News Summary
Generated by OK AI. Editorially reviewed.- थाइल्याण्डबाट पक्राउ परेकी टिकटकर तुल्सा अधिकारीलाई इन्टरपोलको सहयोगमा काठमाडौं ल्याएर ललितपुर प्रहरीको हिरासतमा राखिएको छ ।
- ललितपुर जिल्ला अदालतमा अधिकारीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भइसकेको छ ।
- आइतबार सार्वजनिक बिदा भएका कारण प्रहरीले उनलाई सोमबार मात्रै ललितपुर जिल्ला अदालतमा पेश गर्ने भएको छ ।
१७ जेठ, काठमाडौं । थाइल्याण्डबाट पक्राउ परेकीटिकटकर तुल्सा अधिकारीलाई सोमबार अदालत पेश गरिएको भएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रका अनुसार आज आइतबार सार्वजनिक बिदा भएकाले भोलि सोमबार मात्रै अधिकारीलाई अदालत पेश गरिने भएको हो ।
प्रहरीको अन्तराष्ट्रिय संगठन इन्टरपोलमार्फत रेड नोटिस जारी भएकी अधिकारी थाइल्याण्डबाट पक्राउ परेकी थिइन् ।
थाइल्याण्ड प्रहरीले पक्राउ गरेपछि नेपाल प्रहरीलाई हस्तान्तरण गरेको थियो । इन्टरपोलको सहयोगमा उनलाई शनिबार राति काठमाडौं ल्याइएको हो । अहिले उनलाई ललितपुर प्रहरीको हिरासतमा राखिएको छ ।
उनी चीनमा बस्दै आएकी थिइन् । प्रहरीले अनुसन्धान अघि बढाएपछि उनले सामाजिक सञ्जालबाटै प्रहरीमाथि आक्रोश पोखेकी थिइन् ।
‘म भदौ १९ गतेसम्म नेपालमै थिएँ । मलाई कुनै खोजखबर गरिएन । चीन आएपछि पक्राउ पुर्जी जारी भएको थाहा पाएँ । मेरो मान्छेहरू प्रहरीमा बुझ्न जाँदा प्रहरीले जाहेरी देखाएन’ तुल्साले भनेकी थिइन् ।
त्यसपछि प्रहरीले भ्रम नर्छन भन्दै विज्ञप्ती नै निकालेको थियो । कुमार चिमोरिया नाम गरेका व्यक्तिले उनीविरुद्ध २२ साउन २०८२ मा प्रहरी वृत्त सातदोबाटोमा ठगी तथा आपराधिक विश्वासघातको कसुरमा जाहेरी दिएका थिए ।
यसको अनुसन्धान गर्दा उनी सम्पत्ति शुद्धीकरणको कसुरमा पनि जोडिइन् । त्यसपछि २० कात्तिक २०८२ मा सम्पत्ति शुद्धीकरण विभागबाट सुझाव समेत लिएर उनीमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गरिएको थियो ।
अहिले भने उनीविरुद्ध ठगी, आपराधिक विश्वासघात र सम्पत्ति शुद्धिकरणको कसुरमा ललितपुर जिल्ला अदालतमा मुद्दा दर्ता भइसकेको एसपी मिश्रले बताए ।
उनीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भइसकेको छ ।
अब उनलाई सोझै अदालत पेश गरिन्छ । त्यसपछि थुनछेक बहसपछि पुर्पक्षमा थुनामा पठाउने वा साधारण तारेख र धरौटीमा रिहा गर्ने मध्ये एक आदेश आउने छ । अदालती काम भने भोलि सोमबारबाट सुरु हुनेछ ।
प्रतिक्रिया 4