+
+
Shares

रसुवा बाढी : पहिचान नभएका शव संकेत नम्बर देखिने गरी गाडिने

भरतपुरमा डीएनएबाट आफन्त खोजिँदै, १३६ शवमध्ये ६ को मात्रै पहिचान

रसुवा बाढीबाट ज्यान गुमाएका शव गाडिसकेपछि बाहिरबाट देखिने गरी स्थायी संकेत, शवको फोटो र भिडियो अभिलेख राखिने भएको छ ।

शान्ता अधिकारी शान्ता अधिकारी
२०८३ भदौ १३ गते २२:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाबाट आएको बाढीपछि चितवनमा संकलित शवको संख्या १ सय ३६ पुगेको छ भने ६ वटा शव पहिचान गरी आफन्तलाई बुझाइएको छ।
  • पहिचान हुन नसकेका शव राख्न भरतपुर अस्पतालमा ठाउँ र बरफ अभाव भएपछि जिल्ला प्रशासन कार्यालय चितवनले खाडल खनेर सुरक्षित व्यवस्थापन गर्ने निर्णय गरेको छ।
  • भरतपुर अस्पतालले १ सय २० भन्दा बढी शवको डीएनए परीक्षण र अभिलेखीकरण गरिरहेको छ, र ६ जना फरेन्सिक चिकित्सक त्यसमा खटिएका छन्।

१३ भदौ, भरतपुर । बाढी आयो, मान्छे बगायो । कति परिवारले आफन्त गुमाए, कति परिवार अझै आफ्ना मान्छेको खोजीमा छन् । बाढीपछि उद्धार र खोजी कार्यसँगै अहिले अर्को गम्भीर चुनौती थपिएको छ—पहिचान हुन नसकेका शवको व्यवस्थापन ।

भदौ १० गते विहान रसुवाबाट आएको बाढीका क्रममा चितवनको फिस्लिङदेखि गोलाघाटसम्म संकलन गरिएका शवको संख्या १ सय ३६ पुगेको छ । तीमध्ये हालसम्म छ वटा शव पहिचान गरी आफन्तको जिम्मा लगाइएको छ ।

शवको संख्या बढ्दै गएपछि भरतपुर अस्पतालमा राख्ने ठाउँको अभाव भएको अस्पताल व्यवस्थापनले जनाएको छ । त्यसपछि शव व्यवस्थापनका लागि छुट्टै पहिचान केन्द्र बनाइयो । तर त्यहाँ पनि आवश्यक मात्रामा बरफको व्यवस्था हुन नसक्दा शव गन्हाउन थाले । शव कुहिँदै जाँदा स्वास्थ्य तथा संक्रमणको जोखिमसमेत बढ्ने अवस्था देखियो ।

जिल्ला प्रशासन कार्यालय, चितवनले पहिचान हुन नसकेका शवलाई सुरक्षित र सम्मानजनक रूपमा व्यवस्थापन गर्न जमिनमा खाडल खनेर राख्ने निर्णय जिल्ला प्रशासन कार्यालय चितवनले गर्यो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर पौडेल शवलाई अन्तर्राष्ट्रिय प्रोटोकल अनुसार सुरक्षित रूपमा व्यवस्थापन गर्न लागिएको बताउँछन् । उनी भन्छन्, ‘खाडल करिब डेढ मिटर गहिरो बनाइएको छ । एउटा शवदेखि अर्को शवसम्म करिब ४० सेन्टिमिटर दूरी कायम गरेर शव राखिनेछ । शव राख्दा टाउको र खुट्टाको दिशा पनि निश्चित विधिअनुसार मिलाइनेछ ।’

यो प्रक्रिया शव गाड्ने मात्र नभई भविष्यमा पहिचान गर्न सकिने गरी प्रमाण सुरक्षित राख्ने उद्देश्यले गरिएको प्रहरीको भनाइ छ । प्रत्येक शवलाई छुट्टाछुट्टै नम्बर दिन लागिएको छ ।

शव गाडिसकेपछि पनि उक्त नम्बर देखिने गरी स्थायी संकेत राखिने भएको छ । शवको फोटो तथा भिडियो अभिलेख राखिनेछ भने शव राखिएको स्थानको नक्सांकनसमेत गरिने प्रहरी प्रमुख पौडेल बताउँछन् ।

सम्पूर्ण प्रक्रियाको संयुक्त मुचुल्का तयार गरी शव व्यवस्थापन गरिएको स्थानलाई सुरक्षित रूपमा शील गरिने समेत उनले जानकारी दिए । यसरी व्यवस्थापन गरिएका शवलाई भविष्यमा डीएनए परीक्षणबाट पहिचान गर्न सकिने व्यवस्था मिलाइएको उनको भनाइ छ ।

डीएनएबाट आफन्त खोजिँदै

पहिचान हुन नसकेका शवको डीएनए परीक्षण भरतपुर अस्पतालमा भइरहेको छ । चिकित्सकका अनुसार शवबाट संकलन गरिएको डीएनए नमुना परिवारका सदस्यको नमुनासँग मिलान गरेर पहिचान गर्ने प्रयास भइरहेको छ ।

भरतपुर अस्पतालका फरेन्सिक प्रमुख डाक्टर कश्यप श्रेष्ठ भन्छन्, ‘शवको अवस्था जस्तोसुकै भए पनि पहिचानका लागि सम्भव भएसम्म नमुना सुरक्षित राखिएको छ ।’

पूर्ण शरीर नभेटिएको अवस्थामा पनि हात वा खुट्टाको लामो हड्डीबाट डीएनए परीक्षण गर्न सकिने भएकाले उपलब्ध मानव अवशेषलाई समेत सुरक्षित राख्न लागिएको उनले जानकारी दिए । श्रेष्ठ भन्छन्, ‘प्रत्येक शवलाई युनिक कोड दिइएको छ । फोटो, भिडियो तथा डीएनएको विवरण सुरक्षित राखेर प्रहरीलाई समेत उपलब्ध गराउँछौं ।’

भविष्यमा परिवारले आफन्तको खोजी गर्दा पहिचान प्रक्रियालाई सहज बनाउने अपेक्षा साथ काम गरिएको उनले बताए । शवको अवस्था दिनप्रतिदिन बिग्रिँदै जाँदा नमुना संकलनको काम भने चुनौतीपूर्ण बनेको छ ।

‘शव कुहिन थालेका छन्, छाला निस्कन थालेको छ । कतिपय अवस्थामा पूर्ण शरीर नभई हात वा खुट्टा मात्रै भेटिएका छन्,’ श्रेष्ठ भन्छन् ।

एउटा शवको नमुना संकलन तथा परीक्षण प्रक्रियामा करिब ४५ मिनेटसम्म समय लाग्ने चिकित्सक बताउँछन् । अहिलेसम्म १ सय २० भन्दा बढी शवको परीक्षण तथा अभिलेखीकरण भइसकेको अस्पतालले जनाएको छ ।

अत्यधिक संख्यामा शव आएपछि भरतपुर अस्पतालमा फरेन्सिक जनशक्तिमाथि पनि ठूलो दबाब परेको छ । अस्पतालमा नियमित रूपमा दुई जना फरेन्सिक डाक्टर कार्यरत रहेकामा अहिले बाहिरबाट समेत चिकित्सक बोलाएर काम भइरहेको छ । हाल छ जना फरेन्सिक चिकित्सक शवको परीक्षण र पहिचान प्रक्रियामा खटिएका छन् । उनीहरू रातदिन नभनी काम गरिरहेका छन् ।

फरेन्सिक विभागका डाक्टर सुरज शर्माका अनुसार बाढीपछि एकैपटक ठूलो संख्यामा शव आउँदा व्यवस्थापन निकै कठिन भएको छ । उनी भन्छन्, ‘शवहरू कुहिएको अवस्थामा रहेको र पूर्ण शरीरका साथै हात तथा खुट्टा मात्रै पनि भेटिएकाले पहिचान जटिल बनेको छ ।’

प्रत्येक शवको नम्बर, फोटो, भिडियो, डीएनए नमुना र स्थानको विवरण सुरक्षित राखिँदैछ । परिवारसँग मिलानका लागि आवश्यक डीएनए नमुना पनि संकलन भइरहेको छ ।

भोलि कुनै परिवारले आफ्नो हराएको आफन्तको खोजी गर्दा डीएनए मिल्यो भने अभिलेखका आधारमा शव पहिचान गर्न सकिने गरी काम भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख पौडेल बताउँछन् ।

बाढीले धेरै परिवारबाट आफन्त खोसेको छ । कसैले शव पाएर अन्तिम संस्कार गर्न पाएका छन् । कसैका आफन्त अझै पहिचानविहीन अवस्थामा छन् । खाडलमा सुरक्षित रूपमा राखिँदै गरेका यी शवहरूका लागि अहिले सबैभन्दा ठूलो आशा भनेकै डीएनए परीक्षण हो । शव व्यवस्थापन मात्रै होइन—प्रत्येक मृतकको पहिचान र सम्मान सुरक्षित राख्नु पनि अहिलेको प्राथमिकता हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?