+
+
Shares

इरानमा बन्धक रहेका अमृत झाको रिहाइ कहिले ?

हामीले आफ्ना नागरिकको पक्षमा आवश्यक पहल गरिरहेका छौं । तर अन्तिम निर्णय त्यहाँको कानुनअनुसार नै हुन्छ- परराष्ट्र मन्त्रालय

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ८ गते २०:५६

८ जेठ, काठमाडौं । इरानमा पानीजहाज सहित पक्राउ परेका नेपाली नागरिक अमृत झा अझै हिरासतमै रहेका छन् । इरानको बन्दर अब्बासस्थित जेलमा रहेका झाको रिहाइका लागि नेपाल सरकारले कूटनीतिक पहल जारी राखेको जनाएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार झासम्बन्धी मुद्दा हाल इरानको स्थानीय अदालतमा विचाराधीन छ र त्यसको टुंगो इरानी कानुनअनुसार हुनेछ । मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले झाको निष्पक्ष सुनुवाइ र रिहाइका लागि उपलब्ध सबै माध्यमबाट निरन्तर पहल भइरहेको जानकारी दिए ।

उनका अनुसार अदालतले ‘एक्सपोर्ट रिपोर्ट’ तयार पार्न निर्देशन दिएको थियो । सोहीअनुसार विज्ञ टोली गठन गरेर प्रतिवेदन तयार पार्ने काम अन्तिम चरणमा पुगेको छ । उक्त रिपोर्ट अदालतमा पेस भएपछि स्थानीय कानुनअनुसार थप प्रक्रिया अघि बढ्ने बताइएको छ ।

प्रवक्ता पौडेलले रिपोर्ट प्राप्त भएपछि अदालतले आवश्यक निर्णय गर्ने बताए । ‘हामीले आफ्ना नागरिकको पक्षमा आवश्यक पहल गरिरहेका छौं । तर अन्तिम निर्णय त्यहाँको कानुनअनुसार नै हुन्छ,’ उनले भने ।

‘एक्सपोर्ट रिपोर्ट’ भनेको कुनै जहाज, सामान वा त्यससँग सम्बन्धित घटनामा पक्राउ, अनुसन्धान र परीक्षणका क्रममा संकलन गरिएका सम्पूर्ण विवरण समेटिएको प्राविधिक तथा कानुनी प्रतिवेदन हो ।

अमृत झाको प्रकरणमा यो रिपोर्टमा विशेषगरी जहाज पक्राउ परेको अवस्था, जहाजको विवरण, सुरक्षाकर्मी तथा प्रहरीले गरेको अनुसन्धान, संकलित प्रमाण, प्राविधिक परीक्षणका नतिजा, घटनासँग सम्बन्धित कानुनी निष्कर्ष जस्ता विषय समावेश हुन्छन् ।

इरानी अदालतले यही प्रतिवेदन माग गरेपछि विज्ञ टोली बनाएर रिपोर्ट तयार गरिएको हो । उक्त रिपोर्ट अदालतमा पेस भएपछि त्यसका आधारमा अदालतले थप सुनुवाइ र निर्णय प्रक्रिया अघि बढाउनेछ ।

उक्त प्रतिवेदन तयार पार्न लाग्ने शुल्कसमेत नेपाल सरकारले भुक्तानी गरिसकेको मन्त्रालयले जनाएको छ । रिपोर्ट अदालतमा पेस भएपछि थप आदेश आउने भए पनि त्यसका लागि कति समय लाग्छ भन्ने यकिन भइसकेको छैन ।

यसअघि परराष्ट्रमन्त्रीले सामाजिक सञ्जालमार्फत झा रिहा भएको उल्लेख गरेका थिए । तर, वास्तविकता फरक रहेको भन्दै त्यसको व्यापक आलोचना भएपछि परराष्ट्र मन्त्रालयले क्षमायाचना गरेको थियो ।

मन्त्रालयले स्थानीय अदालतमा मुद्दा विचाराधीन रहेको र झा हिरासतमै रहेका अवस्थामा अनौपचारिक जानकारीका आधारमा रिहा भएको समाचार सार्वजनिक हुन गएको स्वीकार गर्दै गल्तीप्रति दु:ख व्यक्त गरेको छ ।

सन् २०२४ को जुलाईमा वैदेशिक रोजगारीका लागि यूएई गएका उदयपुर गाईघाटका ३३ वर्षीय झा ‘अल लुलु मरिन सर्भिसेस् एलएलसी’ को पानी जहाजमा ‘सीम्यान’ को रूपमा काम गर्दै आएका थिए । वर्तमान सरकार आउनुअघि नै अमृत झासहित ७ जना सवार पानी जहाजले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेको भन्दै इरानको हर्मुज क्षेत्रको बन्दर अब्बास बन्दरगाहबाट इरानी रेभुल्युसनरी गार्डले फारसी खाडीको होर्मुज स्ट्रेटबाट नियन्त्रणमा लिएको थियो ।

पानी जहाजसहित ७ जनालाई नियन्त्रणमा लिएर अदालतमा मुद्दा दायर गरिएको थियो । अदालतको आदेशपछि जहाजमा रहेका ७ जनामध्ये ४ जना रिहा भएका थिए भने झासहित ३ जना रिहा हुन बाँकी नै छन् । उनीहरूको समेत रिहाइको प्रक्रिया अघि बढिरहेको परराष्ट्रले जनाएको हो ।

इजरायल–अमेरिका र इरानबीचको युद्ध सुरु हुनुअगाडि नै उक्त जहाज इरान गएको थियो । इरानबाट फर्किने क्रममा पानी जहाजले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेको भन्दै नियन्त्रणमा लिएको जनाएको थियो ।

इरानी सुरक्षाकर्मीको नियन्त्रणमा रहेको केही दिनपछि मात्रै अमृतले घर परिवारलाई जानकारी गराएका थिए । ह्वाट्सएपमार्फत अडियो म्यासेज पठाउँदै आफुलाई इरानी सुरक्षाकर्मीले नियन्त्रणमा लिएको र रिहाका लागि सरकारसँग पहल गरिदिन अनुरोध गरेका थिए ।

त्यसपछि उनकी दिदी पूजा झाले कन्सुलर सेवा विभागमा उद्धारका लागि निवेदन दिएकी थिइन् । त्यसपछि मात्रै परराष्ट्र मन्त्रालयले कन्सुलर सेवा विभागमार्फत आवश्यक पहल अघि बढाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?