१० जेठ, पोखरा । पोखराको फिर्के खोला किनार अतिक्रमण गरेर बनाइएका घर–टहरा हटाउने काम आजबाट सुरु भएको छ । यसै सन्दर्भमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले ‘फिर्के करिडोर परियोजना’ पोखराको दीर्घकालीन शहरी विकास, वातावरण संरक्षण र पर्यटन प्रवर्द्धनसँग जोडिएको महत्वाकांक्षी योजना भएको बताएका छन् ।
सामाजिक सन्जाल फेसबुकमा आज स्टाटस लेख्दै उनले फिर्के करिडोरलाई नयाँ शहरी पहिचान दिलाउने लक्ष्य रहेको बताएका छन् । फिर्के करिडोरलाई केवल खोला संरक्षणको परियोजनामात्र नभई पोखरालाई हरित, स्वच्छ, आधुनिक र विश्वस्तरीय नदी–करिडोर शहर का रूपमा स्थापित गर्ने दूरदर्शी अभियानका रूपमा उनले प्रस्तुत गरेका छन् ।
महानगरले वडा नम्बर १८ अधेरीकुनादेखि वडा नम्बर २, ४, ५, ७, ८ र १७ हुँदै वडा नम्बर ६ फेवाताल–गाईघाटसम्म फैलिएको करिब ८ किलोमिटर लामो फिर्के खोलालाई प्राकृतिक सौन्दर्य, पर्यावरणीय सन्तुलन, पर्यटन र नागरिक जीवनशैलीसँग जोडेर विकास गर्ने लक्ष्य लिएको छ ।
सियोलस्थित ‘चेओङ्गग्येचोन स्ट्रिम’ पुनर्जीवन परियोजनाबाट प्रेरित
मेयर आचार्यका अनुसार दक्षिण कोरियाको सियोलस्थित ‘चेओङ्गग्येचोन स्ट्रिम’ पुनर्जीवन परियोजनाबाट प्रेरित भएर पोखरामा पनि फिर्के खोलालाई स्वच्छ, हराभरा र जीवन्त सार्वजनिक करिडोरका रूपमा विकास गर्ने योजना बनाइएको हो ।
परियोजनाअन्तर्गत खोलाको दायाँ–बायाँ कम्तीमा ६ मिटर मापदण्ड कायम गरी व्यवस्थित फुटट्रेल, साइकल लेन, बिहान–साँझ हिँड्न मिल्ने पदमार्ग निर्माण गरिनेछ । साथै खोलाको प्राकृतिक बहाव संरक्षण गर्दै हरियाली क्षेत्र, रैथाने वनस्पति, ढुंगे तटबन्ध, स्मार्ट एलईडी बत्ती तथा वातावरणमैत्री सार्वजनिक खुला क्षेत्र निर्माण गरिने महानगरले जनाएको छ ।

करिडोर क्षेत्रमा पोखरेली शैलीका विश्रामस्थल, कफी प्वाइन्ट, खुला क्याफे, सेल्फी प्वाइन्ट, दृश्यावलोकन स्थल, साना पार्क, चौतारा, सांस्कृतिक तथा कलात्मक संरचना, बालमैत्री तथा ज्येष्ठ नागरिकमैत्री खुला क्षेत्र निर्माण गर्ने लक्ष्य छ ।
महानगरले फिर्के खोलालाई फोहोरमुक्त र वर्षभरि पानी बग्ने अवस्थासहित पुनर्जीवन दिने लक्ष्य लिएको छ । सुख्खा मौसममा समेत पानीको बहाव कायम राख्न आवश्यक व्यवस्थापन गरिने र हिउँदमा याम्दी खोलाको पानी मिसाएर बहावलाई जीवन्त बनाउने अवधारणा पनि समेटिएको मेयर आचार्यले उल्लेख गरेका छन् ।
परियोजनाबाट फिर्के खोलाको अतिक्रमण नियन्त्रण, सार्वजनिक खुला क्षेत्र विस्तार, पैदलयात्री तथा साइकलमैत्री पूर्वाधार विकास, पर्यटन प्रवर्द्धन, प्रदूषण नियन्त्रण तथा शहरी तापक्रम व्यवस्थापनमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।
मेयर आचार्यले फिर्के करिडोर सफल कार्यान्वयन भएपछि यो क्षेत्र पोखरेली नागरिकको दैनिकी, स्वास्थ्य, मनोरञ्जन, पर्यटन र हरित भविष्यसँग जोडिएको सार्वजनिक सम्पत्तिका रूपमा विकास हुने दाबी गरेका छन् ।
उनले फिर्के खोला किनारका बासिन्दालाई परियोजनामा अवरोध नभई सहयोग गर्न आग्रह गर्दै दीर्घकालमा स्थानीय बासिन्दाले नै यसको प्रत्यक्ष लाभ पाउने बताएका छन् ।
प्रतिक्रिया 4