+
+
Shares

तेल उत्पादक संघको स्पष्टीकरण- ‘डलर र अन्तर्राष्ट्रिय बजारले भाउ बढायो, कृत्रिम अभाव छैन’

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २२ गते १८:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल वनस्पति घिउ तेल उत्पादक संघले अन्तर्राष्ट्रिय बजारका कारणले खानेतेलको मूल्य बढेको दाबी गरेको छ।
  • संघले नेपालमा २६ प्रशोधित तेल उद्योगले कच्चापदार्थ शतप्रतिशत विदेशबाट आयात गर्ने जनाएकाे छ।
  • संघले निर्वाचनको संवेदनशीलता बुझेर विभागसँग समन्वयमा मूल्य समायोजन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

२२ माघ, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा खानेतेलको अस्वाभाविक मूल्यवृद्धिलाई लिएर पटक–पटक चासो र सोधपुछ गरेपछि नेपाल वनस्पति घिउ तेल उत्पादक संघले यसबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ ।

संघले बिहीबार विज्ञप्ति जारी गर्दै नेपालमा तेलको मूल्य बढ्नुमा उद्योगीको मनोमानी नभई अन्तर्राष्ट्रिय बजारका कारणहरू मुख्य जिम्मेवार रहेको दाबी गरेको छ ।

संघले जारी गरेको विज्ञप्ति अनुसार नेपालमा सञ्चालित २६ वटा प्रशोधित खानेतेल उद्योगले आफ्ना उत्पादनका लागि आवश्यक कच्चापदार्थमा शतप्रतिशत विदेशमै भर पर्नुपर्ने बाध्यात्मक अवस्था छ ।

अर्जेन्टिना, ब्राजिल, युक्रेन, इन्डोनेसिया र मलेसियाबाट कच्चापदार्थ आयात हुने हुँदा अन्तर्राष्ट्रिय बजारको उतारचढाव अनुसार नै यहाँको मूल्य निर्धारण हुने संघको भनाइ छ ।

अहिले विश्व बजारमा खानेतेललाई बायोडिजेलका रूपमा प्रयोग गर्ने क्रम बढेको, अमेरिकी सरकारले डिजेलमा यसको मिसावट प्रतिशत बढाएको र डलरको भाउ समेत निरन्तर बढेकाले कच्चा तेलको आयात महँगो पर्न गई नेपालमा पनि भाउ बढेको संघको दाबी छ।

बजारमा हल्ला चलेजस्तो उद्योगीहरूले कुनै प्रकारको कृत्रिम अभाव सिर्जना नगरेको र अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यलाई मात्र समायोजन गरिएको संघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारको यो मूल्यवृद्धि संयोगले निर्वाचनको मुखमा पर्न गएकाले अनावश्यक चर्चा र परिचर्चा भएको भन्दै संघले निर्वाचनको समयको संवेदनशीलता बुझेर विभागको समन्वयमा सकेसम्म मूल्य समायोजन गरी बिक्री वितरण गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?