News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल आदिवासी जनजाति पत्रकार महासंघले मधेश र लुम्बिनी प्रदेशका पत्रकारका लागि पत्रकार फेलोसिप कार्यक्रम–२०८३ घोषणा गरेको छ ।
- यो कार्यक्रममार्फत वन, वातावरण, जलवायु परिवर्तन र आदिवासी जनजातिको परम्परागत ज्ञानसम्बन्धी विषयमा खोजमूलक पत्रकारितालाई प्रोत्साहन गरिने भएको छ ।
- फेलोसिपमा छनोट भएका पत्रकारलाई अनुसन्धानमूलक सामग्री तयार गर्न प्रति व्यक्ति अधिकतम ४० हजार रुपैयाँसम्म आर्थिक सहयोग उपलब्ध गराइने फोनिजले जनाएको छ ।
३१ असार, काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले मधेश र लुम्बिनी प्रदेशका आदिवासी जनजाति पत्रकारहरूका लागि फेलोसिप कार्यक्रम घोषणा गरेको छ ।
फोनिजले डेडिकेटेड ग्रान्ट मेकानिज्म (डीजीएम) नेपालको वित्तीय सहयोगमा मधेश प्रदेश र लुम्बिनी प्रदेशका आदिवासी जनजाति पत्रकारहरूका लागि ‘पत्रकार फेलोसिप कार्यक्रम–२०८३’ घोषणा गरेको हो ।
कार्यक्रममार्फत वन, वातावरण, जलवायु परिवर्तन, दिगो वन व्यवस्थापन तथा आदिवासी जनजातिको परम्परागत ज्ञान र अभ्याससँग सम्बन्धित विषयमा गहन अध्ययन, खोज तथा अनुसन्धानमूलक पत्रकारितालाई प्रोत्साहन गरिने भएको हो ।
डीजीएम नेपाल आदिवासी तथा स्थानीय समुदायको रेडप्लस लगायतका वन तथा जलवायुसम्बन्धी सहभागिता सुदृढ बनाउन सञ्चालित कार्यक्रम हो ।
फेलोसिपमा मधेश र लुम्बिनी प्रदेशका डिजिएम नेपाल परियोजना लागू भएका क्षेत्रसँग सम्बन्धित आदिवासी जनजाति समुदायका पत्रकारले आवेदन दिन सक्नेछन् ।
इच्छुक पत्रकारले वन, वातावरण, जलवायु परिवर्तन तथा आदिवासी समुदायसँग सम्बन्धित विषयमा न्यूनतम २५० शब्दको मौलिक लेखसहित आवश्यक कागजात पेश गर्नुपर्नेछ ।
फेलोसिपमा छनोट भएका पत्रकारलाई अध्ययन, भ्रमण, खोज तथा अनुसन्धानमूलक समाचार, फिचर स्टोरी वा रिपोर्टिङका लागि प्रति फेलो अधिकतम ४० हजार रुपैयाँसम्म सहयोग उपलब्ध गराइने फोनिजले जनाएको छ ।
सहभागीले तयार गरेका सामग्री शब्द र भिडियो दुवै माध्यममा बुझाउनुपर्नेछ भने सामग्री तथ्य र प्रमाणमा आधारित हुनुपर्ने उल्लेख गरिएको छ ।
फेलोसिपअन्तर्गत तयार गरिने अध्ययन, फिचर वा अनुसन्धानमूलक सामग्री कम्तीमा तीन हजार शब्दको हुनुपर्नेछ र सहयोग प्राप्त गरेको २१ दिनभित्र बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।
आवेदनका लागि शैक्षिक प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रतिलिपि, स्थायी लेखा नम्बर, पत्रकारिता गरिरहेको सञ्चार संस्थाको परिचयपत्र वा सिफारिस तथा व्यक्तिगत बायोडाटा अनिवार्य गरिएको छ ।
प्रतिक्रिया 4