+
+
Shares

कोशी सरकारमा एमाले-कांग्रेस नेतृत्व अदलबदलको तयारी

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सुनसरीको लौकहीमा शुक्रबार आयोजित प्रदेशस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेशमा सत्ता परिवर्तन हुने बताएका छन् । अब बन्ने नयाँ सरकारको नेतृत्व कांग्रेसले गर्ने उनको भनाइ थियो । तर, एमाले कांग्रेसलाई नेतृत्व दिन तयार छैन । तर अध्यक्ष ओली चाहिँ मुख्यमन्त्री फेर्ने पक्षमा छन् ।

हरि अधिकारी हरि अधिकारी
२०८३ जेठ १० गते १२:१०
मुख्यमन्त्री हिक्मत कार्की । कार्की एमालेबाट मुख्यमन्त्री बनेका हुन् । उनलाई एमाले अध्यक्ष ओलीले नै फेर्न चाहेका छन् ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधेश प्रदेशमा जनता समाजवादी पार्टीका मन्त्रीहरू हटाएर कांग्रेस नेतृत्वको सरकारमा एमाले सहभागी भएको छ र कोशी प्रदेशमा पनि सत्ता गठबन्धनमा नेतृत्व परिवर्तनको चर्चा छ।
  • कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नीति तथा कार्यक्रम हतार–हतार प्रस्तुत गरेका छन्, तर प्रतिपक्षी दल र संसदीय समितिसँग राय मागिएको छैन।
  • एमाले अध्यक्ष केपी शर्मा ओलीले मुख्यमन्त्री कार्कीलाई हटाएर तिलकुमार मेन्याङ्बोलाई अघि सार्न खोजेका छन् भने कांग्रेसले उद्धव थापालाई नेतृत्व दिन चाहन्छ।

१० जेठ,विराटनगर । मधेश प्रदेशको सत्ता समीकरण फेरिएसँगै त्यसको परकम्प कोशी प्रदेशमा आइपुगेको छ । अब कोशी प्रदेशमा पनि एमाले र कांग्रेसको सत्ता गठबन्धनमा नेतृत्व अदलबदलको चर्चा चलिरहेको छ ।

जेठ ७ गते मधेश प्रदेशमा जनता समाजवादी पार्टीका मन्त्रीहरूलाई हटाएर कांग्रेस नेतृत्वको सरकारमा नेकपा एमाले सहभागी भएको थियो ।

गत मंसिर १९ गते मात्रै एमालेलाई बाहिर राख्न जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, लोसपा र एकीकृत समाजवादीको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मुख्यमन्त्री बनेका थिए । ६ महिना नबित्दै मधेश सत्तामा एमाले सहभागी भयो।

कोशीमा अहिले एमाले- कांग्रेसको सरकार छ । नेतृत्व एमाले सचिवसमेत रहेका प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले गरिरहेका छन् ।

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सुनसरीको लौकहीमा शुक्रबार आयोजित प्रदेशस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेशमा सत्ता परिवर्तन हुने बताएका छन् । अब बन्ने नयाँ सरकारको नेतृत्व कांग्रेसले गर्ने उनको भनाइ थियो । तर, एमाले कांग्रेसलाई नेतृत्व दिन तयार छैन । तर, अध्यक्ष ओली चाहिँ मुख्यमन्त्री फेर्ने पक्षमा छन् ।

शीर्ष नेतृत्वमा सरकार परिवर्तनको गृहकार्य भइरहदा प्रदेशका मुख्यमन्त्री कार्की पनि हच्किएका छन् । सत्ता फेरबदल हुने सम्भावनाकाबीच उनले हतार–हतार प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक गरे । जेठ ६ गते प्रदेशसभाको बजेट अधिवेशन सुरु भएको थियो । ७ गते नै उनले नीति तथा कार्यक्रम प्रस्तुत गरे ।

विगतमा भने नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्नुअघि सरकारले प्रतिपक्षी दलसँग राय माग्थ्यो । संसदीय समितिसँग पनि सुझाव मागेको थियो । यो पटक नीति तथा कार्यक्रम तयार गर्ने विषयमा सरकारले कुनै सरोकारवाला पक्षसँग छलफल नै गरेन ।

‘कांग्रेसको चाहाना बजेट अघि नै सरकार फेर्नुपर्छ भन्ने छ, त्यहीँ भएर उहाँले हतारहतार नीति तथा कार्यक्रम ल्याउनु भयो,’ सत्तापरिवर्तनका लागि गृहकार्य गरिरहेका कांग्रेसका एक नेताले भने,‘ असार १ गते भन्दाअघि बजेट ल्याउन मिलेन, उहाँले नीति तथा कार्यक्रमचाहिँ चाडै ल्याउनु भयो ।’

प्रमुख प्रतिपक्षी दल नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो पनि नीति तथा कार्यक्रम ल्याउन सरकारले हतार गरेको देख्छन् । ‘प्रतिपक्षी दल र संसदीय समितिसँग राय माग्ने परम्परा हो, तर सरकारले यस पटक राय मागेन,’ उनले भने ।

उनका अनुसार कांग्रेस एमालेले बनाएको सरकारमा नेकपा सहभागी हुने विषयमा कुनै छलफल भएको छैन । आफ्नो दल प्रतिपक्षी भूमिकामा रहने उनले बताए ।

नेकपा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो सरकार पुनर्गठनको विषयमा केन्द्रमा सामान्य छलफल भएपनि कुनै निष्कर्षमा नपुगेको बताउँछन् । ‘केन्द्रीय नेतृत्वमा छलफल चलिरहेको छ, कुनै निर्णय भइसकेको छैन,’ उनले भने,‘ पहिले सहमति गर्दा कोशीको पूर्णकार्यकाल एमालेले नै नेतृत्व गर्ने सहमति थियो ।’ तर, पछिल्लो समय नेपाली कांग्रेसले पनि दाबी गरिरहेको उनले बताए ।

मुख्यमन्त्री मात्रै फेर्ने पक्षमा ओली

प्रतिनिधिसभा निर्वाचनको मतपरिणामपछि एमाले अध्यक्ष केपी शर्मा ओली कोशीको नेतृत्व एमालेले नै गर्ने तर पात्र मात्रै फेर्ने पक्षमा छन् ।

एमाले सचिव हिक्मतकुमार कार्की कुनै समय अध्यक्ष ओलीको विश्वास पात्र हुन् । दुई पटक २०७४ र २०७९ मा उनले आफ्ने क्षेत्रबाट प्रदेश सभामा उठाएका थिए । तर, फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा कार्कीले गरेको व्यवहारका कारण पनि ओली रुष्ट छन् ।

निर्वाचनका लागि घरदैलोमा जाँदा अध्यक्ष ओलीसँग हिक्मतकुमार कार्की र उनका दाजु दीपक कार्कीको विपक्षमा मतदाता र कार्यकर्ताले खुलेर कुरा राखे । हिक्मत एमाले सचिव र प्रदेशको मुख्यमन्त्री हुन् । उनका दाइ दीपक केन्द्रीय कमिटी सदस्य हुन् ।

‘आफ्नै गृह क्षेत्रबाट अध्यक्ष हार्दा मुख्यमन्त्रीले नैतिकता देखाउनु पर्ने हो, तर त्यसो गर्नु भएन्,’ एमालेका एक सांसदले भने,‘झपा-५ अध्यक्ष ओलीको पराजयको कारण मध्ये एउटा उहाँ पनि हो ।’

चुनावमा लज्जास्पद हारपछि ओली-कार्की सम्बन्ध चिसिएको छ । पछिल्लो समय कार्की आफ्नो विपक्षमा उभिएको थाहा पाएपछि ओली झन् रिसाएका छन् ।

अब मुख्यमन्त्रीमा कार्कीको विकल्पमा उनले तिलकुमार मेन्याङ्बोलाई अघि सार्न खोजेका छन् । मेन्याङ्बो एमाले संसदीय दलका उपनेता हुन् । तर,कांग्रेसले संसदीय दलका नेता उद्धव थापालाई अघि सारेको छ । बजेट अघि नै सरकार फेर्नुपर्ने पक्षमा नेपाली कांग्रेस छ । तर, एमाले संसदीय दलका उपनेता मेन्याङ्बो बजेटपछि मात्र सरकार परिवर्तनको सम्भावना रहेको बताउँछन् ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?