+
+
Shares
ब्लग :

नेपालको अबको परराष्ट्र नीति

नेपालले संविधानमा उल्लेख भएका परराष्ट्र नीतिको पालना गर्दै अन्तर्राष्ट्रिय समुदायसँग आर्थिक कूटनीति अघि बढाउनुका साथै छिमेकी मुलुकहरू भारत र चीनसँग साझा आर्थिक सरोकारका विषयहरूमा प्रगाढ सहकार्य गर्नुपर्ने र पहिले समाधान हुन नसकेका विषयहरूमाथि निरन्तर संवादको आवश्यकता देखिन्छ।

घनश्याम निरौला घनश्याम निरौला
२०८३ जेठ १० गते ८:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले भारत र चीनबीचको भूपरिवेष्टित अवस्थालाई ध्यानमा राख्दै सन्तुलित, असंलग्न र निरस्त्रीकरणमूलक विदेश नीति सञ्चालन गर्दै आएको छ।
  • स्विट्जरल्यान्ड, लक्जेम्बर्ग, मङ्गोलिया, कजाकिस्तान, बोलिभिया र इथियोपियाले अवलम्बन गरेका परराष्ट्र नीतिहरू नेपालका लागि तुलनायोग्य र मननीय हुन सक्छन्।
  • नेपालले छिमेकी राष्ट्रसँग साझा आर्थिक सरोकारमा सहकार्य, प्राकृतिक स्रोतको उपयोगमा साझेदारी र आधुनिक साइबर सुरक्षा प्रणाली विकास गर्नुपर्ने देखिन्छ।

दुई ठूला शक्तिराष्ट्रहरू भारत र चीनबीच अवस्थित हाम्रो भूपरिवेष्टित देश नेपालले विगतदेखि सन्तुलित, विशेषगरी असंलग्न र निरस्त्रीकरणको पक्षधर रही आफ्नो विदेश नीति सञ्चालन गर्दै आइरहेको छ। बदलिंदो विश्व परिस्थिति र जटिल भूराजनीतिक अवस्थाले गर्दा नेपालले आगामी दिनमा आफ्नो सार्वभौमसत्ताको रक्षा र आर्थिक समृद्धिका लागि कस्तो अन्तर्राष्ट्रिय सम्बन्ध राख्नुपर्छ भन्ने विषयमा बहस प्रारम्भ भइरहेको छ।

यसै सन्दर्भमा, विश्वका केही उच्च, मध्यम र निम्न आय भएका भूपरिवेष्टित राष्ट्रहरू स्विट्जरल्यान्ड, लक्जेम्बर्ग, मङ्गोलिया, कजाकिस्तान, बोलिभिया र इथियोपिया— जसका छिमेकीहरू शक्तिशाली पनि छन्, ती राष्ट्रहरूको विदेश नीतिको चर्चा गर्दै नेपालको आगामी विदेश नीति कस्तो हुनुपर्छ भन्ने बारेमा यो लेख केन्द्रित छ।

शक्तिशाली राष्ट्रहरूबाट घेरिएर रहनु र भूपरिवेष्टित हुनु आफ्नो देशको प्रगतिको बाधक हो र विदेशी हस्तक्षेप भइरहन्छ भन्ने कुरा सधैं सत्य नरहन सक्छ; अपितु छिमेकी राष्ट्रहरूको कारण सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक पक्षमा प्रभाव भने पर्न सक्छ। उदाहरणका लागि युरोप महादेशको स्विट्जरल्यान्ड फ्रान्स, जर्मनी, अस्ट्रिया र इटालीको बीचमा र लक्जेम्बर्ग जर्मनी, फ्रान्स र बेल्जियमका बीचमा अवस्थित छन्; तर पनि यी युरोपेली देशहरू सार्वभौमसत्तासम्पन्न र वैभवशाली भनेर चिनिएका छन्।

अर्कातिर दुई मध्यम आय भएका एसियाली राष्ट्रहरू मङ्गोलिया र कजाकिस्तान दुई विशाल छिमेकीहरू चीन र रूसको बीचमा रहेका भूपरिवेष्टित, स्वतन्त्र र सार्वभौमसत्तासम्पन्न राष्ट्रहरू हुन्। त्यसैगरी निम्न आय भएका दुई राष्ट्रहरू क्रमशः बोलिभिया र इथियोपिया दक्षिण अमेरिका र अफ्रिकामा रहेका भूपरिवेष्टित राष्ट्रहरू हुन्। यी ६ वटा राष्ट्रहरूले अवलम्बन गरेका परराष्ट्र नीति हाम्रा लागि तुलनायोग्य र मननीय हुन सक्छन्।

स्विट्जरल्यान्ड र लक्जेम्बर्ग शक्तिशाली छिमेकी राष्ट्रहरूका बीचमा छन् र उनीहरूले विश्व समुदायमा समृद्ध, सार्वभौम र स्वाभिमानपूर्वक गौरवपूर्ण उपस्थिति जनाएका छन्। स्विट्जरल्यान्डले संसारको कुनै सैनिक गुटबन्दी र अस्त्रशस्त्रको होडबाजीमा लाग्ने काम गरेको थिएन र वर्तमान समयमा त्यस राष्ट्रले अन्तर्राष्ट्रिय समुदायसँग सम्बन्ध विस्तार, कडा साइबर सुरक्षा र मजबुत आन्तरिक सुरक्षाको नीति अङ्गीकार गर्दै आफ्नो विदेश नीति निर्धारण गरेको छ। त्यसैगरी लक्जेम्बर्गले विकसित र शक्तिशाली छिमेकी राष्ट्रहरूलाई भूउपग्रहको क्षेत्रमा प्राविधिक सहयोग गरेर, युरोजोन क्षेत्रको साइबर सुरक्षामा सहयोग प्रवर्धन गर्दै शान्त कूटनीतिको माध्यमबाट छिमेकी राष्ट्रका नागरिकका लागि रोजगारीको अवसर प्रदान गरी आफ्नो सुरक्षा र अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ गरेको देखिन्छ। सहयोग, मित्रता एवम् प्रविधिको माध्यमद्वारा शान्तिपूर्ण तवरले यी दुई राष्ट्रहरूले आफ्नो विदेश सम्बन्ध प्रभावकारी बनाएका छन्।

मङ्गोलिया र कजाकिस्तानमा सन् १९९० को पूर्वार्धसम्म कम्युनिस्ट व्यवस्था थियो र यी राष्ट्रहरूमा सोभियत युनियनको प्रभाव थियो। कजाकिस्तान त सोभियत युनियनको भूभाग नै थियो। अहिले यी दुवै राष्ट्रहरू स्वतन्त्र र सार्वभौम छन्, साथै आफ्नो विदेश नीति पनि आफैं सञ्चालन गर्दछन्।

मङ्गोलियाको सन्तुलित विदेश नीतिअन्तर्गत दुवै ठूला छिमेकी राष्ट्रहरू रूस र चीनसँग न्यानो सम्बन्ध, साथै दुई छिमेकीसँग परनिर्भरता कम गर्न ‘तेस्रो छिमेकी नीति’ अन्तर्गत प्रजातान्त्रिक तथा औद्योगिक राष्ट्रहरूसँग आर्थिक र कूटनीतिक सम्बन्ध स्थापित गर्ने काम पर्छ। मङ्गोलियाको कुनै सैनिक गुटबन्दीमा संलग्न नहुने नीति छ।

अर्कोतर्फ कजाकिस्तानले असंलग्न परराष्ट्र नीतिको अतिरिक्त आफ्ना प्राकृतिक स्रोतहरू— जस्तै: तेल, खनिज र ग्यासको उपयोगमा छिमेकी तथा अन्तर्राष्ट्रिय शक्तिहरूसँग साझेदारी गर्दै र दुई ठूला छिमेकीसँगको अन्तरनिर्भरता कम गरी आफ्नो देशको विदेश नीति सन्तुलनमा राख्ने कोसिस गरेको देखिन्छ।

बोलिभिया र इथियोपिया क्रमशः दक्षिण अमेरिकी र अफ्रिकी भूपरिवेष्टित राष्ट्र हुन्, जसको आयस्तर निम्न मध्यम र निम्न छ। बोलिभियाको वर्तमान परराष्ट्र नीति राष्ट्रको प्राकृतिक स्रोतमाथि विदेशीलाई टाढा राख्नेभन्दा पनि व्यावहारिक रूपमा अरू राष्ट्रसँग मिलेर प्राकृतिक स्रोतहरूको उपयोग गरी राष्ट्रलाई समृद्ध र आत्मनिर्भर बनाउनेतर्फ केन्द्रित रहेको जस्तो देखिन्छ। यसैगरी यस राष्ट्रले वर्तमानमा संयुक्त राज्य अमेरिका, ब्राजिल र अर्जेन्टिनासँग आर्थिक विकासमा हात अगाडि बढाएको छ, साथै शान्तिपूर्ण तवरले विदेशीहरूसँग समस्या हल गर्न चाहेको र कुनै सैनिक गुटबन्दीमा नलागेको देखिन्छ।

अर्कोतर्फ इथियोपिया हाम्रो देश नेपाल जस्तै कहिल्यै उपनिवेश नबनेको अफ्रिकी राष्ट्र हो। वर्तमानमा यस देशले विभिन्न शक्तिराष्ट्रहरू- जस्तै: चीन, अमेरिका र युरोपेली युनियनसँग आर्थिक सम्बन्ध विस्तार गर्नुका साथै अफ्रिकी युनियनभित्र सक्रिय रही आफ्ना छिमेकी राष्ट्रहरू इरिट्रिया र सुडानसँग संवादको माध्यमद्वारा विवाद समाधान र द्वन्द्व कम गर्न लागिपरेको छ। इथियोपियाले छिमेकी राष्ट्रहरूलाई जलविद्युत् निर्यात र व्यापारको माध्यमद्वारा फाइदा पुर्‍याई सम्बन्ध विस्तार गर्न लागेको देखिन्छ।

माथि उल्लिखित राष्ट्रहरूले अवलम्बन गरेका नीतिहरू नेपालका लागि लाभदायक हुन सक्छन्, किनकि ती राष्ट्रहरूको भौगोलिक अवस्थिति र छिमेकीहरूको उपस्थिति नेपालसँग मिल्दोजुल्दो छ। नेपालले संविधानमा उल्लेख भएका परराष्ट्र नीतिको पालना गर्दै अन्तर्राष्ट्रिय समुदायसँग आर्थिक कूटनीति अघि बढाउनुका साथै छिमेकी मुलुकहरू भारत र चीनसँग साझा आर्थिक सरोकारका विषयहरूमा प्रगाढ सहकार्य गर्नुपर्ने र पहिले समाधान हुन नसकेका विषयहरूमाथि निरन्तर संवादको आवश्यकता देखिन्छ।

त्यसैगरी प्राकृतिक स्रोतको उपयोगमा छिमेकी तथा अन्तर्राष्ट्रिय क्षेत्रसँग साझेदारी, पर्यटन र धार्मिक क्षेत्रहरूको प्रवर्धनमा सहकार्य एवम् क्षेत्रीय सङ्गठनहरूमा सक्रिय सहभागिता जनाउँदा नेपालले आफ्ना चासो र हितलाई अघि बढाउन सजिलो हुन्छ। अर्को भुल्नै नहुने कुरा भनेको— नेपालले छिमेकी राष्ट्रहरूको सुरक्षा र आर्थिक चासोका विषयहरूलाई ध्यान दिन जरूरी छ।

त्यस्तै, नेपालले आफैं आर्थिक रूपमा आत्मनिर्भर हुन प्रयास गर्नुका साथै अन्तर्राष्ट्रिय व्यापार सन्तुलन कायम गर्ने कार्य गर्नुपर्छ। अन्त्यमा, नेपालले आफ्नो सार्वभौमसत्ताको संरक्षण र नागरिकको सुरक्षाका लागि आन्तरिक शान्तिसुरक्षाको राम्रो व्यवस्थाका साथै आधुनिक साइबर सुरक्षा प्रणालीको विकास गरी नागरिक र राष्ट्रको सुरक्षामा ध्यान दिनुपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?