमाउँदै हिंडेको उनको टिप्पणी छ ।
उनी भन्छन्, ‘सरकार परम्परा भत्काउँदै छु भन्दै व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका सबैतिर हस्तक्षेप गर्दै हिँडेको छ । अहिले क्रमभंगता शब्दमा सरकार रमाएको छ । अनि, त्यसमा सत्तारूढ दलका साथीहरू रफू लगाउँदै हिंड्नुभएको छ ।’
कांग्रेस सचेतक राईको प्रश्न छ, ‘आज सदनमा जे भइरहेको छ, तपाईं सत्ताले छाती चौडा बनाएर दाबी र गर्व गर्दै हामीले क्रंमभंगता गरेका छौं भन्दै हिँड्दाको नतिजा हो । जुन् दिनसम्म संसदीय व्यवस्था र अभ्यासलाई अंकको दम्भले लल्कारिछ अनि सदन कसरी मर्यादित हुन्छ ?’
यस्तोमा सभामुख जिम्मेवार हुनुपर्ने उनको आग्रह छ ।
‘सभामुख महोदय बारम्बार हामीले भन्दै आएका छौं कि यो सदनको अभिभावक तपाईं हो, सदनको गरिमामा एक इन्च तलमाथी हुन्छ भने त्यो हजुरकै प्रतिष्ठासँग जोडिन्छ’ उनले भनेका छन्, ‘हजुरले जबसम्म रूलिङ गरेर म सँग दुई तिहाई छ, म सदन मान्दिन भन्दै केही सय मिटर दुरीमा रहनुभएको प्रधानमन्त्री र सरकारलाई सदन प्रति जवाफदेही बनाउन र यहाँ उपस्थित गराउन सक्नुहुन्न । तबसम्म हिजो निलो स्कार्फ बाधेर विरोध गर्ने र आज प्लेकार्ड प्रदर्शन गर्ने जस्ता कार्य (शैली) रोकिन्न । बेलैमा सभामुख महोदय र सरकारको ध्यान जाओस् ।’
प्रतिक्रिया 4