१७ असोज, डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-१ स्थित त्रिपुरासुन्दरी मन्दिरको भेटी चोरी प्रकरणमा पक्राउ परेका पाँच जना धरौटीमा रिहा भएका छन्।
गत असोज ३ गते शनिबार बिहान मन्दिरबाट नगद ५५ हजार ८० रुपैयाँ भेटी चोरी भएको घटनाको अनुसन्धानका क्रममा प्रहरीले पाँच जनालाई पक्राउ गरेको थियो।
पक्राउ पर्नेमा त्रिपुरासुन्दरी-१ त्रिपुराकोटका ३७ वर्षीय जयानन्द उपाध्याय रहेका छन्। उनलाई प्रहरीले असोज ६ गते मंगलबार पक्राउ गरेको थियो। यस्तै, मन्दिरका मुख्य पुजारी सोहिस्थानका २३ वर्षीय प्रख्यात उपाध्याय, ४४ वर्षीय रामप्रसाद उपाध्याय, २९ वर्षीय आशिष उपाध्याय र २७ वर्षीय झलक उपाध्यायलाई असोज ८ गते बिहीबार पक्राउ गरिएको थियो।
जयानन्द उपाध्याय पक्राउ परेको ११ दिनपछि र अन्य चार जना पक्राउ परेको ९ दिनपछि जिल्ला अदालत डोल्पाले प्रतिव्यक्ति ६ हजार रुपैयाँ धरौटीमा शुक्रबार तारिखमा रिहा गरेको अदालतका वैतनिक वकिल पूर्ण हमालले जानकारी दिए । उनका अनुसार अदालतले धरौटीमा रिहा गरेको मात्रै आधारमा उनीहरूलाई निर्दोष भन्न मिल्दैन। मुद्दाको अन्तिम फैसला भएपछि मात्रै दोषी वा निर्दोष ठहर हुने उनले बताए।
एउटै घटनाको रकम दुई फरक स्थानमा फेला
भेटी चोरी प्रकरणमा प्रहरीको अनुसन्धान जारी रहेका बेला सोमबार साँझ मन्दिरको पश्चिमतर्फ रहेको टिमुरको रूखमा ५५ हजार ८० रुपैयाँ फेला परेको थियो। हराएको भेटी रकम फेला परेको भन्दै श्री बाला त्रिपुरासुन्दरी शुशंकादरी योगिनी उद्यान पीठले विज्ञप्तिमार्फत जानकारी गराएको थियो।
खोजतलासका क्रममा फेला परेको उक्त रकम मन्दिर सुरक्षा पोस्टका इन्चार्ज प्रहरी हवल्दार इन्द्रबहादुर जिसीले पुजारी रामप्रसाद उपाध्यायलाई हस्तान्तरण गरेका थिए। त्यसपछि असोज ६ गते मंगलबार दिउँसो पुनः मन्दिर परिसरमै करिब ५४ हजार रुपैयाँ फेला परेको खबर सार्वजनिक भयो। उक्त रकम पनि मन्दिरकै भएको भन्दै पुजारीले सार्वजनिक गरेका थिए।
दुवै पटक फेला परेको रकम प्रहरीले बरामद गरी आवश्यक मुचुल्का उठाएर अनुसन्धान गरिरहेको जनाएको छ।
मन्दिरबाट चोरी भएको भनिएको रकम ५५ हजार ८० रुपैयाँ भए पनि पहिलो पटक ५५ हजार ८० रुपैयाँ र दोस्रो पटक करिब ५४ हजार रुपैयाँ गरी कुल १ लाख ९ हजार ८० रुपैयाँ मन्दिर परिसरमै फेला परेको छ।
अदालतका अनुसार दुवै पटक फेला परेको रकमलाई दशीका रूपमा पेश गरिएको छ।
एउटै चोरी घटनामा हराएको भनिएको ५५ हजार ८० रुपैयाँभन्दा बढी रकम दुई फरक स्थानबाट फेला परेपछि घटनामाथि थप प्रश्न उठेको छ। प्रहरीले फेला परेको दुवै रकमको मुचुल्का उठाएको जनाएको छ।
फेला परेको रकम, घटनाको प्रकृति र अनुत्तरित प्रश्नबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया 4