+
+
Shares

खानेतेलको घटेको मूल्यसूची सरकारको हातमा, महँगी ज्युँका त्युँ बजारमा

घट्यो भनिएको खानेतेलको मूल्य बजारमा अझै पुरानै, उद्योगी र खुद्रा व्यापारीको आफ्नै दाबी

अन्तर्राष्ट्रिय बजारमा कच्चापदार्थको मूल्य बढेको बहानामा उद्योगी र बिचौलियाले छोटो समयमै खानेतेलको मूल्य प्रतिलिटर ३० देखि ५० रुपैयाँसम्म बढाएपछि यसको प्रत्यक्ष मार उपभोक्ताले खेपिरहेका छन् ।

ऋतु काफ्ले ऋतु काफ्ले
२०८२ फागुन ५ गते २०:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • माघ महिनामा अचानक बढेको खानेतेलको मूल्य फागुन पहिलो साता सम्म पनि घट्न सकेको छैन र उपभोक्ताले प्रत्यक्ष मार खेपिरहेका छन्।
  • नेपाल वनस्पति घिउतेल उत्पादक संघले अन्तर्राष्ट्रिय कारणले कच्चापदार्थ महँगो भएको र मूल्य बढेको बताएका छन्।
  • वाणिज्य विभागले उद्योगीहरूले खानेतेलको मूल्य घटाएको बताएको भए पनि खुद्रा बजारमा मूल्य घटेको छैन भन्ने गुनासो बढेको छ।

५ फागुन, काठमाडौं । माघ महिना सुरु हुनासाथ अप्रत्याशित वृद्धि भएको खानेतेलको मूल्य फागुन पहिलो साता आइपुग्दासम्म पनि घट्न सकेको छैन ।

अन्तर्राष्ट्रिय बजारमा कच्चापदार्थको मूल्य बढेको बहानामा उद्योगी र बिचौलियाले छोटो समयमै खानेतेलको मूल्य प्रतिलिटर ३० देखि ५० रुपैयाँसम्म बढाएपछि यसको प्रत्यक्ष मार उपभोक्ताले खेपिरहेका छन् ।

मुलुक यतिबेला प्रतिनिधिसभा चुनावी माहोलले तातिएको छ । राजनीतिक दलका नेताहरू गाउँ-गाउँ पुगेर सुशासन र समृद्धिका आश्वासन बाँडिरहेका छन् । तर, अर्कातिर तिनै मतदाताको भान्सा भने दैनिक उपभोग्य वस्तुको जोहो कसरी व्यवस्थापन गर्ने भन्नेमा अल्झिएको छ ।

एकातिर चुनावको उल्लास छ भने अर्कातिर दैनिक उपभोग्य वस्तु, विशेषगरी खानेतेलको मूल्यमा भएको भारी वृद्धिले सर्वसाधारणमा निराशा र आक्रोश पैदा गरेको छ ।

काठमाडौं शान्तिनगर बस्ने प्रभा पराजुली पछिल्लो एक महिनायता दैनिक उपभोग्य वस्तु महँगिदा ‘बजेट रुटिन’ नै खलबलिएको भन्दै आक्रोशित छन् ।

‘पसलमा तेल किन्न जाँदा हरेक पटक नयाँ मूल्य सुन्नुपर्छ,’ पराजुलीले अनलाइनखबरसँग भनिन्, ‘जसले जति सक्छ लुटौं भनेजस्तो छ ।’

उपभोक्ता मात्र होइनन्, खुद्रा व्यापारीहरू पनि पछिल्लो समयको मूल्यवृद्धिबाट आजित छन् । थोक विक्रेता र उद्योगीले बढाएको मूल्यका कारण आफूहरूले उपभोक्ताको गाली खानुपरेको खुद्रा व्यापारीहरूको दु:खेसो छ ।

नयाँ बानेश्वरका एक खुद्रा व्यापारी उद्योग र होलसेलबाटै मूल्य बढेर आएको हुँदा आफूले पनि सोही मूल्यमा बेचिरहन बाध्य भएको  बताउँछन् ।

‘उपभोक्ताहरू मूल्यवृद्धि किन भयो भनेर गुनासो गरिरहनुहुन्छ,’ उनी सुनाउँछन्, ‘अब हामीले महँगोमा किनेर ल्याएको वस्तु सस्तोमा घाटा खाएर दिन सकिँदैन, आजकल दिनहुँ गाली नै खाइरहनुपरेको छ ।’

उनले हिजो मात्रै सनफ्लावर तेल प्रतिकार्टुन २ हजार ८ सय रुपैयाँमा आफूले उद्योगबाट झारेको बताए । ‘तेलको मूल्य ब्रान्ड अनुसार फरक हुन्छ,’ उनले भने, ‘होलसेलमा नै महँगो परेपछि खुद्रामा झनै महँगो पर्न जान्छ, चुनाव घोषणा हुनासाथ तेलको मूल्य एक्कासि बढेर आएको हो ।’

बजारमा अहिले पनि भटमास र सूर्यमुखी (सनफ्लावर) तेलको खुद्रा मूल्य प्रतिलिटर २ सय ९० देखि ३ सय रुपैयाँसम्म नै बिक्री भइरहेको छ । त्यसैगरी तोरीको तेल प्रतिलिटर ३ सय ८० देखि ४ सय रुपैयाँमा बिक्री भइरहेको छ । माघ पहिलो साता पनि खानेतेलको मूल्य यही नै थियो ।

एक साताअघि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खानेतेल लगायत अत्यावश्यक वस्तुमा भएको अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न उद्योगी र वितरकलाई निर्देशन दिएको थियो । विभागले उपभोक्ता हित ध्यानमा राख्दै अनुचित नाफा नलिन र बढाइएको मूल्य तत्काल समायोजन गर्न उत्पादक बोलाएर छलफल गरेको थियो । सोही क्रममा कानुन विपरीत कार्य गर्ने केही फर्मलाई विभागले स्थलगत जरिबाना समेत गरेको थियो ।

मूल्यवृद्धिमा अन्तर्राष्ट्रिय कारण : घिउतेल उत्पादक संघ

यसको जवाफमा नेपाल वनस्पति घिउतेल उत्पादक संघले विज्ञप्ति जारी गर्दै मूल्यवृद्धिमा उद्योगीको मनोमानी नभई अन्तर्राष्ट्रिय कारणहरू जिम्मेवार रहेको जवाफ दिएको थियो ।

अर्जेन्टिना, ब्राजिल र युक्रेनजस्ता देशबाट महँगोमा कच्चापदार्थ आयात गर्नुपरेको, अमेरिकी डलर भाउ बढेको र विश्व बजारमा तेलको माग उच्च भएकाले मूल्य बढेको संघको दाबी थियो ।

यद्यपि, उद्योगीहरूले विभागको समन्वयमा सकेसम्म मूल्य समायोजन गरी उपभोक्तालाई राहत दिने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

वनस्पति घिउतेल उत्पादक संघ अध्यक्ष विकास दुगडले खानेतेलको मूल्यमा प्रतिलिटर १० देखि १५ रुपैयाँसम्म कटौती गरिएको बताए ।

उद्योगहरूले फ्याक्ट्रीबाटै मूल्य समायोजन गरी नयाँ बिलिङ सुरु गरिसकेको उनको भनाइ छ ।

‘हामीले भटमास र सूर्यमुखी तेलको मूल्यमा प्रतिलिटर १० देखि १५ रुपैयाँसम्म घटाएका छौं,’ उनले भने, ‘उद्योगबाट होलसेलरहरूलाई घटेको मूल्यमा बिल काटिसकिएको छ ।’

बजारमा खुद्रा व्यापारीहरूले अझै पनि महँगो मूल्यमा तेल बेचिरहेको र मूल्य नघटेको गुनासो आएका सन्दर्भमा उनले उद्योगबाट निस्किएको सामान उपभोक्तासम्म पुग्न केही समय लाग्ने बताए ।

‘हामीले फ्याक्ट्रीबाट त घटाइसक्यौं, तर होलसेलरबाट रिटेलर (खुद्रा पसल) सम्म पुग्न केही समय लाग्छ, धेरैजसो ठाउँमा मूल्य घटिसकेको हुनुपर्ने हो,’ उनले थपे ।

उपभोक्ताले घटेको मूल्यमा सामान पाए/नपाएको यकिन गर्न होलसेलरहरूसँगको बिल हेर्न सकिने पनि उनको भनाइ छ ।

खानेतेलको मूल्य उद्योगतहमा घटेको छ : वाणिज्य विभाग

वाणिज्य विभागको निर्देशनपछि उद्योगीले खानेतेलको मूल्य उद्योग तहमा घटाएको विभागका निर्देशक तथा सूचना अधिकारी नरहरि तिवारीले बताए ।

उनका अनुसार पछिल्लो १५–१६ दिन अवधिमा उद्योगीहरूले खानेतेलको मूल्यमा प्रतिलिटर ७ देखि १४ रुपैयाँसम्म कटौती गरेका छन् ।

निर्देशक तिवारीले उद्योगीहरूले मूल्य समायोजन गरी विभागमा त्यसको जानकारी र बिलहरू समेत पेस गरिसकेको बताए ।

‘पछिल्लो पटक प्राप्त विवरण अनुसार भटमास र सूर्यमुखी तेलको मूल्यमा ७ देखि १४ रुपैयाँसम्म गिरावट आएको देखिएको छ,’ सूचना अधिकारी तिवारीले भने, ‘विशेषगरी सनफ्लावर तेलमा १० देखि ११ रुपैयाँ र अन्य तेलमा पनि सोही अनुपातमा मूल्य घटेको बिलहरू उद्योगीले पठाएका छन् ।’

उभोक्तालाई किन महँगो ?

उद्योग तहमा मूल्य घटे पनि सर्वसाधारण उपभोक्ताले भने अझै पुरानै महँगो मूल्यमा तेल किन्नु परिरहेको गुनासो बढेको छ । सूचना अधिकारी तिवारीले बजारको तहगत संरचनाका कारण उपभोक्तासम्म घटेको मूल्य पुग्न केही समय लाग्ने बताए ।

‘बजारमा उद्योग, सप्लायर र खुद्रा विक्रेता गरी विभिन्न तह हुन्छन्,’ उनले भने, ‘व्यापारीहरूसँग पुरानो स्टक बाँकी रहने र नयाँ मूल्य अंकित सामान बजार पुग्न केही दिन लाग्ने भएकाले तुरुन्तै कार्यान्वयनमा नदेखिएको हो, तर यो बिस्तारै समायोजन हुँदै जान्छ ।’

विभागले उद्योगीहरूले पठाएको नयाँ मूल्यसूची र बिलहरू अध्ययन गरिरहेको र बजारमा यसको कार्यान्वयन भए/नभएको बारे अनुगमनलाई तीव्रता दिने उनको भनाइ छ ।

उद्योगले मूल्य घटाए पनि बजारमा घटेको छैन : खुद्रा व्यापार संघ

नेपाल खुद्रा व्यापार संघ महासचिव अमुलकाजी तुलाधर उद्योगीहरूले मूल्य घटाएको घोषणा गरे पनि बजारमा त्यसको कार्यान्वयन नभएको बताउँछन् ।

उनका अनुसार खुद्रा व्यापारीहरूले उद्योगले निर्धारण गरेको अधिकतम खुद्रा मूल्य (एमआरपी) का आधारमा सामान बिक्री गर्ने गर्छन् ।

‘उद्योगीहरूले फ्याक्ट्रीमा मूल्य घटाए भन्दैमा बजारमा तुरुन्तै घट्दैन,’ तुलाधरले भने, ‘हामीले पहिले नै महँगोमा (प्रति कार्टुन २८ सय रुपैयाँसम्म) किनेको सामान स्टकमा हुन्छ, आफूले महँगोमा किनेको सामान सस्तोमा बेच्न व्यापारीहरूलाई गाह्रो हुन्छ ।’

डिलरहरूले अझै पनि पुरानै मूल्यमा सामान पठाइरहेको उनको दाबी छ । उद्योगीले फ्याक्ट्रीमा मूल्य घटाए पनि नयाँ ‘प्रिन्टेड’ मूल्य सहितको सामान बजार नआएसम्म खुद्रा तहमा मूल्य घट्न समय लाग्ने उनले स्पष्ट पारे ।

‘जबसम्म नयाँ मूल्य अंकित भएका सामान बजार आउँदैनन्, तबसम्म उपभोक्ताले घटेको मूल्यको लाभ लिन पाउँदैनन्,’ उनले थपे ।

लेखक
ऋतु काफ्ले

काफ्ले अनलाइनखबरकाे बिजनेस ब्युराे संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?