१७ असोज, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले १५औं महाधिवेशनमा उम्मेदवारी दिने व्यक्ति प्रदेश वा जिल्ला कार्यसमितिको अधिवेशनमा उम्मेदवार बन्न नपाउने बताएको छ ।
पार्टीको विधानमा कुनै तहको अधिवेशनमा प्रतिस्पर्धा गरेको व्यक्ति सोही अवधिमा त्यसभन्दा माथिल्लो वा तल्लो तहको कुनै पनि कार्यसमितिको पदमा उम्मेदवार हुन नपाउने व्यवस्था रहेको भन्दै निर्वाचन समितिले उक्त व्यवस्था स्मरण गराएको हो ।
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालद्वारा जारी सूचनामा केन्द्रीय महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवार बनेको व्यक्ति यसपछि हुने प्रदेश कार्यसमिति र जिल्ला कार्यसमितिको निर्वाचनमा उम्मेदवार बन्न नपाउने उल्लेख छ ।
‘आसन्न १५औं महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवार भएको व्यक्ति यस पश्चात हुने प्रदेश कार्यसमिति र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने व्यहोरा पुनः स्मरण गराइएको छ,’ सूचनामा भनिएको छ ।
समितिले पदेन महाधिवेशन प्रतिनिधि तथा भ्रातृ संघ र शुभेच्छुक संस्थाबाट आएका पदेन प्रतिनिधिले महाधिवेशनमा केन्द्रीय कार्यसमितिको कुनै पनि पदमा उम्मेदवारी दिन नपाउने वैधानिक व्यवस्था रहेको पनि स्मरण गराएको छ ।
प्रतिक्रिया 4