५ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टीले ‘विकास कूटनीति’लाई केन्द्रमा राखेर अघि बढ्ने बताएका छन् । मंगलबार चुनावी कार्यक्रमका लागि सुदूरपश्चिम पुगेका बेला धनगढी विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।
‘पार्टीपिच्छे फरक विदेश नीति हुन्छ भन्ने हुँदैन । राष्ट्रको एउटा विदेश नीति हुन्छ । त्यसलाई अझ परिपक्व बनाउने पार्टीका नीतिहरू हुन्छन्,’ लामिछानेले भने, ‘भूराजनीतिक स्तरमा हामी जहाँ अवस्थित छौँ, त्यहीँअनुसार हाम्रो राष्ट्रले नीति बनाएको छ ।’
रास्वपा नेपालले हालसम्म लिएको परराष्ट्र नीतिमै प्रतिबद्ध रहेको पनि उनले बताए । ‘रास्वपा त्यही नीतिमा कटिबद्ध छ । असलंग्न परराष्ट्र नीति छ । सबैसँग सौहार्द्धपूर्ण वातावरणमा हामीले सम्बन्ध राखेका छौँ,’ उनले भने ।
यद्यपि रास्वपाले सोचेको परराष्ट्र नीति भूराजनीतिमा मात्रै सीमित नहुने उनले बताए । ‘हामीले सोचेको डेभेलोपमेन्ट डिप्लोमेसीका रूपमा हामी यसलाई अगाडि लिएर जान्छौँ,’ उनले भने, ‘विकासलाई केन्द्रमा राखेर लिएको कूटनीतिले मात्रै हामीलाई अगाडि लिएर जान्छ । बाँकी सबैलाई सम्मान हुन्छ ।’
प्रतिक्रिया 4