+
+
Shares

बेतौना-हरिपुर खानेपानी समस्या समाधानबारे अध्ययन गर्दै प्राविधिक टोली 

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३० गते ९:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिरहाको गोलबजार नगरपालिका–१२ बेतौना–हरिपुरको खानेपानी समस्या अध्ययन गर्न खानेपानी तथा ढल व्यवस्थापन कार्यालय जनकपुरधामको प्राविधिक टोली सोमबार स्थलमा पुगेको छ।
  • कार्यालयले करिब १२० मिटर गहिरो बोरिङ र ओभरहेड ट्यांकीसहित ५ देखि १० वटा धारा निर्माण गर्ने तयारी थालेको छ।
  • जग्गा उपलब्ध हुनासाथ मन्त्रालयको निर्देशनअनुसार बोरिङ जडान र अन्य काम सुरु गर्ने कार्यालयले जनाएको छ।

३० भदौ, सिरहा । सिरहाको गोलबजार नगरपालिका–१२ को बेतौना-हरिपुरमा देखिएको खानेपानी समस्या समाधानबारे अध्ययन गर्न प्राविधिक टोली खटिएको छ ।

स्थानीयले भोग्नु परेको खानेपानी समस्याबारे अध्ययन गर्न खानेपानी तथा ढल व्यवस्थापन कार्यालय जनकपुरधामबाट प्राविधिक टोली सोमबार हरिपुर पुगेको हो ।

हरिपुरका करिब २०० परिवार लामो समयदेखि एउटै सबमर्सिबल पम्पको भरमा खानेपानीको जोहो गर्दै आएका छन्।

अधिकांश घरका आँगनमा चापाकल भए पनि भूमिगत पानीको सतह घटेपछि चापाकलबाट पानी आउन छाडेको स्थानीयको गुनासो छ।

बेतौना-हरिपुरमा देखिएको खानेपानी समस्याबारे अनलाइनखबरले २५ भदौमा समाचार समेत प्रकाशित गरेको थियो ।

स्थलगत निरीक्षणपछि खानेपानी तथा ढल व्यवस्थापन कार्यालय जनकपुरधामले तत्काल खानेपानीको व्यवस्था गर्ने तयारी थालेको छ।

कार्यालयका प्रमुख मिहिरचन्द्र आचार्यका अनुसार गोलबजार–१२ को खानेपानी समस्याबारे समाचार प्रकाशित भएपछि मन्त्रालय र कार्यालयको ध्यानाकर्षण भएको हो।

‘हामी दिउँसो करिब १२ बजे समस्या रहेको स्थलमा पुग्यौँ। त्यहाँ खानेपानीको समस्या रहेछ। हामीले स्थलगत निरीक्षण पनि गर्‍यौँ,’ प्रमुख आचार्यले भने।

उनका अनुसार कार्यालयले बेतौना–हरिपुरमा चार इन्चको करिब १२० मिटर गहिरो बोरिङसहित ओभरहेड ट्यांकी निर्माण गर्ने तयारी गरेको छ। त्यससँगै स्थानीयलाई सहज रूपमा खानेपानी उपलब्ध गराउन करिब ५ देखि १० वटा धारासमेत निर्माण गरिने उनले बताए।

‘आवश्यकता हेरेर दोस्रो वा तेस्रो बोरिङसमेत गर्न सकिन्छ,’आचार्यले भने।

बोरिङ जडानका लागि आवश्यक जग्गा उपलब्ध हुनासाथ काम सुरु गरिने कार्यालयले जनाएको छ। उनका अनुसार मंगलबार बिहान वडा कार्यालयले स्थानीय जनप्रतिनिधि तथा सरोकारवालासहित बैठक राखेको छ।

‘वडा कार्यालयले बोरिङ जडानका लागि जग्गा उपलब्ध गराउनेबित्तिकै मन्त्रालयको निर्देशनअनुसार काम सुरु गर्छौँ,’ आचार्यले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?