News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले सडक दुर्घटनाबाट जोगाउन राष्ट्रिय ट्रमा नीति तत्काल निर्माण गर्न सरकारसँग माग गरेकी छिन्।
- उनले सडक दुर्घटनामा परी धेरै नागरिकले ज्यान गुमाउनु पर्ने पीडालाई सम्बोधन गर्न नीति निर्माण गरी तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने बताइन्।
- डा. कार्कीले सडक बनाउने तर नागरिकलाई दुर्घटनाबाट बचाउन नसक्ने हो भने सरकार नैतिक र नीतिगत दुवै रुपमा असफल भएको उल्लेख गरिन्।
७ जेठ, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले राष्ट्रिय ट्रमा नीति तत्काल निर्माण गर्न सरकारसँग माग गरेकी छिन् ।
बिहीवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सडक दुर्घटनामा परी धेरै नागरिकले ज्यान गुमाउनु परिरहेको पीडालाई सम्बोधन गर्न पनि सरकारले उक्त नीति निर्माण गरी तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने बताइन् ।
‘राज्यले कर उठाउँछ, सडक बनाउँछ । तर आफना नागरिकलाई सडकबाट मर्नबाट जोगाउन सकेन भने त्यो केवल प्रशासनिक कमजोरी मात्रै होइन, त्यो राज्यको नैतिक र नीतिगत पराजय हुनेछ । अघिल्ला सरकारले के गरे, कसो गरे ?,’ उनले भने, ‘कहाँ चुके भन्नेकुरा हामीलाई थाहा छैन । तर नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन् । अब पनि फाइल अड्कियो, निर्देशिका थन्कियो भनेर हामीलाई पन्छिने छुट छैन ।’
उनले सडक बनाउने तर नागरिकलाई सडक दुर्घटनाबाट बचाउन नसक्ने हो भने सरकार नैतिक तथा नीतिगत दुवै रुपमा असफल भएको हुने तथ्य पनि उल्लेख गरे ।
‘अब हामीले भन्न सक्नु पर्दछ नेपाली जनतालाई । तपाईहरूले कोभिडको खोप त लगाउनु भयो । तर दिनहँु सडकमा भईरहेका अघोषित महामारी रोक्नका लागि नीतिगत खोप यो सरकारले दिन्छ । हामी दिन्छौं । हामीले यो भन्न सक्नु पर्दछ । त्यसैले म अनुरोध गर्दछु–आजैबाट हामीले राष्ट्रिय ट्रमा नीति निर्माण गर्न थाल्यौ भने भविष्यमा हुने ठूलो दुर्घटनाहरू र थुप्रै ज्यानहरूलाई हामी मर्नबाट जोगाउन सक्छौं,’ उनले भने ।
प्रतिक्रिया 4