१ साउन, काठमाडौं । नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेको निधन भएको छ । शुक्रबार साँझ ७ बजेर ४० मिनेट जाँदा काठमाडौंको विशालनगरस्थित निवासमा पाण्डेको निधन भएको हो ।
नागरिक आन्दोलनमा सक्रिय चिकित्सक अनुप सुवेदीका अनुसार परिवारको साथमा रहेका बेला पाण्डे बितेका हुन् । उनलाई हिजो ह्याम्स अस्पतालमा, तथा त्यसपछि पाटन अस्पतालमा लगेर उपचार गरिएको थियो ।
क्यान्सरले थलिएका उनलाई अन्तिम घडीको आभास भएपछि परिवारले घरै लैजाने निर्णय गरेको थियो ।
पाण्डेको भोलि शनिबार बिहान ११ बजे पशुपति आर्यघाटमा लगेर संस्कार गरिने नागरिक अभियानकर्मी विमल अर्यालले जानकारी दिए ।
८७ वर्षको उमेरमा आफूलाई क्यान्सर रोग लागेको पत्ता लागेपछि स्वेच्छामा उनले यसको गम्भीर किसिमको उपचार गराएका थिएनन् । करिब तीन महिनाअघि क्यान्सर प्रमाणित भएपछि उनी पीडा कम गर्ने औषधिको सहायता तथा नियमित उपचारसहित घरमै आराम गरेर बसेका थिए ।
नेपालको लोकतान्त्रिक तथा नागरिक आन्दोलन, नेपालको अर्थतन्त्र तथा विकास प्रशासन र सुशासनका क्षेत्रका पाण्डेको महत्वपूर्ण योगदान छ । २०४६ सालको आन्दोलनपछि कृष्णप्रसाद भट्टराईको नेतृत्वमा बनेको अन्तरिम सरकारमा २०४७ देखि २०४८ सम्म उनी अर्थमन्त्री थिए । सोही सरकारको पालामा नेपालको संविधान २०४७ बनेको थियो ।
तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०५९ सालमा शासनसत्ता हातमा लिएपछि लोकतन्त्रका पक्षमा नागरिकको तहबाट चलाइएको अभियानमा उनले अगुवाको भूमिका निर्वाह गरेका थिए । उनी सुशासन, लोकतन्त्र, विकास, भ्रष्टाचार नियन्त्रण र उत्तरदायी राज्य व्यवस्थाका पक्षधर थिए ।
२० अगस्ट १९३९ मा काठमाडौंमा जन्मिएका पाण्डेले त्रिचन्द्र कलेजमा उच्च शिक्षा हासिल गरेका थिए । त्यसपछि भारतको इलाहाबाद विश्वविद्यालयबाट स्नातकोत्तर तथा अमेरिकाको पिट्सबर्ग विश्वविद्यालयबाट सार्वजनिक तथा अन्तर्राष्ट्रिय मामिलामा पीएचडी गरेका थिए ।
उनी १९६१ मा नेपाल सरकारको प्रशासनिक सेवामा प्रवेश गरेका थिए । १९७८–१९८० सम्म अर्थसचिव भएका उनी तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापासँग विवाद भएपछि राजीनामा दिएका थिए । उनलाई नेपालका उत्कृष्ट अर्थ सचिवहरूको सूचीमा समावेश गरिन्छ ।
देवेन्द्रराज पाण्डे सुरुमा २०४६ र विशेषगरी २०६२–६३ को लोकतान्त्रिक आन्दोलनका प्रमुख नागरिक अगुवामध्ये एक थिए। उनी लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलन (सिटिजन्स मुभमेन्ट फर डेमोक्रेसी एन्ड पिस)का नेतामध्ये थिए, जसले दोस्रो जनआन्दोलनमा महत्त्वपूर्ण भूमिका खेलेको थियो । उनी लोकतन्त्र, मानव अधिकार र नागरिक स्वतन्त्रताका विषयमा निरन्तर सक्रिय रहे।
पाण्डे ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष पनि भएका थिए । अन्तर्राष्ट्रिय तहमा पनि यसको नेतृत्व संरचनामा निर्वाचित सदस्यका रूपमा उनले काम गरेका थिए। सार्वजनिक जीवनमा इमानदारी, पारदर्शिता र जवाफदेहिताको वकालत गर्ने बौद्धिक व्यक्तित्वका रूपमा उनको पहिचान थियो ।
उनले नेपालको अर्थनीति, लोकतन्त्र, विकास तथा अन्तर्राष्ट्रिय सहयोगलगायत विषयमा नेपाली तथा अंग्रेजी दुवै भाषामा धेरैवटा पुस्तकहरु लेखेका छन्। ‘नेपाल्स फेल्ड डेभलपमेन्ट’, ‘लुकिङ एट डेभलपमेन्ट एन्ड डोनर्स’, ‘नेपाली अर्थराजनीति’, ‘अर्थ-राजनीतिक विसङ्गति’, ‘नागरिक आन्दोलन र गणतान्त्रिक चेतना’, ‘लोकतन्त्रको प्राण-प्रतिष्ठा’, ‘एक ज्यान, दुई जुनी’ लगायत उनका प्रमुख पुस्तकहरू हुन् ।
पाण्डेले नेपालको विकासका समस्यालाई केवल आर्थिक स्रोतको अभावका रूपमा होइन, सुशासनको कमजोरी, संस्थागत उत्तरदायित्वको अभाव, राजनीतिक संस्कृतिको समस्या र नागरिक सहभागिताको कमीसँग जोडेर विश्लेषण गर्ने गरेका थिए । उनी विकासका केन्द्रमा नागरिक, सामाजिक न्याय र संस्थागत सुधार हुनुपर्ने धारणा राख्थे।
मधेस र पहाडबीच क्षेत्रीय वैमनस्यको बीउ रोप्ने कोसिस हुँदा पाण्डेले सामाजिक हार्दिकता निर्माण गर्न खेलेको भूमिका कम चर्चा गरिएको तर यादगार योगदान हो ।
पत्रकार नारायण वाग्लेले फेसबुकमा लेखेका छन्, ‘नागरिक स्वतन्त्रता, समानता, हक र चेतनाका पक्षमा सधैं खरो उभिने, लोकतन्त्रका लागि जहिल्यै संघर्षको समन्वय गर्दै नयाँ पुस्तालाई नित्य हौँस्याइरहने हाम्रा अगुवा देवेन्द्रराज पाण्डे। अलविदा !’
प्रतिक्रिया 4