+
+
Shares

श्रम संस्कृति पार्टीका सांसदलाई व्यवहार सच्याउन सभामुखको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ६ गते १२:१३

६ जेठ, काठमाडौं । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले श्रम संस्कृति पार्टीका सांसदहरुलाई आफ्नो क्रियाकलाप र व्यवहार सच्याउन चेतावनी दिएका छन् ।

बुधवार बसेको प्रतिनिधि सभा बैठकमा पनि सो पार्टी अध्यक्ष हर्क साम्पाङसहितका सांसदहरुले प्लेकार्ड प्रदर्शन गर्दै सरकारको विरोध गरेपछि सभामुखले व्यवहार सच्याउन चेतावनी दिएका हुन् ।

सभामुख अर्यालले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ३० बमोजिम आफ्नो क्रियाकलाप तथा व्यवहार सच्याउन चेतावनी दिएको जानकारी गराए ।

सभामुख अर्यालले भने, ‘हर्कराज राई (हर्क साम्पाङ) सहित श्रम संस्कृति  पार्टीका माननीय सदस्यहरुले नियमित रुपमा सभाको मर्यादाविपरीत संसदमा प्लेकार्ड देखाउने, अभद्र व्यवहार देखाउने गरेकोले म माननीय सदस्यहरुलाई प्रतिनिधिसभा नियमावली २०७९ को नियम ३० बमोजिम आफ्नो क्रियाकलाप तथा व्यवहार सच्याउन चेतावनी दिन्छु ।’

प्रधानमन्त्री बालेन शाहले सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ नदिएपछि श्रम संस्कृतिले विरोध गर्दै आएको छ । आज पनि संसद बैठक सुरु भएलगत्तै संसदीय दलका नेता हर्कराज राई (हर्क साम्पाङ)सहितका सांसदहरु आ–आफ्नो स्थानबाट उठेर प्लेकार्ड प्रदर्शन गरेका थिए । अनि प्लेकार्डमा लेखिएका नारा पढेका थिए ।

त्यसपछि सभामुख अर्यालले अबदेखि त्यसो नगर्न चेतावनी दिएका हुन् ।

यसैबीच श्रम संस्कृति पार्टी संसदीय दलका नेता राईले सरकार संसदप्रति जवाफदेही नभएको भन्दै प्रतिनिधि सभामा गम्भीर आपत्ति प्रकट गरेका छन् । संसद बैठकमा बोल्दै उनले मन्त्रीहरूको सदनमा अनुपस्थिति र सांसदहरूले उठाएका प्रश्नको बेवास्ता गरिएको भन्दै सभामुखको ध्यानाकर्षण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?