News Summary
Generated by OK AI. Editorially reviewed.- एल निनो एक प्राकृतिक जलवायु घटना हो जसमा प्रशान्त महासागरको पानी असामान्य रूपमा तातो हुन्छ र विश्वव्यापी मौसम प्रणालीमा प्रभाव पार्छ।
- २०२६ को दोस्रो भागतिर एल निनो विकसित हुने सम्भावना विश्व मौसम संगठन र अमेरिकी एजेन्सीले क्रमशः ४० देखि ९० प्रतिशतसम्म देखाएका छन्।
- नेपालमा एल निनोले मनसुन कमजोर पारेर वर्षा घटाउने, गर्मी बढाउने र कृषि तथा पशुपालन क्षेत्रमा नकारात्मक असर पार्ने सम्भावना उच्च छ।
एल निनो (El Nino) एक प्राकृतिक जलवायु घटना हो, जसमा प्रशान्त महासागरको मध्य तथा पूर्वी भागको पानी असामान्य रूपमा तातो हुन्छ। यो घटना एल निनो साउदर्न असिलेसन अर्थात् एन्सो नामक जलवायु चक्रको एक महत्वपूर्ण चरण हो। यसले पृथ्वीको वायुमण्डलीय प्रणालीलाई असर गरी विश्वव्यापी तापक्रम, वर्षा र हावापानीको ढाँचामा परिवर्तन ल्याउँछ। नेपाल जस्ता मनसुनी देशहरूमा यसको प्रभाव विशेष रूपमा देखिन्छ।
एल निनो कसरी हुन्छ ?
एल निनो प्रक्रिया अचानक होइन क्रमशः विकसित हुन्छ। सामान्य अवस्थामा व्यापारिक हावा (ट्रेड विन्ड्स) पूर्वबाट पश्चिमतर्फ बलियोसँग बहन्छ जसले गर्दा तातो पानी एशिया (इन्डोनेसिया, अष्ट्रेलिया) तर्फ जम्मा हुन्छ र दक्षिण अमेरिकी किनारमा चिसो पानी माथि आउँछ। यसले एशियामा राम्रो वर्षा गराउँछ।
कुनै कारणले (जस्तै वायुमण्डलीय दबाब परिवर्तन)ले हावा कमजोर हुँदा वा रोकिंदा यसले सम्पूर्ण प्रणाली बिगार्न शुरु गर्छ।
पहिले एशियातिर जम्मा भएको तातो पानी अब अमेरिका (पूर्वी प्रशान्त) तर्फ सर्न थाल्छ। सामान्य अवस्थामा आउने चिसो पानी माथि आउन पाउँदैन र समुद्र झन् तातो हुन्छ।
वर्षा हुने क्षेत्र पनि सर्छ। अनि नेपाल, भारत जस्ता एशियाली देशमा वर्षा घट्छ अमेरिकातर्फ वर्षा बढ्छ।
छोटकरीमा बुझ्दा जब व्यापारिक हावा कमजोर हुन्छ तब तातो पानी पूर्वतर्फ सर्छ, समुद्र तातो हुन्छ, मौसम प्रणाली बदलिन्छ अनि एल निनो हुन्छ।
अहिलेको एल निनोको अवस्था के छ ?
एल निनो हुने सम्भावना अहिले मध्यमदेखि उच्च अवस्थामा पुगेको देखिन्छ, तर पूर्णनिश्चित भने भइसकेको छैन। विश्व मौसम संगठन (डब्ल्यूएमओ) र अमेरिकी सरकारी वैज्ञानिक एजेन्सी (एनओएए) को पछिल्ला पूर्वानुमान अनुसार २०२६ को मध्यतिर एन्सो तटस्थ अवस्था रहने सम्भावना अझै धेरै भए पनि वर्षको दोस्रो भागतिर एल निनो विकसित हुने सम्भावना क्रमशः बढिरहेको छ।
डब्ल्यूएमओका अनुसार मे-जुलाई २०२६ सम्म एल निनो विकास हुने सम्भावना करिब ४० प्रतिशत पुगेको छ, जबकि अमेरिकी एजेन्सी एनओएएको केही पछिल्लो मोडेलले जून–अगस्ट अवधिमा यसको सम्भावना ६० प्रतिशत भन्दा माथि देखाएका छन्।
केही अन्तर्राष्ट्रिय जलवायु मोडेलहरूले २०२६ को अन्त्यसम्म बलियो एल निनो बन्न सक्ने संकेत दिएका छन्। एनओएएको सम्भाव्यता तालिकाले जुलाई-सेप्टेम्बरतिर एल निनोको अवस्था ८०–९० प्रतिशतसम्म पुग्न सक्ने अनुमान गरेको छ। केही वैज्ञानिक विश्लेषणले “सुपर एल निनो” बन्ने सम्भावना पनि औंल्याएका छन्, तर यसमा अझै ठूलो अनिश्चितता रहेको बताइएको छ।
नेपालको सन्दर्भमा हेर्दा, यदि एल निनो बलियो रूपमा विकसित भयो भने मनसुन कमजोर हुने, वर्षा कम हुने, गर्मी बढ्ने तथा कृषि क्षेत्रमा असर पर्ने सम्भावना उच्च हुन्छ। विशेषगरी धान खेती, पानीको उपलब्धता र तराई क्षेत्रको तापक्रममा यसको असर बढी देखिन सक्छ। तर अहिले नै ‘निश्चित रूपमा ठूलो असर पर्छ’ भन्न सकिने अवस्था भने छैन। किनभने पूर्वानुमानमा ‘स्प्रिङ प्रेडिक्टेबिलिटी ब्यारियर’ अर्थात् वसन्तकालीन पूर्वानुमान अवरोधका कारण यस अवधिमा एल निनो वा ला निनोको दीर्घकालीन अनुमानमा अनिश्चितता बढी हुन्छ। त्यसैले आगामी केही महिनाका महासागरीय तापक्रम र मनसुन पूर्वानुमानलाई निरन्तर निगरानी गर्न आवश्यक मानिन्छ।
कृषि क्षेत्रमा एल निनोको प्रभाव
एल निनो एक साधारण मौसम घटना मात्र होइन, विश्वव्यापी जलवायु प्रणालीलाई प्रभाव पार्ने महत्वपूर्ण प्रक्रिया पनि हो। यसको प्रभाव पृथ्वीका धेरै देशमा देखिन्छ। विशेषगरी नेपाल जस्ता आकाशे पानीको भरमा खेती गर्ने देशहरूमा एल निनो सक्रिय हुँदा खडेरीको ठूलो सम्भावना हुन्छ। साथै अत्यधिक तापक्रममा वृद्धि हुने तथा हिट वेभ अर्थात् तातो हावाको लहरको प्रभाव बढ्न सक्छ।
एल निनोको कारण कृषि तथा पशुपालन क्षेत्रमा ठूलो क्षति पुर्याउन सक्छ। यसको ज्वलन्त उदाहरण सन् २००९ को एल निनो वर्षमा नेपालमा वर्षा करिब २०-३० प्रतिशत कम भएको कारण धान उत्पादन घटेको थियो।
एल निनोका कारण नेपाल र भारतमा परेको प्रभाव तालिकामा हेर्नुहोस्–
| वर्ष (सन्) | देश | प्रभाव |
| १९८२–८३ | भारत/नेपाल | ठूलो खडेरी, उत्पादन घट्यो |
| १९९७–९८ | विश्व/दक्षिण एशिया | बलियो एल निनो, मौसम असन्तुलन |
| २००२ | भारत | १९ प्रतिशत वर्षा कमी, कृषि संकट |
| २००९ | नेपाल/भारत | कमजोर मनसुन, धान उत्पादन घट्यो |
| २०१५–१६ | भारत | लगातार खडेरी, खाद्य उत्पादनमा असर |
| २०२३–२४ | नेपाल/भारत | गर्मी वृद्धि, असमान वर्षा, उत्पादन जोखिम |
एल निनोको समयमा मनसुन कमजोर हुने भएकाले वर्षा कम हुन्छ; जसले धान, मकै, गहुँ जस्ता प्रमुख बालीहरूको उत्पादनमा नकारात्मक असर पार्छ। समयमै वर्षा नहुँदा रोपाइँ ढिला हुन्छ वा असफल हुन सक्छ, जसले सम्पूर्ण उत्पादन चक्र प्रभावित बनाउँछ।
साथै, तापक्रम वृद्धि हुँदा बालीमा तापीय तनाव (हिट स्ट्रेस) बढ्छ, जसका कारण फूल र फल झर्ने, बोटको वृद्धि कमजोर हुने र अन्ततः उत्पादन घट्ने अवस्था सिर्जना हुन्छ। नदी, पोखरी तथा मुहानमा पानीको मात्रा घट्दा सिंचाइ प्रभावित हुन्छ।
यसैगरी, एल निनोले पशुपालन क्षेत्रमा पनि गम्भीर असर पार्छ। अत्यधिक गर्मीका कारण गाई, भैंसी, बाख्रा लगायत पशुहरूमा तापीय तनाव उत्पन्न हुन्छ, जसले उनीहरूको खाना खाने क्षमता घटाउने, दूध उत्पादन कम गर्ने र प्रजनन क्षमतामा नकारात्मक असर पार्ने गर्दछ। पानीको अभावले पशुहरूमा निर्जलीकरणको समस्या देखिन्छ भने हरियो चाराको उत्पादन घट्दा पोषण अभाव हुने सम्भावना बढ्छ। चारा र दानाको कमीले पशुपालन खर्च बढाउने मात्र होइन, पशुहरूको स्वास्थ्य अवस्था पनि कमजोर बनाउँछ।
यसका अतिरिक्त, तापक्रम वृद्धि र तनावका कारण पशुहरूको रोग प्रतिरोधात्मक क्षमता घट्ने भएकाले विभिन्न रोगहरूको जोखिम पनि बढ्छ। कुखुरा पालनमा पनि गर्मीका कारण अण्डा उत्पादन घट्ने र मृत्यु दर बढ्ने समस्या देखिन्छ।
यसरी हेर्दा, एल निनोले कृषि र पशुपालन दुवै क्षेत्रमा प्रत्यक्ष तथा परोक्ष रूपमा गम्भीर प्रभाव पार्छ। कृषि उत्पादन घट्दा पशु आहारको अभाव हुन्छ भने पशुपालन कमजोर हुँदा किसानको आम्दानी घट्छ, जसले ग्रामीण अर्थतन्त्रमा दोहोरो असर पार्छ। त्यसैले, एल निनोको प्रभावलाई ध्यानमा राखी समयमै योजना बनाउने, सिंचाइ व्यवस्थापन गर्ने, ताप सहन सक्ने बाली तथा जातको प्रयोग गर्ने र पशुपालनमा उचित व्यवस्थापन अपनाउन आवश्यक देखिन्छ।
(खत्री कृषि ज्ञान केन्द्र धनुषामा कार्यरत छन्।)
प्रतिक्रिया 4