News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा एलपी ग्यास अभाव समाधानका लागि सक्रियता देखाएको छ।
- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यास आपूर्ति, भण्डारण र वितरण प्रणालीको अनुगमन गरिरहेको छ।
- विभागले नेपाल आयल निगमलाई ग्यास ढुवानी र वितरण सहज बनाउन र उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्न निर्देशन दिएको छ।
२७ माघ, काठमाडौं । पछिल्लो केही दिनदेखि काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा खाना पकाउने एलपी ग्यास अभाव भएको भन्दै उपभोक्ता स्तर र सामाजिक सञ्जालमा व्यापक गुनासो बढ्न थालेपछि सरकारले यसको समाधानका लागि सक्रियता देखाएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा ग्यास आपूर्ति अवस्था, भण्डारण र वितरण प्रणालीको स्थलगत अनुगमन र विश्लेषण गर्दै आपूर्ति शृङ्खला थप प्रभावकारी बनाउन सरोकारवाला निकायलाई अनुरोध गरेको छ ।
विभागले आफ्ना निरीक्षण अधिकृत र अन्य नियमनकारी निकायको सहयोगमा उद्योग, ठूला आपूर्तिकर्ता र साना डिलरहरूको अवस्था अनुगमन गरिरहेको जानकारी दिएको छ ।
आपूर्ति व्यवस्था चुस्त बनाउने क्रममा विभागले नेपाल आयल निगमलाई ग्यास ढुवानी र वितरण सहज एवं प्रभावकारी बनाउन आवश्यक सबै कार्य गर्न भनेको छ ।
निगमले उपलब्ध परिमाणको ग्यास समानुपातिक ढंगले वितरण गर्ने प्रणाली मिलाउनुपर्ने र ढुवानीमा देखिएका व्यवधान तत्काल समाधान गर्नुपर्ने विभागको ठहर छ ।
यसैगरी ग्यास बोटलिङ उद्योगहरूलाई समेत उपभोक्ताको माग अनुसार उत्पादन र वितरणलाई तीव्रता दिन तथा उद्योगलाई आफ्नो पूर्ण क्षमतामा सञ्चालन गरेर ग्यास आपूर्ति बढाउनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
बजारमा कृत्रिम अभाव सिर्जना हुन नदिन विभागले डिलर, रिटेलर र सप्लायर्सहरूलाई समेत सचेत गराएको छ । विक्रेताहरूले उपभोक्ताको मागको प्रभावकारी रेकर्ड राख्नुपर्ने र ग्यासको अनावश्यक सञ्चय नगरी न्यायोचित रूपमा वितरण गर्नुपर्ने व्यवस्था मिलाउन विभागले भनेको छ ।
यसका साथै विभागले उपभोक्ता र व्यावसायिक प्रतिष्ठानहरूलाई समेत संयमित हुन अपिल गरेको छ । बजारमा अभाव हुने डरले आवश्यकता भन्दा बढी ग्यास खरिद गरेर घरमा सञ्चय नगर्न र आफूलाई चाहिने न्यूनतम परिमाणमा मात्र ग्यास खरिद गरी आपूर्ति व्यवस्थापनमा सहयोग पुर्याउन विभागले विशेष अनुरोध गरेको छ ।
‘स्वच्छ र प्रतिस्पर्धी बजार : उपभोक्ता संरक्षणको दिगो आधार’ भन्ने नारा आत्मसाथ गर्दै विभागले बजारमा ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न र उपभोक्ताको हित रक्षा गर्न आफू प्रतिबद्ध रहेको स्पष्ट पारेको छ ।
ग्यासजस्तो अत्यावश्यक वस्तु वितरणमा कुनै पनि किसिमको अवरोध वा अनियमितता हुन नदिन सबै सरोकारवाला पक्षलाई जिम्मेवार बन्न विभागको आग्रह छ ।
प्रतिक्रिया 4